१५ चैत्र २०८०, बिहीबार
Follow Us

पार्टीको विधान र व्यवहार फरक छ : अनिता यादव, कोषाध्यक्ष, तमलोपा

नेपालब्रिटेन डट कम्
२१ असार २०७३, मंगलवार १३:०५

anitaतराई–मधेश लोकतान्त्रिक पार्टीको भर्खरै सम्पन्न महाधिवेशनपछि अध्यक्ष महन्थ ठाकुरले अनिता यादवलाई पदाधिकारीमा नियुक्त गरे । उनले कोषाध्यक्षको जिम्मेवारी पाएकी छिन्, पार्टीमा यादव पहिलो महिला पदाधिकारी हुन् । आफू आन्दोलनबाटै राजनीतिमा स्थापित भएको उनले बताइन् । समाजमा महिलालाई पनि साथै लिएर अघि बढे समाज परिवर्तन छिटो हुने यादवको कथन छ । उनको राजनीतिक अभियान, पार्टीमा महिलाको अवस्था र विविध विषयमा यादवसँग कुमार राउतले गरेको कुराकानी–

० केन्द्रीय समिति छनोट नगरी महाधिवेशन सकियो नि ?
– हामीले अध्यक्ष सर्वसम्मत छनोट गरेका छौं, केन्द्रीय समिति छनोट गर्ने सम्पूर्ण अधिकार अध्यक्षलाई जिम्मा दिएका छौं । अध्यक्षज्यूले केही दिनभित्रै पदाधिकारीलगायत केन्द्रीय समितिको टुंगो लगाउनुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।
० महाधिवेशनले किन छनोट गर्न नसकेको ?
– केन्द्रीय सदस्यमा धेरै आकांक्षी देखिए । महाधिवेशन आयोजनास्थल गलत रोजिएछ, मौसमले साथ दिएन, समयावधि पनि थोरै भयो । यस्तै विविध कारणले केन्द्रीय समिति महाधिवेशनले चयन गर्न सकेन । सबै जिम्मेवारी अध्यक्षज्यूलाई दिइएको छ ।
० ठाउँ गलत रोजिएछ भनेको ?
– हामीले स्कुलमा महाधिवेशन गरेका हौं, महाधिवेशनको समय लम्बाउन सक्ने अवस्थामा हामी थिएनौं, किनभने तोकिएको मितिको भोलिपल्ट स्कुलको परीक्षा सुरु हुनेवाला थियो । बर्खे मौसम भएकाले पानी परेकाले पनि महाधिवेशन प्रभावित भएको थियो ।
० सबै जिम्मा अध्यक्षलाई दिँदा अलोकतान्त्रिक भएन ?
– हुँदैन, किनभने अध्यक्ष सर्वसम्मत हुनुभएको हो, उहाँले पार्टीलाई सन्तुलित रुपमा अघि बढाउनुहुन्छ भन्ने विश्वास सबैमा छ । महामन्त्रीको अभावमा पार्टी गतिविधि रोकिएकाले उहाँले दुई चारदिनमै केन्द्रीय समितिलाई पूर्णता दिनुहुन्छ भन्ने आशा गरेका छौं ।
० मधेशी दलहरुको एकीकरणको कुरा उठेन ?
– मधेशी जनताको अधिकारका लागि एक भएर जानुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठेको हो । एउटै अधिकारका लागि विभाजित भएर होइन, एक भएर जानुपर्छ भन्ने मेरो पार्टीको पनि मान्यता हो ।
० कत्तिको सम्भव छ ?
– राजनीतिमा असम्भव भन्ने कुरा हुँदैन, त्यसैले मधेशका दललाई एक बनाएर अघि बढाउन हाम्रो पार्टीका अध्यक्षज्यूले छिट्टै पहल थाल्नुहुन्छ होला । यदि मधेशका अधिकारका लागि लड्ने हो भने विभाजित भएर होइन, एक हुनुपर्छ भन्ने जनताको माग छ, त्यसका लागि सबैले आ–आफ्ना ठाउँबाट त्याग देखाउन सक्नुपर्छ ।
० मधेशका नेताले त्याग देखाउन सक्छन् ?
– सर्वसत्तावादी चिन्तन नत्यागेसम्म त्यो सम्भावना छैन, तर, मधेशी जनताको अधिकार र हक स्थापनाका लागि खुलेका राजनीतिक दलहरु हुन् भने उनीहरु एक हुनुको विकल्प छैन । एक भएर अघि बढियो भने बलियो राजनीतिक शक्तिको रुपमा हामी स्थापित हुन सक्छौं ।
० अनशनमा त एकता देखिएन ?
– संघीय गठनबन्धनमा हामी एकै ठाउँमा छौं, सत्तापक्षले त्यसलाई फुटाउन षड्यन्त्र मात्र गरेको हो । हाम्रो पार्टीको तर्फबाट साथीहरु पनि अनशनमा हुनुहुन्छ । मोर्चामा अहिलेसम्म त्यस्तो कुनै विवाद अथवा मतभेद आएको छैन ।
० तमलोपा र सद्भावनाका अध्यक्ष जानुभएको छैन नि ?
– सद्भावनाका साथीहरु पनि अनशन स्थलमा हुनुहुन्छ, हाम्रो पार्टीको महाधिवेशन भएकाले अध्यक्षज्यू त्यता व्यस्त हुनुभयो । मोर्चाले घोषणा गरेको आन्दोलनका कार्यक्रममा हामी सहभागी छौं, गठबन्धनलाई फुटाउने षड्यन्त्र भइरहेको छ ।
