१२ बैशाख २०८१, बुधबार
Follow Us

बलेवा बिमानस्थल कालोपत्रे सुरु

sarusaru
११ फाल्गुन २०७६, आईतवार ०३:२९

बागलुङ नगरपालिका नारायणस्थानमा रहेको बलेवा बिमानस्थल शुक्रबारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले एक कार्यक्रमकाबीच पक्की धावनमार्ग निर्माणको शिलान्यास गरे । उनले बर्षौदेखि रोकिएको बलेबा बिमानस्थल दिगो रुपमा संचालनको लागि बाटो खुलेको समेत बताए । गत बर्ष बलेवा बिमानस्थल संचालनमा ल्याइएको थियो । तर उक्त बिमानस्थलसम्म पुग्ने सडक र बिमानस्थल समेत कच्ची भएकोले उडान प्रभावित थियो । पानी परेपछि उडान रोकिएको थियो । बर्षातमा कालीगण्डकी करिडोर हिलाम्मे भएकोले सवारी साधन पुग्न नसकेपछि उडानको औचित्य नभई रोकिएको हो ।

अहिले भने मालढुंगादेखि कुश्मीसेरा जाने सडकको पानी ट्यांकीसम्म कालोपत्रे गर्ने काम भैरहेको छ । करिडोरले पनि आगामी बर्ष पक्की बनाउन तयारी गरेकोले मैदान समेत पककी बनेपछि जहाज संचालन सहज हुने बताइएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणको ७ करोड बजेटमा ७ सय मीटर लामो र २३ मीटर चौडा मैदान कालोपत्रे गरिने खत्रीले जानकारी दिए । त्यसका लागि बलेवामा बुल्डोजर पनि पुगेको छ । बुल्डोजरले पक्की धावनमार्गको काम हुने खण्डलाई खनेर गहिरो बनाएपछि ढुंगागिटी बिच्याउने र कालोपत्रे गर्ने काम पनि सुरु हुन्छ । काष्ठमण्डप कन्स्ट्रक्सन प्रा.लि.ले यो मैदान निर्माण गर्ने जिम्मा पाएको हो । ७ करोड लागतमा आगामी दशै सम्ममा काम सक्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनीले बताएको छ । खत्रीले पनि एक बर्षमा काम सक्नेगरी जिम्मा लिएकोले छिटै काम हुने बताए ।