February 25, 2020

युके भिसा: शैक्षिक परामर्शको नाममा ठगी, होसियार !

  14th February 2020 मा प्रकाशित

कमल कँडेल ।

कुनै जमाना बेलायतमा विद्यार्थी भिसामा भित्रिनेहरुको ‘स्वर्ण युग’ थियो। एउटा यूनिभर्सिटीमा पढ्छु भनेर आउने अनि अर्को कलेजमामा भर्ना गर्न पाइने। काम जति गरे पनि हुने कसैले नसमाउने।

केहि विद्यार्थीको रोजाइमा ‘चारवटा कुर्ची र दुई टेबल ‘ भएका ‘बुटिक’ कलेजहरु पर्दथे। जे भए नि इज्जत थियो विदेशी विद्यार्थीको। २००८ मा छिरेका विद्यार्थीहरुको भेलले स्वर्ण युगको अन्त्यको आधार बनायो। यहि आधारमा टेकेर तत्कालिन गृह मन्त्रि टेरीसा मे विदेशी विद्यार्थी माथि जाइ लागिन र स्वर्ण युग को विधिवत अन्तमात्र भएन विद्यार्थीका दु:खका दिनहरु सुरु भए।

बोरिस जोन्सनको चमत्कारिक चुनावी विजयसंगै पोस्ट स्टडी वर्क (पढाई पछि दुइ वर्ष काम गर्न पाउने) भिसाको पुनर्गमन हुने भएको छ। यो भिसाको घोषणाले विदेशी विद्यार्थी प्रति अनुदार र अमैत्री सरकारी नीतिमा केहि हदसम्म परिवर्तन आएको स्पष्ट संकेत देखिएको छ।

दुइ वर्षे ‘वर्क परमिट’

‘स्नातक मार्ग’ तथा ‘ग्राजुएट—रुट’ नाम दिईएको यो भिसाले विद्यार्थीले स्नातक तह तथा माथिको अध्ययन सके पश्चात दुई वर्ष बेलायतमा बस्न, काम खोज्न र गर्न सक्ने छन्। यो भिसा २०२१ ग्रीष्म ऋतुमा ग्राजुएट हुनेहरुलाई लागु हुने बताइएको छ। २०२१ को ग्रीष्म भन्दा अगाडि ‘डिग्री’ पास गर्नेहरुले यो घोषणाबाट फाइदा लिन पाउने छैनन्। Quality Assurance Agency for Higher Education (QAA) का अनुसार बेलायतमा १७५ बाट युनिभर्सिटीले मात्र ‘डिग्री’ प्रदान गर्न सक्दछन्।

कस्ता शैक्षिक संस्था छान्ने

बेलायतका केहि विश्वविद्यालय विश्वकै सर्वोत्कृष्ट मनिन्छन। अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी किलीन्टनले बेलायतको कुइन युनिभर्सिटी बेल्फास्टको कुलपतिको पदमा नियुक्ति लिनुले पनि बेलायती युनिभर्सिटी प्रतिकोको अन्तराष्ट्रिय आकर्षण झल्काउँ।
सबै भन्दा पहिले आफुले पढ्न खोजेको विश्वविद्यालय बिश्व र बेलायती श्रेणीकरण तालिकामा कुन श्रेणीमा छ भन्ने कुराले प्रारम्भिक जानकारी लिन सजिलो हुन्छ। बेलायतको रस्सेल समूहका २४ वटा विश्वविद्यालय राम्रै मानिन्छन।

केहि शुल्क बढी तिर्न सक्नेले सकेसम्म अक्स्फोर्ड, क्याम्ब्रिज जस्ता बिश्व उत्कृस्ट विश्वविद्यालयमा भर्ना गर्न प्रयास गर्दा राम्रो हुन्छ। विदेशी विद्यार्थीलाई तुलानात्मक रुपमा स्थानीय विद्यार्थीलाई जति भर्ना हुन गाह्रो हुँदैन किनकि विदेशी विद्यार्थीबाट चाहे जति शुल्क उठाउन पाउँछ भने बेलायतीबाट वर्षमा तोकिएको निश्चित रकम भन्दा बढी उठाउन पाउँदैनन। अक्स्फोर्ड विश्वविद्यालयमा ४३५ विद्यार्थी विदेशी छन्। विदेशी विद्यार्थीहरु बेलायती विश्वविद्यालयहरुको आयआर्जनकको मुख्य श्रोत हुन्।

यहाँको सबै पठशालाहरु उत्कृष्ठ विश्वविद्यालय छन् भन्ने चाहि होइन। त्रिभुवन विश्वविद्यालयको कै श्रेणीमा पर्ने विश्वविद्यालय पनि बेलायतमा उलेख्य छन्। Times Higher Education World University Rankings 2019 मा त्रिभुवन विश्वविद्यालय विश्वका टप १००० मा परेको थियो भने २०२० मा १०००१ मा परेको छ। यहाँका ‘केहि’ शैक्षिक प्रमाणपत्रको ‘भ्यालू’ अत्यन्तै कम रहेको जानकारहरु बताउँदछन।

