March 5, 2021
9:27 AM | 3:12 PM
अन्तर्वार्ता

स्वस्थ मुटुका लागि प्रा. डा. मनसाको सल्लाह

  27/11/2016 मा प्रकाशित

प्रा.डा.मनसा थापा
खानपान ख्याल नगर्ने र सौखिन जीवन बिताउन खोज्दा आम मानिसले मुटुको स्वास्थ्यमा ध्यान दिएका हुँदैनन् । मुटु यस्तो सम्वेदनशील अंग हो, जसमा सानोभन्दा सानो समस्या आयो भने जीवन अन्त्य हुन्छ । त्यसका लागि मुटुमा समस्या आउन नदिनु बुद्धिमानी हो । समस्या आउन नदिन के गर्नुपर्छ ? यस विषयमा प्रा. डा. मनसा थापाको सल्लाह यस्तो छ–

० पोषणमा विरामीले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
– प्रायः विरामी भइरहने मानिसले खानापानमा ध्यान दिनुपर्छ । पोषण विज्ञानको सिद्धान्तअनुसार आफ्नो शरीरलाई जति आवश्यकता हुन्छ, त्यस्ता कुरा सर्वसाधारणलाई थाहा हुँदैन । तर हाम्रो शरीरले नै त्यसलाई बताइरहेको हुन्छ । शरीरलाई आवश्यकताअनुसार खानेकुरा खाएपछि हामीलाई सजिलो महसुस हुन्छ । जसले गर्दा शरीरलाई शक्ति दिने र काम गर्न सजिलो पार्दछ । जब त्यो खानेकुरा हाम्रो शरीरमा पच्न थाल्दैन, त्यसबाट विभिन्न विकार र समस्या देखापर्छ । त्यस्तो व्यक्तिले आफ्नो शरीरलाई सहज हुने खानेकुरा खानुपर्छ । दाल, गेडागुडी, हरियो सागसब्जी साधारण किसिमबाट मध्यम हिसाबले तेलको प्रयोग गरेर, मसला पनि ठिक्क हालेर खानु पर्दछ ।

० मुटु रोगसँग पोषणको कुरा कति जोडिएको हुन्छ ?
– मुटु रोगलाई विश्वभरि नै नसर्ने रोगका रूपमा लिइन्छ । खाना खाने समय ठीक भएन, ठीक भन्नेले खानुपर्ने वस्तु नखाने, नचाहिने चिज सेवन गर्ने, समयमा नखाने बानीले यो नसर्ने रोग उत्पन्न हुन्छ । अर्को धूमपान, मदिरापान अत्यधिक गर्ने र खानपानमा पनि विचार नपु¥याउने, शारीरिक व्यायाम केही नगर्ने, आरामदायी जीवन बिताउनेलाई पनि मुटु रोग लाग्छ ।
तीनवटा कुराले मुटु रोग हुन्छ । पहिलो, खानपानसँग मुटु रोग जोडिएको छ । खानपान नराम्रो भन्नाले जस्तो घ्यू, बोसो र पटक–पटक तताइएको तेलमा बनाइएको खानेकुरा जस्ता बजारमा पाइने समोसा, पकौडा, मालपुवालाई तीन–चार दिनदेखि एउटै तेलमा पकाइएको हुन्छ, त्यस्ता खानेकुरा खानुहुँदैन । त्यस्तो खायो भने हाम्रो शरीरमा रक्त सञ्चालन हुने रगतको नलीमा बोसोजस्तो तह जमाइदिन्छ । त्यो तह जमेपछि रगत जाने नशा खुम्चिँदै गएर मुटुमा रगतको बहाव अथवा मुटुले मागेअनुसारको रगतको सञ्चालन हुनुपथ्र्यो, त्यो नभएपछि मुटुमा विभिन्न समस्या देखिन्छ ।

० मुटुमा समस्या आइसकेका व्यक्तिले के कुरामा ध्यान दिनुपर्छ ?
– हाम्रो रगतको परीक्षण गराउँदा जुन रगतमा लिपिक प्रोफाइल भन्छौं, त्यसमा कोलस्ट्रोल बढ्ने, रगतमा ट्राइग्लिस्राइड बढ्ने भनेको खानपानमा चिल्लो र बोसोको मात्रा अत्यधिक खाएपछि हुन्छ । यी तत्वहरू बढेपछि मुटुमा समस्या देखाउँछ र मुटु रोग लाग्छ । नशा खुम्चिएपछि मांसापेशीहरू पनि मरेर जान्छन्, जसले गर्दा मुटुको काम राम्रोसँग हुन सक्दैन ।
यो कुरो पत्ता लागिसकेको व्यक्तिले विशेष गरी खानपानमा एकदमै ध्यान दिनुपर्छ । मुटुसम्बन्धी रोग लाग्ने मानिसको शरीर मोटो हुन्छ । त्यसकारण उनीहरूले मोटो नहुने खानेकुरामा ध्यान पु¥याउनुपर्छ । जस्तो, अन्नवर्गको खानेकुराहरू, चिनी, दूध हालेको चिया बारबार नपिउने, दाल तरकारीभन्दा बढी भात खाने चलन छ । हामीले बढी कार्बोहाइडेड भएको चिउरा, चाउचाउ खान्छौं । तरकारीमा पनि आलुलाई जोड दिन्छौं । कार्बोहाइडेड भएको खानेकुराले क्यालोरी भन्ने शक्ति दिन्छ, त्यो शक्ति दिने खानेकुरा घटाउनुपर्छ । जसले गर्दा शरीरको वजन पनि घट्न जान्छ, र शरीरमा मुटुको कार्यलाई सहजता आउँछ । अर्को कुरा, बढी चिल्लो खायो भने कोलस्ट्रोल, ट्राइग्लिस्राइड रगतमा बढ्छ । पशुजन्य पदार्थबाट प्राप्त हुने घ्यू, मासुको बोसोजस्ता पदार्थबाट मुटु रोगी टाढा बस्नुपर्छ ।
अर्को कुरा, चिनी खाएर मधुमेह हुन्छ भन्ने हाम्रो सोचाइ छ, त्यो गलत कुरा हो । चिनी बढी खायौं, अथवा चिनीसँग मिठाई अत्यधिक मात्रामा खाइयोे भने रगतमा ट्राइग्सिराइड बढाइदिन्छ । चिल्लो, घ्यू, छालाजन्य मासुले कोलस्ट्रोल बढाउँछ भने गुलियो वस्तुको खानाले रगतमा ट्राइग्सिराइड बढाइदिन्छ । मुटु रोगीले यस्ता वस्तुको सेवन एकदमै कम गर्ने गर्नुपर्छ ।

