१३ बैशाख २०८१, बिहीबार
Follow Us

परराष्ट्रमन्त्री ज्ञवाली स्पेनमा, एनआरएनएसंग अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७६, शनिबार १९:३७

बार्सिलोना। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार बार्सिलोना आइपुगेका छन्। जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड आएका मन्त्री ज्ञवालीले स्पेनको पनि भम्रण गरेका हुन्।

मन्त्री ज्ञवालीको स्वागतका लागि म्याड्रिडदेखि शुक्रबार नै राजदूत दावाफुटी शेर्पा बार्सिलोना आइपुगेकी थिइन्। स्पेनस्थित नेपाली दूताबासको गाडीसहित प्रथमसचिव हरिहरकान्त पौडेल पनि यतिबेला बार्सिलोनामा नै छन्।

जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठक सोमबारदेखि सुरु हुने हुँदा मन्त्री ज्ञवालीले २ दिनसम्म बार्सिलोनामा नै बिताउने भएका छन्।

यसै बीच परराष्ट्रमन्त्री ज्ञवालीसँग एनआरएनए स्पेनले अन्तरक्रिया गर्ने भएको छ। उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तको पनि उपस्थिति रहेको छ। अन्तरक्रिया कार्यक्रममा स्पेन र नेपालको कूटनीतिक सम्बन्ध बिस्तार,एनआरएनए नागरिकता विद्येयक, भम्रण बर्ष २०२० लगायतका बिषयहरुमा छलफल हुने संघका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) ले जनाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य रहेका ज्ञवालीले पार्टीनिकट युरोपमा रहेका कार्यकर्ताहरुसँग पनि आईतबार बार्सिलोनामा भेटघाट तथा छलफल गर्ने भएका छन्।