१३ बैशाख २०८१, बिहीबार
Follow Us

पोखरा म्याराथनमा एनआरएन यूके, १ लाख रुपैयाँ सहयोग (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७६, शनिबार १५:१७

लण्डन । शनिबार पोखरामा सम्पन्न १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनए यूकेले पनि सहभागिता जनाएको छ ।

अध्यक्ष पुनम गुरुङको नेतृत्वमा संरक्षक मेजर डमर घले, प्रवक्ता रामकुमार गुरुङसहित दर्जन बढि सल्लाहकारहरु म्याराथन दौडिएका हुन् ।

एनआरएनए यूकेले पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मञ्च यूकेलाई १ लाख रुपियाको आर्थिक सहयोग पनि गरेको छ । अध्यक्ष गुरुङले आयोजक संस्थाका प्रतिनिधिलाई सहयोग चेक हस्तान्तरण गरेकी थिइन् ।

म्याराथनमा बेलायतबाट करिब ५० जनाको सहभागिता रहेको थियो । आयोजक मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले पोखरा म्याराथनको प्रवर्द्धन गरेको थियो ।

बेलायतबाट पोखरा म्याराथनको लागि सहयोगको संयोजन मञ्जु गुरुङ राईले गरेकी थिइन् । प्राणघातक क्यान्सर जितेकी मञ्जुले समेत म्याराथनमा १० किमी दौड पूरा गरेकी थिइन् ।

त्यस्तै, बेलायतबाटै क्यान्सर जितेका धावक पाण्डव महतो र अर्का धावक सन्तोष राईले म्याराथनको पूरा दूरी दौडिएका थिए ।


पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङसहितका दर्जनौंको टोली म्याराथनमा भाग लिन बेलायतबाट पोखरा पुगेको थियो ।

यस वर्षको म्याराथन जापानका धावक ताकानासी युसुकीले जितेका छन् । दोस्रो स्थान १३ औं सागका पदक विजेता किरणसिंह वोगटीले हासिल गरेका छन् ।

पोखरेली मञ्च यूकेले म्याराथनमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने नेपाली धावकलाई बेलायत ल्याएर म्याराथनमा अवसर दिने घोषणा गरेअनुरुप त्यो अवसर वोगटीले पाउने भएका छन् । यस वर्ष पोखरा म्याराथनमा १२ देशका २१ विदेशी धावक सहभागी थिए ।

पूरा दूरीको म्याराथननमा १ सय ५ जना सहभागी भएका थिए । १० किमी, ५ किमी, ह्विलचेयर लगायतका अरु विधामा सयौंले सहभागिता जनाएका थिए ।