१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दोहोरो कर प्रणाली बारे लण्डनमा अन्तरकृया (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७६, बिहीबार २०:३३

लण्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) को आयोजनामा बिजनेस ग्रोथ स्ट्रयाटेजी र बेलायतको करप्रणालीसम्बन्धी विषयको एक सेमिनार बुधबार लण्डनमा सम्पन्न भएको छ ।

इलिंगस्थित डबल ट्री हिल्टनमा गरिएको बिजनेस ग्रोथ स्ट्रयाटेजी एण्ड बिजनेस हेल्थ चेक सेमिनारमा सहभागी व्यवसायीहरुका लागि उनीहरुको बिजनेस ग्रोथ स्ट्रयाटेजी (व्यवसाय विकास रणनीति) र बेलायतको कर प्रणालीबारे जानकारी तथा परामर्श दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिएनसिसी अध्यक्ष डा.कपिल रिजालले नेपालमा गरिने लगानी र व्यवसायका साथसाथै नेपाली व्यवसायीले बेलायतमा सञ्चालन गर्ने व्यवसायहरुका लागि समेत आफ्नो संस्थाले सहयोग प्रदान गर्ने बताए ।

बेलायत तथा नेपालबीचको व्यापार सम्बन्ध अभिवृद्धि गर्ने लक्ष्यसहित क्रियाशिल एक मात्र संस्थाका रुपमा बिएनसिसीले विभिन्न कामहरु गरिरहेको भन्दै अध्यक्ष डा रिजालले नेपालमा कायम दोहोरो कर प्रणाली हटाउने पक्षमा भइरहेको पहल निश्कर्षनजिक पुग्न लागेको जानकारी दिए ।

बिएनसिसी उपाध्यक्ष बिराज भट्टले सञ्चालन भइसकेका व्यवसायहरुलाई कसरी विकास र बिस्तार गर्ने भन्ने मात्र नभएर नयाँ स्टार्टअप कम्पनीहरुको लागि समेत उपयोगी हुने गरी कार्यक्रमको अवधारणा बनाइएको बताए । उपाध्यक्ष भट्टले बिएनसिसीको संक्षिप्त परिचय प्रस्तुत गर्दै संस्थाका कार्यक्रम तथा गतिविधिहरुबारे जानकारी दिए ।

त्यसअवसरमा बेलायती बिजनेस कोच चार्ली म्याकेलान्डले व्यवसायलाई विकास र विस्तार गर्दै जानको लागि अपनाउनुपर्ने रणनीतिबारे प्रिजेन्टेसन गरे ।
त्यस्तै, ट्याक्स एड्भाइजर सरोज सापकोटाले बेलायतको करप्रणालीका विभिन्न पक्षबारे जानकारीमुलक प्रस्तुति दिए ।

बिएनसिसीका सिइओ रिचर्ड पेलीले सञ्चालन गरेको प्रश्नोत्तर राउण्डमा सहभागीका जिज्ञासाहरुमा बिएनसिसी पदाधिकारी र अतिथि वक्ताहरुले जवाफ दिएका थिए ।

त्यसक्रममा ब्रिटेन नेपाल एनजिओ नेटवर्क (ब्रान्गो) का अध्यक्ष डेभिड थोमस र सिईओ निक हिन्टनले नेपालमा ११ सय बढि बेलायती च्यारिटीहरु क्रियाशिल रहेको जानकारी दिंदै उनीहरुबीचको संयोजन र समन्वयको लक्ष्यसहित आउँदो मे महिनामा लण्डनस्थित नेपाली दूतावाससंग मिलेर एक विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
कार्यक्रममा बेलायतस्थित नयाँ, पुराना नेपाली व्यवसायी तथा पत्रकारहरुसहित करिब ६० जनाको सहभागिता थियो ।