छात्रवृत्ति पनि पाउन सक्नु हुन्छ

छात्रवृत्ति पाउन सधै अति जान्ने हुनु पर्दैन , ठिक्क जान्ने भए पनि पुग्छ। साधारणतय बेलायतका विश्वविद्यालयमा अति जान्ने ले भन्दा खोज्नेले छात्रवृत्ति पाउने गर्दछन्। बिभिन्न संघ संस्था तथा व्यक्तिहरुले बिबिध शीर्षकमा विभिन्न छात्रवृत्ति कोषहरु खडा गरेका हुन्छन्। जस्तै महिला लागि मात्र ,गरिब देशकोलागि मात्र। तोकिएको मापदण्ड पुरा गरेमा कति छात्रवृत्ति बिना प्रतिस्पर्धा पनि पाउन सकिन्छ। सर्च इन्झिनमा खोजेर वा सम्बन्धित विश्वविद्यालय तथा कोष स्थापना गर्नेको वेब साइटमा गएर पनि यसबारे जानकारी लिन सकिन्छ।

कामको अनुभब भए ‘सेटल्ड’ हुन सजिलो

आइटी , ईन्जिनियरिङ,चिकिस्सा विज्ञान जस्ता प्राबिधिक बिषयहरुमा पढाई मात्र होइन केहि कामको पनि अनुभब छ भने पढाई सिध्याई सकेपछि टिएर टु जनरल स्पोन्सर पाउन सजिलो हुने देखिन्छ। यो भिसामा ५ वर्ष बेलायतमा काम गरेर निश्चित मापदण्ड पुरा गरे पश्चात स्थाई बसोबासका लागि आवेदन दिन पाइन्छ।

बेलायतको गृह मन्त्रालयबाट विदेशीलाई काम गराउन पाउने अनुमति पत्र लिएका रोजगारदातालाई ’टियर टु स्पोन्सर’ भानिन्छ।

ब्रेक्जिट पश्चात हुने अध्यागमन परिबर्तनले ल्याउने नयाँ भिषा क्याटेगोरीको फाइदा पनि विद्यार्थीले उठाउन सक्ने छन्।

कस्ता कस्ता कामहरुको बेलायतमा विशेष माग छ भन्ने बुझ्नका लागि सरकारले आफ्नो वेबसाइटमा प्रकाशित गर्ने सर्टेज ओकुपेसन् लिस्ट मा गएर हेरेमा केहि आधारभूत् जानकारी हुनेछ।

बेलायती प्रधानमान्त्री जोन्सनले ३१ हजार थप नर्स भर्ना गर्ने भनेकाले नर्सिंग पढ्न आउनेहरुकोको भविष्य पनि उज्वल देखिन्छ ।

बितरा पर्ने खतरा अझै

विदेशी विद्यार्थी भर्ना गर्नका लागि कुनै पनि शैक्षिक संस्थाले बेलायतको गृह मन्त्रालयबाट टियर फोर स्पोन्सर अनुमति पत्र लिनु पर्ने हुन्छ। कति संस्थालाई यो लिन भन्दा टिकाई राख्न अति गार्हो हुने देखिन्छ।

साधारणतया गृह मन्त्रालयको मापदण्ड पुरा गर्न नसक्दा ,विद्यार्थीले नियमित कक्षा नलिदा अथवा प्रभावकरी रूपमा रेकर्ड राख्न नसक्नाले स्पोन्सर अनुमति पत्र धराप मा पर्ने हुन्छ। केहि समय अघि १० जना विद्यार्थीमा १ जना विद्यार्थीको भिसा अस्विकार हुँदा बकिम्घम्साएर्र युनिभर्सिटीको स्पोन्सर अनुमति पत्र निलम्बनमा परेको थियो ।

शैक्षिक संस्थाको स्पोन्सर अनुमति पत्र खारेज तथा निलम्वन पर्ने बित्तिकैमा सम्बन्धित संस्थाका विद्यार्थीहरुको बिचल्ली हुन पग्छ। विद्यार्थीले तिरेको दसौ लाख फिर्ता हुदैन भने अर्कोतर्फ तुरुन्त अर्को कलेज वा विश्विद्यालय खोज्न पर्ने बाध्यता आइपर्छ। होम अफिसले ६० दिन भित्र अर्को अनुमतिपत्रवाला शैक्षिक संस्था खोजेर भर्ना गर्नु भने आदेश जारी गर्दछ तर शैक्षिक सत्र सेप्टेम्बर तथा फेब्रवरी मा सुरु हुने भएकाले भनेको जुन सुकै बेला कलेज वा विश्विद्यालयले भर्ना लिदैनन।

यस अघस हजारौ कलेजहरु मात्र होइन उलेख्य विश्वविद्यालय पनि निलम्बन तथा खारेजीमा परेका थिए । २००८ र २००९ मा बेलायत भित्रिएका हजारौ नेपाली विद्यार्थीहरु यहि ‘टियर फोर स्पोन्सर’ अनुमति पत्र खारेजीको सिकार भएका थिए। कति विद्यार्थीहरु एकै बर्षमा मा ३, ४ वटासम्म कलेज भर्ना गर्न बाध्य भएका थिए। २०१२ मा लन्डन मेट्रोपोलिटन विश्विद्यालयको स्पोन्सर अनुमतिपत्र खारेज भए पछि लगभग २६०० विदेसी विद्यार्थी संकटमा परेका थिए।

