७ बैशाख २०८१, शुक्रबार
Follow Us

च्यारिटीको लागि शाहिल कैनी लण्डन म्याराथुन दौड्दै

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७६, शुक्रबार २३:५५

लण्डन । युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी यस वर्षको अप्रिल २६ मा आयोजना हुने लण्डन म्याराथनमा भाग लिने भएका छन् ।

उनले म्याराथनमा भाग लिएर नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैरसरकारी संस्था किड्स फर्स्ट नेपालको लागि तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका छन् ।

शाहिलले सन् २०१८ को लण्डन म्याराथनमा पनि भाग लिएका थिए । सो वर्ष पनि उनले सोही संस्था किड्स फर्स्ट नेपालको लागि सत्ताइस सय अठार पाउण्ड रकम सहयोग जुटाएका थिए ।

आफ्नो जन्म दिनको अवसरमा फेसबुकमा एक स्टाटस लेख्दै शाहिलले नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि फिजियोथेरापीको सेवा सहज र सुलभ रुपमा उपलब्ध होस् भन्ने हेतुले सहयोग जुटाउन आफू लण्डन म्याराथनमा भाग लिन लागेको बताए । उक्त संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि नि:शुल्क फिजियोथेरापी र अन्य स्वास्थ्य सेवा उपलब्ध गराउंदै आएको छ ।

उक्त दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जाने उनले प्रष्ट्याए । उनलाई सहयोग गर्न चाहनेले लण्डन म्याराथनको लिंक https://virginmoneygiving.com/fund/shahil-kfn मा गएर सहयोग गर्न सकिने छ ।

पुर्ख्यौली घर तनहुँ भएका शाहिल डार्टफोर्ड निवासी पूर्व काउन्सिलर डा बच्चुकैलाश कैनीका छोरा हुन् ।