८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतका नेपाली ज्येष्ठ नागरिकहरुबारे कार्यशाला गोष्ठी

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७६, आईतवार १६:४९

लण्डन । बेलायतमा रहेका नेपाली समुदायका ज्येष्ठ नागरिकहरुको अवस्था र उनीहरुले भोग्नुपर्ने समस्याहरुमा केन्द्रित एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेले शनिबार लण्डनको वेलिंगमा आयोजना गरेको कार्यक्रममा बेलायतमा नेपाली ज्येष्ठ नागरिकहरुका लागि चुनौति र अवसरहरुबारे पनि चर्चा गरियो ।

बेलायतमा समायोजनका क्रममा नेपाली ज्येष्ठ नागरिकहरुले भोग्ने गरेका भाषागत तथा समाजिक, सांस्कृतिक समस्याका साथै भावनात्मक र मनोवैज्ञानिक समस्या प्रमुख रहेको धारणा कार्यक्रमका सहभागीहरुले राखेका थिए ।
बेलायतमै बसिरहेपनि सामाजिक रुपमा नेपालसंगको सम्बन्ध निरन्तर रहने तथा बेलायतमा समायोजन हुन अफ्ठेरो हुने गरेको भनाइ उनीहरुको थियो ।

कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष नारायण भट्टराईले नेपाली डायस्पोराको तथ्य तथा ईतिहासलाई विस्तृत रुपमा केलाउदै आफ्नो प्रस्तुती दिएका थिए भने युसिएसलका लेक्चरर डा तेजेन्द्र फेरालीले बेलायतमा नेपाली ज्येष्ठ नागरिकहरुको अवस्था र उनीहरुको अनुभवहरुलाई समेटदै प्रिजेन्टेसन गरेका थिए ।

बेलायतमा दुई दशक भन्दा बढी लामो समयदेखि बस्दै आएका मदनसिहं थापा, हरिसिंह थापाले आफ्नो जीवन अनुभुतीहरु सुनाएका थिए । त्यसैगरी अनुभुतीकै क्रममा कानुनविध तथा लेखक गोविन्द बेल्वासेले कानुनी अवस्था र नागरिकताको सवाललाई जोडेर आफ्नो प्रस्तुती दिएका थिए । बेलायतमा कार्यरत स्वास्थ्यकर्मी सुशिला कार्कीले स्वास्थ्य क्षेत्रमा नेपालीहरुले भोगेका समस्याको बारेमा आफ्नो अनुभव पस्किएकी थिईन । त्यस्तै नयाँपुस्ताको तर्फबाट निकिता खरेलले बेलायत बसाइका अनुभुतिहरुलाई जोड्दै पहिलो पुस्ताको द्विविधा माथि आफ्नो धारणा सुनाएकी थिईन ।

कार्यक्रमको पहिलो चरण पूर्व उपाध्यक्ष दिप गिरीले सञ्चालन गरेका थिए भने दोस्रो चरणमा कार्यशालाको मोडरेटरको भुमिका पूर्व अध्यक्ष नारायण भट्टराई र डा तेजेन्द्र फेरालीले गरेका थिए । गोष्ठीका सहभागीहरुको सुझावलाई वुंदागत गर्दै कार्यक्रममा व्यक्त सुझावहरुको टिपोट साहित्यकर्मी दिनेश पौडेल र एनआरएन आई सी सी सदस्य अर्कराज तिम्सिनाले गरेका थिए । कार्यक्रमको समापन पूर्व विशेषत भाषागत तथा समायोजन, कल्चरल र भविष्य संगको तयारीपना (रेडिनेस) मा केन्द्रित हुदै निष्कर्शात्मक प्रस्तुती गरिएको थियो ।

एनआरएन यूकेका महासचिव फडिन्द्र भट्टराईले यस्ता बौद्धिक गोष्ठीहरुबाट प्राप्त हुने सुझाव र नीतिगत निश्कर्षहरुलाई कार्यान्वयनमा लैजान एक साझा प्लेटफर्मका रुपमा एनआरएनएले भुमिका खेल्ने बताए ।
आयोजक सोसाइटीका अध्यक्ष शेखर वाग्लेले कार्यक्रममा सहभागीहरुलाई स्वागतसहित धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बेलायतमा कार्यरत बौद्दिक तथा प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता थियो ।