६ बैशाख २०८१, बिहीबार
Follow Us

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी (बक्तब्यको पूर्णपाठ)

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७६, बुधबार २२:००

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन्। पूर्व अध्यक्ष सुरज बैद्य, चण्डिराज ढकाल र महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरुको उपस्थितिमा ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

‘समृद्धिको आधार राज्य-निजी क्षेत्र साझेदार’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका ढकालले आगामी अध्यक्ष शेखर गोल्छालाई पनि सम्झिएका थिए।

‘महासंघको भावि अध्यक्षका रुपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं,’ ढकालले भने, ‘उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशील टीम बन्नेछ। यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर ११ बनाउनेछौं।’

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। उनको घोषणासभामा गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका उपस्थित थिए।

अहिले प्रधानतिर गोल्छा खुलेका कारणले ढकालले आफ्नो मन्तब्यमा गोल्छालाई समेटेका हुन्। उनले आगामी निर्वाचनमा गोल्छा लगायतको साथ खोजेको भाषणबाट देखिन्छ। घोषणासभामा गोल्छा समूहबाट लोकमान्य गोल्छा भने उपस्थित थिए।

महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने ब्यवस्था छ। त्यसैले वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा हुने गरेको छ।


के भने ढकालले सभामा ?

आदरणीय उद्योगी, व्यवसायी मित्रहरु,

बागलुङको गाउँमा जन्मिएर, एउटा सहायकस्तरको जागिर छाडेर शुरु गरेको सानोतिनो व्यवसायबाट‌ै तपाईंहरु अधिकांश जस्तै मेरो पनि व्यवसायिक जीवन शुरु भएको हो।

करिब दुई दशकअघि हामीले आइएमइ स्थापना गरेर शुरु भएको हाम्रो व्यवसायिक यात्रा आजका दिनसम्म आइपुग्दा बैंक, वित्तीय संस्था, बीमा, केवलकार र जलविद्युतदेखि लिएर सेवा क्षेत्रसम्म विस्तार भएको छ।

देशैभरि पुगेको हाम्रो उद्यमशिलताबाट हजारौं नेपाली दाजुभाइ दिदीबहिनी प्रत्यक्ष एवम् आश्रित रूपमा हामीसँग जोडिनुभएको छ । यो हाम्रो लागि गौरवको विषय पनि हो ।

जब हामीले नेपाली दाजुभाइले विदेशमा रगत र पसिना बगाएर जम्मा गरेको दुई चार पैसालाई विश्वासका साथ जतन गरेर उहाँहरुका आश्रित आमाबुबा एवं परिवारका हातमा पुर्‍याइदिन थाल्यौं। त्यसले हामीलाई स‌ँधैभरी आशिर्वादको काम गरिरह्यो।

नेपाली दाजुभाईले विश्वासका साथ हामीलाई दिएको र हामीले जतन साथ परिवारमा पुर्‍याइदिएको त्यो पैसा, त्यो परिवारको जीविकोपार्जन मात्रै बनेन, त्यो नेपालको अर्थतन्त्रको मेरुदण्ड पनि बन्यो। त्यही पैसाले कैयौं व्यापार चले, कयौं उद्योगहरु बने।

त्यति मात्र नभएर त्यो पैसा सानोतिनो व्यापारका लागि वित्तीय स्रोत बन्यो, घरेलु उद्योगका लागि सिड मनी। आज कहिं न कहिं कतै न कतै सानो होस् वा ठूलो, घरेलु होस् वा मझौला अधिकांश उद्योग र व्यापार यही रेमिट्यान्सको जगमा उभिएका छन्।

तिनै घरेलु उद्योग र व्यापारलाई बढाएर मझौला उद्योग र व्यापारमा लैजान सक्यौं भने, मझौला उद्योग र व्यापारलाई बढाएर ठूला उद्योग र व्यापारमा लैजान सक्यौं भने, ठूला उद्योग र व्यापारलाई बहुराष्ट्रिय उद्योग र व्यापारमा विस्तार गर्न सक्यौं भने त्यसले हाम्रो मात्रै होइन् समग्र देशको प्रगति हुन्छ भन्ने मेरो विश्वास छ।

त्यो मेरो विश्वासलाई यथार्थमा बदल्न, उद्योग र व्यापारमा उत्साहित साथीलाई प्रोत्साहित गर्न, तपाईं साथीहरुलाई आशावादी बनाउन, तपाईंका समस्यालाई सुल्झाउन, तपाईंका मुद्दालाई सम्वन्धित सबै निकायमा जोडसँग उठाउन मेरो साथ रहन्छ। यो मेरो प्रण हो।

हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौं । राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा। देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर पनि सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथीका रुपमा रहने निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकिरहेको छैन ।

नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । लगानीकर्ताले अरु वातावरणका अतिरिक्त स्थायी सरकार पनि हेर्छन् नै । देशमा तीन तहको सरकार बनेपछि आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसीमले प्रतिष्पर्धा नै भएको मैले पाएको छु ।

मेरो आफ्नै कुरा गर्ने हो भने कार्यक्रमका लागि विभिन्न ठाउँमा पुग्दा त्यहाँ प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीज्यूहरुले आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्नुहुन्छ । उहाँहरुले तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौं पनि भन्ने गर्नुभएको छ ।

सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति नियम र कानुनमा राम्रैसँग स्वीकार गरेको पनि छ । तर नेतृत्वमा यो सकारात्मक सोच देखिएजसरी राज्य संयन्त्रभित्र भने के के नपुगेजस्तो देखिन्छ । हाम्रा उद्योगी, व्यवसायी साथीहरुले काम गर्ने क्रममा नेपालको परम्परागत संरचनाबाट सहज महसुस गर्न नपाएको गुनासो बारम्बार गर्नुभएको पनि छ।

राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ ।

निजी क्षेत्रले दिने सेवा पनि राज्यकै लागि हो । यसका लागि उद्योगी व्यवसायी मित्रहरु आफ्ना व्यावसायिक हकहितका लागि संयुक्त रुपमा लाग्नुपर्ने हुन्छ।

त्यसैले मेरो उम्मेदवारीको नारा समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार राखेको छु । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा देश समृद्ध बनेको संसारमा अहिलेसम्म मैले कतै देखेको छैन । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति द्रूत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । आखिर राज्य निजी क्षेत्रको बिना लगानीको एउटा पाटर्नर पनि हो।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी वृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ ।

औद्योगिक र व्यापारिक वातावरण बनाउन हामी कहाँ अझै थुप्रै काम गर्न बाँकी छ। जस्तो उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रियालाई सहज र शुलभ बनाउनुपर्नेछ। उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा इआइए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समय र झण्झटलाई छोट्याउनुपर्नेछ। समय प्रक्रियाका कारण बढ्ने लागतलाई घटाउनुपर्नेछ।

छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योग ग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन्, त्यहाँ पुग्ने सडक, विद्युत लगायतका दिगो पूर्वाधार चाहिन्छ। गुणस्तरीय विद्युत त्यो पनि सर्वसुलभ दरमा उपलब्ध हुनुपर्छ।

उद्योग र आयोजनाका लागि चाहिने जग्गा किन्न वा अधिग्रहण गर्न, ती कम्पनीलाई अनावश्यक सम्पत्ति र जग्गा बिक्री गर्ने प्रक्रिया सहज बनाउनुपर्नेछ।

एउटा निकायबाट फर्छ्यौट भएको विषयलाई वन, मालपोत लगायतका विभिन्न निकायबाट अहिले जुन अल्झाउने परिपाटी छ, त्यसलाई हटाउनुपर्नेछ। नवउद्यमीलाई मात्रै होइन्, ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ।

उद्योगी व्यापारीसँग राज्यका निकायले जबरजस्ती कर नउठाइ पारदर्शी ढंगबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ।

निजी क्षेत्रलाई करको बोझमा दबाउने अहिलेको जुन व्यवस्था छ त्यसलाई हटाउनुपर्नेछ। करमा रहेका दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु करको ठूलो भार पर्ने समेत गरेका छन। त्यस्ता दुविधा भएका कर कानुनहरुलाई सुधार गर्नुपर्नेछ।

एउटा निकायबाट पार लागेको कर, सम्पत्तीको विषयलाई अनेक निकायबाट छानबिनको विषय बनाउने जुन रोग छ, त्यसको सही निदान र उपचार पनि गर्नुपर्नेछ। सरकारले हालै लागू गरेको भिसीटिएस र अनिवार्य पानले साना तथा मझौला उद्यमी समस्यामा छन्। हामीले यसको पनि दीर्घकालीन समाधान खोज्नुपर्ने बेला भएको छ।