० तपाईंको पार्टीले महिलालाई कुन स्थानमा राखेको छ ?
– अन्य पार्टीले जस्तै हाम्रो पार्टीले पनि केन्द्रीय समितिमा महिलाका लागि ३३ प्रतिशत छुट्टााएको छ । तर, त्यो कागजी रुपमा मात्र हो, कार्यान्वयन भएको छैन । यद्यपि यो महाधिवेशनबाट त्यो कार्यान्वयन हुन्छ भन्ने आशा गरेको छु ।
० कति प्रतिशत कार्यान्वयन भएको थियो ?
– ठ्याक्कै तथ्यांक थाहा भएन, त्यस्तै २४–२५ प्रतिशत कार्यान्वयन भएको होला । विधानमा जति लेखिएको छ, त्योभन्दा बढी हुनुपर्छ भनेर पार्टीभित्र संघर्ष गरिरहेका छौं ।
० विधानमा लेखिएको कुरा पनि कार्यान्वयन गर्न संघर्ष गर्नुपर्ने ?
– संघर्ष गर्दैमा सबै कुरा एकैपटक प्राप्त हुन्छ भन्ने मलाई लाग्दैन । यद्यपि हामीले संघर्ष गर्न छोड्नु हुँदैन । त्यसैले विधान, संविधानमा लेखिएको महिला अधिकारका लागि पार्टीभित्र मात्रै होइन, राज्यविरुद्ध नै हामी संघर्ष गरिरहेका छौं ।
० पार्टी राजनीतिमा महिलालाई कत्तिको सहज छ ?
– राजनीतिमा मात्र होइन, जुनसुकै क्षेत्रमा महिलालाई अघि बढाउनुपर्छ भन्ने सोचको विकास भइसकेको छैन । समाज परिवर्तनका लागि महिला र पुरुष समाजका अभिन्न अंग हुन्, त्यसैले महिलालाई पनि सँगसँगै अघि बढाउँदा घर, समाज, गाउँ र देशकै भलो हुन्छ । तर, सहरका महिलाको त यो हविगत छ भने मधेशका महिलाको अवस्था जगजाहेर छ ।
० महिला अधिकारको आन्दोलनबाटै राजनीतिमा आउनुभएको हो ?
– मधेश आन्दोलनबाट पार्टी राजनीतिमा आएकी हुँ । सुरुमा म एमालेको महिला संगठनमा थिएँ, पछि मधेश आन्दोलनमा संलग्न भएँ । धनुषा क्षेत्र नं. ५ बाट प्रत्यक्षतर्फ निर्वाचत लडेकी हुँ, त्यहाँ पनि पुरुषले महिलाविरुद्ध षड्यन्त्र गरेर मलाई निर्वाचित हुन दिएनन् ।
० तपाईंले जित्नुपर्ने थियो ?
– जनताले जसलाई मत दिन्छन् उसैले जित्ने हो, तर जनतालाई स्वतन्त्र रुपमा मतदान गर्न दिने वातावरण हुनुपर्छ । मनी र मसल प्रयोग गरेर एउटी महिलाविरुद्ध जनता प्रभावित नगरेको भए राम्रो हुन्थ्यो कि भन्ने मेरो भनाइ हो ।
० थातथलो कहाँ हो ?
– माइती सप्तरी हो, घर जनकपुर र काठमाडौंमा छ । इञ्जिनियर मेरा श्रीमान् श्रीकृष्ण यादवको दुर्घटनामा निधन भएपछि उहाँको व्यवसाय सम्हाल्दै म राजनीतिमा आएकी हुँ । उहाँ सक्रिय राजनीतिमा र इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्नुहुन्थ्यो ।
० श्रीमान् कुन पार्टीमा हुनुहुन्थ्यो ?
– सुरुमा उहाँ कांगे्रस राजनीतिमा हुनुहुन्थ्यो, गणेमान सिंहको जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो, अभियान सकिएपछि उहाँ पाँच हजार कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको थियो ।
० परिवार कस्तो थियो ?
– राजनीतिक संस्कारमा हुर्किएकी हुँ, बुवा पञ्चायत र पछि गजेन्द्रनारायण सिंहले स्थापना गर्नुभएको सद्भावना पार्टीको राजनीतिक दलमा हुनुहुन्थ्यो । एसएलसी दिएपछि मेरो विवाह भयो, विवाहपछि स्नातकसम्मको अध्ययन गरेँ ।
० एसएलसी दिएपछि नै विवाह ?
– म यादव परिवारकी हुँ, जति नै सम्पन्न र शिक्षित भए पनि हाम्रो समाजमा छोरीको छिटै विवाह गरिदिने चलन छ । छोरीलाई पढाउनुपर्छ, आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यता अझ विकसित भइसकेको छैन ।
० तपाईंले छोराछोरी के गर्नुभयो ?
– छोरीले भर्खर एमबीबीएस डक्टर सिध्याइन्, दुई छोरा छन्, उनीहरु पनि अध्ययनकै सिलसिलामा छन् ।

– See more at: http://www.nepalbritain.com/?p=48861#sthash.wkTydydW.dpuf