१५ चैत्र २०८०, बिहीबार
Follow Us

६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुमको पुर्ख्यौली घरमा

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०७६, आईतवार ०४:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औँ जन्मदिन मनाउँदै हुनुहुन्छ । ओलीले यस वर्ष तेह्रथुमममा रहेको आफ्नो जन्मघर पुगेर जन्मदिन मनाउन लाग्नु भएको छ ।

जन्मदिन मनाउनका लागि उहाँ आज आफ्ना बुबा र श्रीमतीसहित हेलिकोप्टरमार्फत तेह्रथुम जाँदै हुनुहुन्छ । उहाँकै लागि केही समयअघि हेलिप्याड समेत बनाइसकिएको छ ।

तेह्रथुमको आठराईस्थित इवा ओलीको पुर्ख्यौली घर हो । सोही घरमा ओलीको जन्मदिनका लागि भनेर नै विषेश कार्यक्रमको आयोजना गरिएको छ । अरूलार्इ बेचबिखन गरिसकेको पुर्ख्यौली घर उहाँले केही वर्षअघि किन्नुभएको थियो ।

जन्मदिन विशेष कार्यक्रमको चाँजोपाँजो नेकपा तेह्रथुमले मिलाएको बताइएको छ । त्यहाँ प्रधानमन्त्रीले विशेष समारोहलाई सम्बोधन गर्नुका साथै आफ्ना बालसखाहरूलाई बोलाएर भेटघाट र रमाइलो समेत गर्ने कार्यक्रम रहेको छ ।

ओलीसँग प्रधानमन्त्रीको सचिवालयको टिम पनि तेह्रथुम जाने भएको छ । त्यस्तै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र खानेपानी मन्त्री विना मगर पनि त्यहाँ पुग्नुहुनेछ ।

प्रधानमन्त्रीको जन्मघरमा जन्मदिनमा विशेष कार्यक्रम आयोजनादेखि अरु योजनाका कार्यक्रम पनि रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आज स्थानीय सार्वजनिक बिदा समेत दिइएको छ ।

गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ ।