७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा फुटको संघारमा, प्रचण्ड भन्छन् : पार्टी विघटनको खतरामा

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७६, मंगलवार १७:४२

वीरेन्द्रनगर । पार्टीभित्र आइपरेका खतरा रोक्न ढिला गरे पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै पनि पार्टी विघटनतिर जाने खतरा रहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डं ले बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टी विघटन भए प्रतिक्रियावादीहरूको सपना साकार हुने भन्दै उनले पार्टी विघटन गराउन कसरत धेरैले गरेको बताए। ‘पार्टी कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘पार्टीका बारेमा भ्रम सिर्जना भइरहेका छन्।’ नेता–कार्यकता र जनताबीच केही तत्वले भ्रम सिर्जना गरेको भन्दै उनले भने, ‘यस्तो भ्रमलाई चिर्न सबै लाग्नुपर्छ।’

अहिले सबैतिर कम्युनिस्ट अस्ताएको र नेपालमा पनि दुई ठूला कम्युनिस्ट मिलेकाले प्रतिक्रियावादीहरू सल्बलाई रहेको उनको भनाइ छ। कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्ति बदलेको भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए। पार्टी विधि र प्रक्रियाबाट चलाउने भन्दै उनले अब पार्टी र पार्टीका जनवर्गीय संगठनको नियमित बैठक बस्ने जनाए।