February 25, 2020

चीनबाट नेपाली ल्याउन नेपाल एयरलायन्सको जहाज जाँदै, १२ घन्टाभित्रै फर्किने

  15th February 2020 मा प्रकाशित

कोरोनाको डरले स्वदेश आउन चाहेका एक सय ८५ नागरिक लिन विशेष तालिमप्राप्त टोली शनिबार जहाज लिएर चीनको हुबेई प्रान्तको वुहान सहर जाँदै छ । आन्तरिक व्यवस्थापकीय प्रयास थालेको १३ दिनपछि सरकारले उद्धार गर्न लागेको हो ।

नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ । साँझ ६:४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ । नेपाली समयअनुसार आइतबार बिहान २:१५ मा नेपाल आइपुग्नेछ ।

बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ । ‘हुबेई प्रान्तका विभिन्न ठाउँबाट पाँचवटा बसमा हाम्रा नागरिक शनिबार साँझसम्म वुहान पुर्‍याउँदै छौँ र वुहानमा रहेकालाई पनि सामेल गरेर स्वदेश फर्काउँछौँ,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले भने । लम्सालका अनुसार चीन सरकारले नेपाली जहाज वुहान जान र फर्किन अनुमति दिइसकेको पनि उनले बताए ।

वुहान जाने स्वास्थ्यकर्मी, चालक दलका सदस्य, एम्बुलेन्सचालक, बसचालक, सरसफाइ कर्मचारीले तालिम पाइसकेका छन् । उनीहरूलाई शुक्रबार त्रिभुवन विमानस्थलमा डमीका रूपमा समेत तालिम दिइएको तालिमको नेतृत्व गरेका डा. हेमन्त ओझाले बताए । जहाजमा नेपाली सेनाका चार स्वास्थ्यकर्मी हुनेछन् ।

वुहानदेखि काठमाडौंसम्मको उडान अवधिमा चालक दलका सदस्य र स्वास्थ्यकर्मीले दिएको निर्देशन, सल्लाह र सुझाबको पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । जहाजभित्र ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने भए जहाज दलका सदस्य वा स्वास्थ्य टोली सदस्यलाई जानकारी गराउन भनेको छ । शंकास्पद व्यक्तिलाई स्वास्थ्यकर्मीले विमानको तोकिएको अन्तिम सिट (आइसोलेसनमा) सार्नेछन् । जहाज दलका सदस्य तथा स्वास्थ्य टोली सदस्यले नियमित रूपमा अनुगमन तथा निरीक्षण गरिरहनेछन् । काठमाडौं विमानस्थलमा जहाजबाट उत्रनुअघि सबैले दिसा तथा पिसाब गरेर निस्कनुपर्नेछ । शंकास्पदलाई जहाजको पछाडिकै ढोकाबाट बाहिर निकालिन्छ । संक्रमण नभएकालाई भने अघिल्लो ढोकाबाट निकालिन्छ ।

जहाजबाट उत्रिँदा प्रत्येक व्यक्तिलाई एक मिटरको दूरीमा राखिनेछ । जहाजबाट झरेपछि स्वास्थ्य परीक्षण हुनेछ । यसका लागि त्रिभुवन विमानस्थलमै पाँचवटा हेल्थ डेस्क राखिएको छ । त्यहाँ तालिमप्राप्त मेडिकल अफिसर तथा नर्स र प्यारामेडिक्स रहनेछन् । उनीहरूले व्यक्तिगत सुरक्षा साधन ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ लगाएका हुन्छन् । हेल्थ डेस्कका स्वास्थ्यकर्मीले यात्रुलाई छुने छैनन् ।

संक्रामक रोगको आशंका गरिएका व्यक्तिलाई विमानस्थलबाटै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पतालमध्ये एउटाको आइसोलेसन वार्डमा उपचारका लागि लगिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसका लागि तीनवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । अन्यलाई पाँचवटा बसमा राखेर क्वारेन्टाइनसम्म पुर्‍याइनेछ । बाटोमा बस कहीँ रोकिने छैन । उनीहरूलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । आवश्यक परे अझै बढी समय राख्न सक्ने जानकारी स्वास्थ्य मन्त्रालयले विद्यार्थी र अभिभावकलाई गराइसकेको छ । मन्त्रालयका सहप्रवक्ता सागर दाहालले स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनको बसाइलाई सकेसम्म सहज, व्यवस्थित र स्वस्थ बनाउन सक्दो प्रयास गरिएको बताए ।

क्वारेन्टाइनमा लगभग लगभग ६० कोठा व्यवस्थापन गरिएको छ । उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ । स्वास्थ्य टोली आवश्यकताअनुसार चौबिसै घन्टा सेवामा रहनेछन् । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ । मन्त्रालयका अनुसार सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र र अर्को जाँच १४ दिनमा गरिनेछ । क्वारेन्टाइनमा अभिभावकसँग भेटघाट गर्न पाइने छैन ।

क्वारेन्टाइनका लागि भाइरस परीक्षण गर्ने नेपाली संस्था सेन्टर फर डायनामिक नेपालले ५० थान मास्क उपलब्ध गराएको छ । साथै ५० जोर व्यक्तिगत सुरक्षा साधन (फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट) पनि उपलब्ध गराएको छ । कोरोना भाइरसको जीवाणु परीक्षणका लागि दुई सय किटसमेत दिएको छ ।

शनिबार अपराह्न ३ बजे उड्ने विमान उद्धार गरेर आइतबार बिहान २:१५ मा आइपुग्छ । जहाज पुग्नुअघि नै बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई गाडीबाट उद्धार गरेर वुहानमा जम्मा गर्छ ।

प्रतिक्रिया