१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूके अध्यक्ष गुरुङ राजनीतिक भेटघाटमा

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७६, आईतवार १४:१०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरुङले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार भेट गरेकी छन् । भेटमा अध्यक्ष गुरुङले गैरआवासीय नेपालीको नागरिकता निरन्तरता, भूपू गोर्खा सैनिकको इस्यु र प्रवाशबाट पनि मतदान गर्न पाउनुपर्ने माग राखेकी थिइन् । यी तीनवटै एजेन्डामा अध्यक्ष प्रचण्ड सकरात्मक रहेको भेटपछि अध्यक्ष गुरुङले जानकारी दिइन् । राजनीतिक अधिकारबाहेक एनआरएनको नागरिकता निरन्तर रहने, भूपू गोर्खा सैनिकले उठाएको मुद्दामा नेकपा जहिले साथ रहने र प्रवाशबाटै मतदान गर्ने प्रक्रियाबारे छलफल चलिरहेको अध्यक्ष प्रचण्डले आफूसँग भनेको गुरुङले बताइन् ।

नेकपा अध्यक्ष प्रचण्डसँगको भेटपछि राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठसँग अध्यक्ष गुरुङले भेट गरेकी थिइन् । भेटमा अध्यक्ष गुरुङले एनआरएनले प्राप्त गर्ने नागरिकताको मोडालिटी र नागरिकता ऐन संसदमा प्रस्तुत हुन किन ढिलो भएको हो भन्ने जिज्ञासा राखेकी थिइन् ।
एनआरएनएले प्राप्त गर्ने नागरिकतबारे कुनै विवाद नरहेको राज्य व्यवस्था समितिकी अध्यक्ष श्रेष्ठले बताएको उल्लेख गर्दै अध्यक्ष गुरुङले भनिन्, ‘ नागरिकता विधेयक एनआरएनएका कारण संसदमा प्रस्तुत हुन ढिलो भएको होइन रहेछ ।’

उपराष्ट्रपति नन्दबहादुर पुन, महिला बालिबालिका तथा जेष्ठ नागरिक मन्त्री पर्वत गुरुङ, संघीय समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका नेतासँग पनि अध्यक्ष गुरुङले भेट गरेकी थिइन् ।

भेटमा आफूले गैरआवासीय नेपालीको नागरिकता निरन्तरता, भूपू गोर्खा सैनिकको मुद्दा र प्रवासबाट पनि मतदान गर्न पाउनुपर्ने एजेन्डा प्रस्तुत गरेको अध्यक्ष गुरुङले बताइन् । उनले भनिन्, ‘सबैसँगको भेट एकदमै सौहार्दपूर्ण रह्यो, हाम्रो एजेन्डामा सबै सहमति हुनुहुन्छ ।’