८ बैशाख २०८१, शनिबार
Follow Us

तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी सुरु

sarusaru
६ फाल्गुन २०७६, मंगलवार ०४:४५

काठमाडौं । सरकारले आगामी वैशाखको २३ देखि २५ सम्म लुम्बिनीमा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु गरेको छ । सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा सोमबार मन्त्रालयमा भएको बैठकले २५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी थालेको हो ।

बैठकमा मन्त्री भट्टराईले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न आयाममध्ये बुद्धको जन्मस्थल पनि एउटा भएको भन्दै यो सम्मेलनले नेपाललाई त्यहीँ उचाइबाट चिनाउन सफल हुने बताए। उनले लुम्बिनी र बुद्धका बारेमा जति धरै चर्चा ग¥यो, नेपालको छवि त्यत्ति नै माथि जाने उल्लेख गर्दै यो बौद्ध सम्मेलनलाई भ्रमण वर्ष २०२० को अवसरसँग पनि जोडर हेरिर्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा बुद्ध र ‘बुद्धिज्म’को अध्ययन तथा अनुसन्धानका लागि आउनेहरुबाट नेपाल भ्रमणको प्रचारमा पनि ठूलो टेवा पुग्ने पर्यटनमन्त्रीको भनाइ थियो । विगतमा बौद्ध सम्मेलन गर्दा हलको समस्या भोग्नु परेपनि यसपटक सरकारले लुम्बिनीमा पाँच हजार जना अट्ने सभाहल (विश्व शान्ति ध्यान केन्द्र) बनाएकाले सोही स्थलमा सम्मेलन गरिनेछ ।

पर्यटनमन्त्री भट्टराईले यसपटक सम्मेलन केन्द्रका बेला लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई पनि सञ्चालनमा ल्याउने अधिकतम प्रयास भइरहेको जानकारी दिए । सम्मेलनलाई भव्य र सभ्य रुपमा सफल पार्न सरकारले यसअघि नै आयोजक समितिको सदस्य–सचिवमा पासाङ शर्पालाई नियुक्त गरेको थियो । पर्यटनमन्त्री अध्यक्ष रहने आयोजक मूल समितिमा ९५ सदस्य रहेका छन् । बैठकले सम्मेलनलाई भव्यता पूर्वक सम्पन्न गर्न विभिन्न २० वटा विभिन्न उपसमिति पनि गठन गरेको छ ।

सम्मेलनमा सहभागिताका लागि श्रीलङ्काका राष्ट्रपति, थाइल्याण्डका प्रधानमन्त्री, म्यानमारका स्टेट काउन्सिलर, भारत, चीन, भियतनाम, कम्बोडिया, लाओस्, जापान, दक्षिण कोरिया, भुटान, मङ्गोलिया, मलेसिया, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, बेलायत, रसिया, कोस्टारिका, फ्रान्स र जर्मनका संस्कृति तथा धार्मिक मामिलामन्त्री तथा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुन, भारतका सिक्किम, लद्धाख, अरुणान्चल, उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल, उत्तराखण्डका मुख्यमन्त्री, तीब्बतका गर्भनरका साथै संयुक्त राष्ट्रसङ्घ, विशव पर्यटन सङ्गठनका महासचिवलाई पनि आमन्त्रण गरिने जनाइएको छ । नेपालले सन् २०१६ देखि हरेक दुई वर्षको अन्तरालमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ ।

रासस