० हाम्रा उत्पादनलाई मुटुमैत्री बनाएर कसरी खान सकिन्छ ?
– सुविधा र साधनले गर्दा सहरका खानेकुरा अहिले ग्रामीण क्षेत्रसम्म पुगिसक्यो । सहरका मानिस सचेत हुँदै आए पनि गाउँका मानिसमा त्यो सचेतना पुगेको छैन । सहरका चीज ग्रामीण भेगका मानिसले विशेष मानेर खान्छन् । चाउचाउ मात्रै होइन, बिस्कुटको पनि धेरै खान्छन् । जुन वस्तु मैदाबाट बनेको हुन्छ, त्यो चिज खानु हुँदैन । चाउचाउ पनि मैदाबाटै बनेको हुन्छ । चाउचाउ त्यतिकै टोकेर वा पानीमा मात्र उमालेर खाइन्छ, त्यसरी खानु राम्रो होइन । गाउँमा सागपात गेडागुडी उत्पादन हुन्छ । अन्डा पनि गाउँघरमा उत्पादन हुन्छ । सक्नेले त्यो चाउचाउमा हरियो सागसब्जी मिसाएर खाँदा राम्रो हुन्छ । अथवा हरियो गेडागुडी छ भने त्यसलाई भिजाएर त्यो चाउचाउमा मिसाएर खाँदा राम्रो हुन्छ । यसरी मिसाएर खाइयो भने त्यो चाउचाउ पनि त्यति हानिकारक हुँदैन ।

० मुटु रोग भएका वा नभएका मानिस पोषणका कुराले कसरी जोगिन सक्छन् ?
– मुटु रोगबाट जोगिन सबैभन्दा पहिला संयमता ल्याउनुप¥यो । हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ । सागसब्जी, दालभात मिलाएर खानुपर्छ । ठिक्क मात्रामा खाने, अधिक खानु हुँदैन । कतिपय मान्छे भात र आलु मात्र खान्छन् । वास्तवमा दुईवटै चिजबाट एउटै पोषण पाइन्छ । एउटै मात्र पौष्टिक तत्व पाइने खानेकुरा खाँदा शरीरलाई फाइदा गर्दैन । सबैभन्दा पहिले घरपरिवारको खानेबानीमा परिमार्जन ल्याउनुपर्छ ।
भातको मात्रा घटाउने, सब्जीमा आलुको मात्र घटाउने र प्रोटिन प्राप्त गर्न दूध, माछामासु, अन्डा खानुपर्छ । एक दिनमा एउटा कुनै पनि प्रोटिन प्राप्त हुने चिज खाए पुग्छ । भेटेको बेला सबै खाने, नपाएका बेला भोकै बस्ने गर्नुहुँदैन । खाने समय निर्धारण गर्नुपर्छ, जहिले ठीक समयमा खानुपर्छ । खाँदा खस्रा अन्न खानुपर्छ । बजारमा पाइने तेलमा तारेको खानेकुरा खानु भएन । कुनै दिन मासु अथवा चिल्लोचाप्लो खाइयो भने त्यसलाई पचाउन शारीरिक व्यायाम अथवा दैनिक आधा घन्टा हिँड्नुपर्छ । बिर्को बन्द पेय पदार्थ खानु भएन, चुरोट सेवन गर्नेले छोड्नुपर्छ, मदिरा सेवन गर्ने आदत भएकाले नियन्त्रण गर्नुप¥यो । खाना बनाउँदा घ्यू बोसो प्रयोग गर्नुभन्दा वनस्पति तेलको प्रयोग गर्नु पर्छ । त्यसमा सबैभन्दा उत्तम तोरीको तेल हो । नुनको सेवन कम गर्नुप¥यो । एक नेपालीले दैनिक ८–१० ग्राम नून सेवन गर्छन्, त्यो स्वास्थ्य व्यक्तिका लागि पनि राम्रो होइन, मुटु रोग लागेको व्यक्तिका लागि राम्रो हुँदैन । मुटु रोग लागिसकेपछि दिनमा २ देखि ३ ग्राम नुन खानुपर्छ । तर स्वास्थ्य व्यक्तिले ५ देखि ६ ग्राम नुन सेवन गर्नुपर्छ । फलफूल सेवन गर्ने हामी नेपालीको नियमित बानी छैन । नपाएर हो वा खान नसकेर हो, त्यो बेग्लै कुरा हो । पाएको बेला एकदिन प्रशस्त खाने बानी हुन्छ, त्यसो गर्नुको सट्टा एक दिनमा सानो टुक्रा भए पनि फलफूल खाने बानी गर्नुपर्छ । यसरी हामीले खाने बानीमा सुधार ग¥यौं भने मुटु रोगका साथै अरु रोग पनि लाग्दैन । हामी स्वस्थ जीवन बाँच्न सक्छौं ।

प्रतिक्रिया