१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेसले छाया सरकारलाई सशक्त बनाउने

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०७६, आईतवार ०५:१०

काठमाडौं । सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै नेपाली कांग्रेसले छाया सरकार बनाएको थियो । यो छाया सरकारलाई कांग्रेसले थप सशक्त बनाउने तयारी गरेको छ । सरकारले संविधान, विधि र प्रक्रिया मिचेर काम गरिरहेको, अनियमितता, महँगी र भ्रष्टाचार बढेको तथा जनताका पक्षमा काम गर्न नसकेको, मन्त्रीका गतिविधि दिनदिनै विवादित बन्न थालेको भन्दै कांग्रेसले ‘छाया सरकारलाई सशक्त बनाउन लागेको हो ।

त्यसका लागि कांग्रेसले छाया सरकारमा रहेका संयोजक र सदस्यसहितको बैठक आज आइतबार बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा डाकिएको बैठकमा सरकारका गतिविधि, पार्टीले संसद्मा खेल्ने भूमिका र समग्र राजनीतिक अवस्थासहितका विषयमा छलफल हुने प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् । बैठकमार्फत कांग्रेसले छाया सरकारमा रहेका संयोजक र सदस्यलाई जिम्मेवारीअनुसार सक्रियता देखाउन निर्देशनसमेत दिने तयारी गरेको छ ।

कांग्रेस संसदीय दलले सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकारका रूपमा काम गर्न गत ६ जेठमा २१ जना संयोजक र ३७ जना सहयोगी सदस्य तोकेर स्वरूप तयार गरेको थियो ।

हरेक मन्त्रालयस्तरीय समन्वय समितिमा संयोजक र दुई सदस्य छन् । उनीहरूलाई मन्त्रालयको काम कारबाहीको सूक्ष्म रूपमा निरगानी र खबरदारी गर्ने अधिकार छ । कांग्रेसबाट हाल प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सांसद छन् । छाया सरकारमार्फत मन्त्रालयगत कामको निगरानी, निर्णय, संवैधानिक पद्धति, प्रक्रिया र जनआकांक्षालाई ध्यानमा राखेर काम गर्ने कांग्रेसले बताउँदै आएको छ ।

कांग्रेसको छाया सरकारमा दिलेन्द्रप्रसाद बडु गृह मन्त्रालयस्तरीय समितिको संयोजक छन् । यस्तै, मीनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्की ऊर्जा संयोजकको जिम्मेवारीमा छन् । यसैगरी, उमाकान्त चौधरी सहरी विकास, किशोरसिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, वाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालस्तरीय समितिको संयोजक छन् ।

छाया सरकारको खानेपानी मन्त्रीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्रराज कँडेल, श्रममा डिला संग्रौला, संचार समितिको संयोजकमा बहादुरसिंह लामा छन् । यसैगरी, भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा संजयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयमा राधेश्याम अधिकारीलाई छाया मन्त्रीको जिम्मेवारी छ ।