कति कलेजहरुले विद्यार्थी भर्ना गरि पैसा कुम्लाएर भिषा लग्नु अघि कलेज बन्द गरेर हिँडेका पनि थिए। होम अफिसले ९०० भन्दा बढी कलेजहरुलाई ‘बोगास’ भनेर बन्द गरिदिएको थियो। टियर फोर स्पोन्सर सम्बन्धी सरकारी नीतिमा लचकता आउने कुनै सम्भावना नभएकाले विद्यार्थीहरु पीडित भइरहने देखिन्छ। नियमित कक्षामा हाजिर हुन नसकेमा युनिभर्सिटीले ‘रेस्टीकेड’ गरिदिन सक्छ। बिरामी भएर, गर्भवती तथा अन्य अति आवश्यक कामका कारण कक्षामा अनूपस्थिति भएका कारण विद्यार्थीहरु निकालामा परेका घटनाहरु प्रशस्त छन्।

अध्यागमन नीतिमा परिवर्तन

पछिल्लो ९ वर्षमा ५७०० पटक भन्दा बढी अध्यागमन कानुन परिवर्त भइसकेको छ। टेरिसा मे कालमा भएका धेरै परिवर्तनले मुख्यतया विद्यार्थीलाई नै डसके थियो। १, २ घण्टा बढी काम गरेकै कारण धेरै नेपाली विद्यार्थी देश निकालाको सिकार पनि भएका थिए। मलेसिया जान भन्दा अस्ट्रेलिया जान सजिलो भैरहेको अहिलेको अवस्था सधै रही रहला भन्ने पनि छैन। अस्ट्रेलिया मा अलिकति नीतिगत कडाई हुने बित्तिकै विद्यार्थीहरुको भेल फेरी बेलायततिर बग्ने छ जसका कारण केहि हदसम्म तुलनात्मक रुपमा लचिलो मनिने जोन्सनले पुन ‘टेरिसा मे पथमा’ फर्किन सक्ने पनि देखिन्छ।

टोइक अंग्रेजी भाषा काण्ड

बीबीसी पानोरमा कार्यक्रमले सन् २०१४ मा टोइक अंग्रेजी भाषाका प्रमाणपत्रहरुको किनबेच तथा परीक्षामा चिट चोराइएका दृश्यहरु टेलिभिजनमा प्रसारण गरेपश्चात यो परीक्षा दिएको आधारमा ४८ हजार विद्यार्थीको भिषा रद्द गरेको थियो। जसमा हजारौँ नेपालीसमेत रहेको अनुमान छ। टोइक प्रमाणपत्र नबुझाएका तर टोइक परीक्षा दिएकै कारणले पनि धेरैको भिषा रद्द गरेको थियो। टोइक परीक्षा दिएका सबै परीक्षार्थीहरुले प्रमाणपत्र किनेका, चिट चोरेका तथा अन्यलाई परीक्षा दिन लगाएर पास गरेका थिएनन्। बेलायतको गृह मन्त्रालयले टोइकलाई सुरक्षित र स्वीकारयोग्य भाषा परीक्षा भनी आफ्नो वेवसाइटमा राखेको थियो। त्यसैका आधारमा धेरैले जाँच दिएका थिए।

श्रम शोषणको सिकार

उज्जल भविष्यको सपना देखेर बेलायत छिर्नेहरु श्रम शोषणको सिकार हुन पनि सक्छन। विदेशी विद्यार्थीहरुलाई राज्यले, शैक्षिक संस्थाहरुले मात्र सताउँदैनन्, श्रम बजारमा पनि उनीहरुले ‘दरो’ शोषण हुने गरेको छ। कति रेष्टुरेन्टहरुले ‘वर्क परमिट’ लगाइदिन्छु भनेर ज्याला नदिईकन काम गराएका थिए भने कति विद्यार्थीहरुले ‘वर्क परमिट’ पाउने आशामा हजारौँ पाउण्ड ‘दले’ हरुलाई बुझाएर डुबेका थिए।

गोजीमा टन्न गाठ अनि मजाले पढ्ने आँट भएकाहरुलाई बेलायती बसाइ केहि हदसम्म सजिलै हुने देखिए पनि समग्रमा युनिभर्सिटी स्पोन्सर अनुमति पत्र खारेज तथा निलम्बन भएका अबस्थामा विद्यार्थीले तिरेको शूल्क फिर्ता हुने तथा अर्को युनिभर्सिटी भर्ना हुनका लागि न्यायोचित समय प्रदान गर्ने सरकारी प्रत्यभुति नभए सम्म बिदेशी विद्यार्थीले टेरिसा मे को पालामा जस्तै सास्ती नपाउलान भनेर भन्न सकिदैन।

(कँडेल बेलायतमा अध्यागमन कानुन व्यवसायीका रुपमा बिगत ११ वर्षदेखि कार्यरत छन्)

प्रतिक्रिया