१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायती सांसदलाई दिल्ली एयरपोर्टमा रोक, भिसा रद्द

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७६, मंगलवार ०३:२६

काठमाडौं । भारतले ब्रिटेनकी एक महिला सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको हो ।

भारतले संविधानको अनुच्छेद ३७० हटाएर कश्मीरको विशेष प्रान्तको दर्जा खोसेपछि सांसद अब्राहम्सले भारत सरकारको आलोचना गर्दै आएकी थिइन् । अब्राहम्स कश्मीरबारे ब्रिटेनको संसदीय समितिको अध्यक्षसमेत हुन् । उनले दिल्ली विमानस्थलका अधिकारीहरुले भिसा किन रद्द गरियो भन्ने जानकारीसमेत नदिएको बताएकी छन् ।

अब्राहम्स निजी भ्रमणका लागि भारतमा आएकी थिइन् । उनी इमिरेट्स फ्लाइट्सबाट सोमबार दिल्ली विमानस्थलमा ओर्लिएकी थिइन् । लगत्तै अधिकारीहरुले उनको भिसा रद्द गरिएको भन्दै भारत प्रवेशमा रोक लगाएकाे बीबीसीले जनाएको छ ।

भारतीय अधिकारीहरुले आफूलाई अपराधीलाई जस्तै व्यवहार गरेको भन्दै उनले परिवारका सदस्य र साथीहरुसँग भेट्न दिने विश्वास व्यक्त गरेकी छन् ।

उनले भनेकी छन्, ‘एक अधिकारीले मेरो पासपोर्ट लिए र करिब १० मिनेटसम्म गायब भए । उनी आएपछि अभ्रद रुपमा प्रस्तुत भए र झोक्किँदै मसँग हिँड्न भने ।’

त्यसपछि उनलाई भारतीय अधिकारीहरुले डिपोर्ट सेलमा लगेर राखेका थिए ।

उनले भनिन्, ‘धेरै अधिकारीहरु म भएको ठाउँमा आए । मैले मेरो भिसा किन रद्द गरियो भनेर सोधें र मैले अनअराइभल भिसा पाउन सक्छु ? भनेर पनि सोधें, तर उनीहरुले कुनै जवाफ दिएनन् ।’

गत वर्ष अगष्ट महिनामा डेबी अब्राहमले तत्कालीन ब्रिटेनकी विदेशमन्त्रीलाई पत्र लेखेर भारतले कश्मीरको विशेष दर्जा खोसेकाेमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । पत्रमा ब्रिटेनको संसदीय दल चिन्तित रहेको र भारत सरकारले कश्मीरका जनतासँग विश्वासघात गरेको उल्लेख थियाे ।