१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङको पोखरामा भव्य स्वागत (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७६, मंगलवार १७:५७

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएन) युकेकी अध्यक्ष पुनम गुरुङलाई जन्म गाँउमा भव्य स्वागत एवम सम्मान गरिएको छ।

पोखरा महानगरपालिका वडा नं १३ विजयपुर पाँचथरमा सोमवार पुग्नुहुदा पञ्चैबाजा समुह, चण्डेश्वरी आमा समुह, म्रोम्जो कोने भाईखलक परिवार, विजयपुर आधारभुत विद्यालय, मिलीजुली विजयपुर तमु समाज लगायत विजयपुर गाँउबासीले विशेष सम्मान गरेको हो।

गाँउकी चेली गैरआवाशीय नेपाली संघ युके जस्तो अत्यन्तै प्रभावशाली संस्थाको अध्यक्षमा निर्वाचित पश्चात माइती अर्थात जन्म गाँउमा पुग्नुभएकी समाजसेवी पुनम गुरुङसहितको समुहलाई विजयपुर आधारभुत विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी एनआरएन युकेकी गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभई विजयपुर पाँचथर गाँउलाई नै गौरवान्वित बनाएको भन्दै सम्मान गरिएको थियो।

अध्यक्ष गुरुङ गाँउ प्रवेशसँगै पञ्चैबाजासहित गाँउलेहरु र विद्यार्थीहरुले फूलमाला र खादाले स्वागत गरिएको थियो। विजयपुर आधारभुत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङलाई विजयपुर आधारभुत विद्यालय परिवार, पोखरी गाँउको चण्डेश्वरी आमा समुहले मायाको चिनोसहित फूलमाला, खादा, अबिरले सम्मान गरिएको थियो भने माइती खलक म्रोम्जो कोने घोताने परिवारले गुरुङ पोशाकसहित बधाई र सम्मान गरिएको थियो।

सम्मान कार्यक्रमको प्रमुख अतिथि एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले दीप प्रज्वलनसहित व्यानर खोल्दै कार्यक्रमको उद्घाटन गर्नुहुदै जन्म गाँउको मायाले आफु धेरै व्यस्ततालाई पनि पन्छाएर विजयपुर आएको बताउनुभयो। उहाँले आफ्नो बाल्यकालको संस्मरण गर्दै विगतका अनुभूतिहरु प्रस्तुत गर्दा आफु पनि भावुक हुनुभयो भने कार्यक्रममा सहभागी सबैको आँखा रसाएको देखिन्थ्यो।बाजे स्वर्गीय समाजसेवी क्या. बिर्तासिंह गुरुङ (गोरे कप्तान), जिमु बमबहादुर,दुर्गाबहादुर गुरुङको लगायतको सामाजिक विकासमा योगदानको चर्चा गर्नुहुदै आफ्नो रगतमा पनि बाबुबाजेको गुण भएकाले समाजसेवा लागेको बताउनुभयो। माइती गाँउबासीको माया र आर्शिवाद, आफ्ना अभियन्ता तथा सहयोगीहरुको अमुल्य सहयोगले एनआरएन युकेको पहिलो महिला अध्यक्ष हुने शौभाग्य मिलेको बताइन्।

प्रमुख अतिथि गुरुङले विजयपुर आधारभुत विद्यालयमा विद्यार्थीको आकर्षणका लागि शिक्षकलाई तालिम,शिक्षामा प्रविधी,शैक्षिक वातावरणको लागि अभिभावकको साथ सहयोगको आवाश्यकता रहने बताए।

विद्यालयमा कम्प्युटर शिक्षा शुरुवात गरे आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो भने शैक्षिक विकासका लागि आफ्ना स्वर्गीय बाजे क्या बिर्तासिंह गुरुङको एक लाख रुपैया अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।

उक्त कार्यक्रममा तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङ, कोने घोताने युकेका महासचिव इन्द्र घोताने, पोखरा १३ का वडा सदस्य कृष्णकुमारी गुरुङ, नेकपा पोखरा १३ वडा कमिटीका अध्यक्ष तिलक गुरुङ, मिलिजुली विजयपुर तमु समाज पोखराका अध्यक्ष ईन्स्पेक्टर मानकाजी गुरुङ, बौद्ध अर्घौ सदनका पुर्व अध्यक्ष क्या।मनबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्देश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक बलराम बरालले गरेका थिए । विसं २०१२ सालमा स्थापित २८ रोपनीमा रहेको विजयपुर आधारभुत विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म पठनपाठन भइरहेको छ । जम्मा ४९ जना विद्यार्थी अध्ययनरत रहेका छन्।