८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रियसभामा वामदेवलाई लैजाने निर्णयपछि नेकपाभित्र तरंग

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७६, बुधबार १५:१७

काठमाडौं । सत्तारुढ नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । राष्ट्रपतिबाट मनोनयन हुन बाँकी एक सिटमा गौतमलाई लैजाने निर्णय सचिवालयले गरेपछि नेकपाभित्र नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ ।

अन्ततः नेकपा सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको नेकपा सaचिवालय बैठकले गौतमलाई राष्ट्रपतिको ‘कोटा’मा सांसद बनाउने निर्णय गरेपछि केही प्रश्न र जिज्ञासाहरु भने सिर्जना भएका छन् ।

राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन हुने भएमात्रै सांसद बन्ने शर्त राखेका गौतम संविधान संशोधनको गृहकार्यका लागि बनाइएको कार्यदल नै भंग गर्ने निर्णय हुँदाहुँदै किन सांसद बन्न तयार भए भन्ने जिज्ञासा स्वाभाविकरुपमा उठेको छ ।

गौतम राष्ट्रियसभाको सदस्यमात्रै बन्न तयार भएका हुन् वा उनले यसअघि राखेको शर्तलाई समयक्रममा पूरा गर्नेगरी पुष्पकमल दाहाल र माधव नेपालले उनलाई सहमत गराएका हुन् भन्ने कुराको जवाफ भविष्यले नै दिनेछ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार पार्टीको उपाध्यक्षजस्तो अनुभवी नेतालाई संसदमा पुर्‍याउनु पर्छ भन्ने मान्यताका आधारमा अहिले संसदमा लैजाने निर्णय गरिएको हो । त्यसो त वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय भएलगत्तै नयाँ चर्चा पनि सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस नगर्ने सन्देश आफूनिकटका सचिवालय सदस्यहरुलाई दिएको चर्चाले सांसद बन्ने वामदेवको सपनामा फेरि बादल लाग्ने त होइन ?