७ बैशाख २०८१, शुक्रबार
Follow Us

ईन्द्रेणी टिमलाई बेलायत ल्याएर कार्यक्रम गर्ने गुल्मी समाजको तयारी

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७६, सोमबार १७:२७

लण्डन । प्रत्यक्ष लोकदोहोरीमार्फत देशविदेशका नेपालीमाझ ठूलो लोकप्रियता कमाउन सफल कार्यक्रम ईन्द्रेणीको टिम बेलायत आउने भएको छ ।
बेलायतको अग्रणी सामाजिक संस्था गुल्मी जिल्ला समाज यूकेले ईन्द्रेणी टिमलाई बेलायत ल्याएर कार्यक्रम गर्ने भएको हो ।

समाजले आपतकालीन कोष स्थापनाका लागि आउँदो महिना आयोजना गर्ने च्यारिटी कार्यक्रममा ईन्द्रेणीको विशेष लोकदोहोरी प्रस्तुत हुनेछ ।

मार्च ३० तारिख सोमबार मिडल्याण्डको नटिंगहममा उक्त कार्यक्रम आयोजना हुनेछ । ईन्द्रेणी टिम बेलायतमा रहंदा लण्डन, अल्डरसट, स्कटल्याण्ड लगायतका बेलायतका अरु केहि स्थानमा समेत कार्यक्रमहरु आयोजना गरिने गुल्मी जिल्ला समाज यूकेले जनाएको छ ।

सोहि कार्यक्रमको तयारीका विषयमा छलफल गर्न आइतबार गुल्मी जिल्ला समाज यूकेको तयारी बैठक बसेको थियो । वुल्वीचको बारकोड रेष्टुरेन्टमा समाजको कार्यसमिति र सल्लाहकार समेतको सहभागितामा सम्पन्न बैठकमा कार्यक्रमको ढाँचा, कलाकार व्यवस्थापन, उनीहरुको भिसा प्रक्रिया लगायतका विषयमा छलफल गरियो ।

कार्यक्रमको संयोजनको जिम्मा यसअघि नै समाजका उपाध्यक्ष तारानाथ भण्डारीलाई दिइएकोमा बैठकले सहसंयोजकमा सल्लाहकार रण केसीलाई राख्ने निर्णय गरेको छ । त्यस्तै मिडल्याण्डका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी संयोजकले सदस्यहरु थप गर्ने बताइएको छ ।

समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा बसेको बैठकलाई महासचिव बिर बलालले सञ्चालन गरेका थिए । उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य तथा सचिव मञ्जु भण्डारीले हेल्थ एण्ड सेफ्टी ब्रिफ दिएका थिए ।

बैठकमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष अर्जुन गौतम, निवर्तमान अध्यक्ष राम गलामी, सल्लाहकारहरु मोति भण्डारी, बालजंग अर्याल, दुर्गा पाण्डे, विनोद ज्ञवाली, फत्त थापा, गोकर्ण बस्नेत, ध्रुवराज अर्याल लगायतको सहभागिता थियो । त्यस्तै, कार्यसमितिका उपाध्यक्ष मति पुन, सहकोषाध्यक्ष तारा भट्टराई र सदस्यहरु मोहन घिमिरे, शिव राना, कमला भण्डारी, भक्त बलाल लगायत बैठकमा उपस्थित थिए ।

त्यसअवसरमा व्यक्तिगत रुपमा समेत गृहजिल्लामा परोपकारी कामहरु गर्ने सल्लाहकारहरु बालजंग अर्याल, फत्त थापा र मोति भण्डारीलाई समाजका तर्फबाट अध्यक्ष टोप पल्लीले सम्मान गरेका थिए । साथै, वुल्वीचमा बारकोड रेष्टुरेन्ट सञ्चालनमा ल्याउने समाजकी सचि मञ्जु भण्डारी, कृष्ण खरेल र गोकुल खरेललाई पनि सम्मानसहित शुभकामना दिइएको थियो ।