११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस सभापति देउवाद्वारा महाशिवरात्रिकाे शुभकामना

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०७६, शुक्रबार ०३:४५

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व ‘महाशिवरात्रि’ का अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना प्रकट गर्नुभएकाे छ ।

‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो,’ उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताका धरोहरहरु हुन् ।’ यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएकाे उहाँकाे ठहर छ ।

नेपाली जनताको दशकौं देखिको त्याग र बलिदान स्वरुप मुलुकले प्राप्त गरेको नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सके भने मात्र मुलुकलाइ शान्त, समृद्ध र समुन्नत बनाउन सकिने उहाँले बताउनुभएकाे छ ।