१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महराविरुद्धको बहस सकियो, फैसला सोमबार गरिने

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०७६, आईतवार १५:३४

काठमाडौं । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस सकिए पनि फैसला भने भोलि (सोमबार)लाई सारिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार महराविरुद्धको मुद्दाको बहस सकिए पनि फैसला भने सोमबार मात्र हुने भएको हो ।

अदालत स्रोतका अनुसार अध्ययन गर्न समय अभाव भएकाले फैसाला सोमबारलाई सारिएको हो । असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका महरा असोज १९ गते पक्राउ परेका थिए ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार फैसला गर्नेछ । यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ । अदालतमा महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए । महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए ।