७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७६, बिहीबार १५:३९

लन्डन । बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री बोरिस जोनसनले जाविदको राजिनामा स्वीकृत गर्दै नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रूपमा नियुक्त गनुभएको छ ।

उनान्चालीस बर्षीय सुनक एक व्यापारीक पृष्ठभूमिबाट अर्थमन्त्री बन्नुभएको छ भने उहाँले बेलायतको राजस्व हेर्ने मुख्य सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

डिसेम्बरको चुनावमा संसदमा बहुमत ल्याएपछि बनेको जोनसन सरकारले आफ्नो मन्त्रिपरिषद्को पहिलो फेरबदलमा अर्थमन्त्रीलाई पारेको जाविदका प्रवक्ताले पुष्टि गर्नुभएको छ ।

बेलायतको समाचार संस्था प्रेस एसोसिएसनले जाविदको निकटस्थ एक अज्ञात स्रोतलाई उद्धृत गर्दै लेखेको छ, “जोनसनले जाविदलाई आफ्नो सहयोगीहरूको समूहबाट बर्खास्त गर्न चाहेको तर उनले अस्वीकार गरेपछि राजिनामा दिनुभएको छ ।”

“उहाँले चान्सलर अफ एक्सचेकरलाई पनि अस्वीकार गर्नुभएको छ,” स्रोतले भन्यो । “प्रधानमन्त्रीले अर्थमन्त्रीका सबै विशेष सल्लाहकारलाई हटाई संयुक्त अधिराज्यको सल्लाहकारको एउटै समूह बनाउने तयारी गरेपछि जाविदले राजिनामा दिनुभएको हो ।”

“कुनै पनि स्वाभिमानी मन्त्रीले यी सर्तहरू स्वीकार गर्दैनन्,” उहाँले बताउनुभयो ।

बेलफास्टमा गठबन्धन सरकारको पुनः स्थापनाका लागि भूमिका निभाएका उत्तरी आयरल्याण्डका मन्त्री जूलियन स्मिथलाई प्रतिस्थापित गरेपछि असन्तुष्ट बनेका जाविदले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको हो । पचास वर्षीय जाविद एक वरिष्ठ बैंकरबाट राजनीतिमा आउनुभएको थियो । पूर्व अर्थमन्त्री फिलिप ह्यामण्डको स्थानमा अर्थमन्त्री हुनुभन्दा पहिले उहाँले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।