११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली राजदूतावास लन्डनको सक्रियतामा स्कटल्याण्डमा नेपाल भ्रमण वर्ष कार्यक्रम ( फोटो फिचर)

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७६, आईतवार १६:३३

लन्डन । स्कटल्याण्डको काउडेनवीथस्थित सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि पर्यटन प्रवर्धन कार्यक्रम गरिएको छ । नेपाली राजदूतावास लण्डनले सिमला प्यालेस स्कटल्याण्डको सहकार्यमा काउडेनवीथस्थित सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानीय स्कटिष्ट नागरिक सहित करिब डेढ सय जनाको सहभागिता रहेको सो कार्यक्रममा काउडेनवीथका काउन्सिलर डारेन वाटले नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको बताएका थिए । नेपाल भ्रमण वर्षलाई सफल पार्न आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग रहने पनि वाटले बताए ।

नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले पर्यटन प्रबर्धन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सिमला प्यालेसले पुर्याएको योगदानको सह्राना गर्दै सम्पूर्ण स्कटिष्ट नागरिकहरुलाई आफू र आफन्तसहित नेपाल भ्रमणमा जानको लागि आग्रह गरेका थिए । आरनले नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि विशेष जानकारीमूलक पावरपइन्ट प्रस्तुत गरेका थिए ।

नेपाल भ्रमण वर्षलाई प्रबर्धन गर्ने खालका विभिन्न ४ ओटा भिडियोहरुको प्रस्तुती गरिनुका साथै नेपाली नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको संयोजन काशीराम भण्डारीले गरेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाली दूतावास लण्डनले गत वर्ष देखि नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।