सम्पत्तिमाथि निजी क्षेत्रको जुन हक छ, त्यसलाई अझ विश्वासिलो बनाउनुपर्नेछ। स्वेदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकार्षित गर्नुपर्नेछ। त्यसका लागि उद्योग वाणिज्य महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्नुपर्ने अवस्था छ ।

यी काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र डायनामिक बनाउनुपर्नेछ। त्यसैगरी महासंघले राज्यका निकायसँग पोलिसी डाइलगलाई अझै बढाउनुपर्ने छ।

विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला-ठूला मेगा इभेन्ट गर्नुपर्ने छ। उद्योगी व्यापारी साथीहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्ने छ।

महासंघको भावि अध्यक्षका रूपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं। उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशील टीम बन्नेछ। यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर ११ बनाउनेछौं।

हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ पनि गर्नेछ। मेरो उम्मेदवारी पनि त्यसैको एउटा अंश हो भनेर बुझिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ ।

तीन खम्बे अर्थ नीतिको प्रमुख खम्बाका रूपमा स्वीकारिएको यस क्षेत्रलाई सबैभन्दा सशक्त र सबल खम्बाको रूपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासनसहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन मैले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धता यसै मञ्चमार्फत व्यक्त गर्दछु ।

महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न मेरो प्रयास रहनेछ। त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने प्रयास गर्नेछु।

जसरी केही वर्ष अघिसम्म उद्योगी र कामदारबीच रहेको तिक्ततापूर्ण सम्बन्धलाई हामीले वार्ता र छलफलका माध्यमबाट सुमधुर सम्बन्धमा स्थापना गर्न सफल भयौं। त्यसैगरी हामीले हाम्रा स्टेक होल्डरसँगका समस्यालाई वार्ता र छलफलबाट समाधान गर्न केन्द्रित हुनेछौं ।

कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो । मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु ।

एउटा सबल र सक्षम नेतृत्वले नै सशक्त र बलियो महासंघ निर्माणमा सघाउ पुर्‍याउने छ । मलाई लाग्छ हाम्रा देशभरिका उद्योगी व्यवसायी साथीहरुले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र यस महासंघको उज्वल भविष्य निर्माणमा सहयोग गर्नेछ । त्यसैले आगामी साधारणसभामा हामी सबैको विवेकको ठूलो महत्व छ ।

महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । प्रदेश, जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो ।

मुलुकको अर्थतन्त्रमा अहम भूमिका खेलिरहेको निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघलाई जति बलियो र सशक्त बनाउन सकियो त्यति नै देशको समग्र निजी क्षेत्रको मनोबल उँचो हुनेछ र यसबाट राज्य संयन्त्रले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने छ । यसका लागि म सबै व्यवसायी र राज्यको पुलका रुपमा बीचमा बसेर रचनात्मक भूमिका खेल्ने काममा लाग्नेछु ।

साथीहरुलाई के भन्न चाहन्छु भने म हिजोका दिनमा तपाईँहरुसँगै थिएँ र आज पनि छु । भोलि पनि तपाईँहरुसँगै रहनेछु । महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा म तपाईंसँग सँधै साथमै रहन्छु।

आखिर हाम्रो देशैभरीका जिल्ला नगरमा व्यवसायिक नेटवर्क छ, यही व्यवसायमार्फत तपाईं हामी सबै जोडिएकै छौं ।

हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरुलाई महासंघको केन्द्रिय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न अझै सजिलो होला भन्ने मलाई लाग्दछ।

महासंघ र व्यवसायिक सञ्जालमार्फत उठ्दा बस्दा तपाईंहरु सबैले म कति सहज छु भन्ने बुझिसक्नु भएको छ। मेरो व्यक्तिगत व्यवहार र व्यवसायिक प्रकृतिले गर्दा म तपाईंबाट टाढा जान पनि सक्दिन। तपाईंलाई अप्ठ्यारो परेको दिन, तपाईंले खोजेको दिन सहजै उपलब्ध हुनेछु।

महाभारतमा कृष्णजीले अर्जुनलाई युद्ध जित्नेले आफ्ना सारथीलाई चिन्न सक्नुपर्छ भन्नु भएको थियो। मेरो यो अभियानका सारथी तपाईँ उद्योगी, व्यवसायी साथीहरु हुनुहुन्छ, यहाँ उपस्थित अग्रजहरु हुनुहुन्छ र मेरा सबैजना शुभचिन्तकहरु हुनुहुन्छ। मेरो अभियानका सारथीहरुको पहिचान मैले गरिसकेकोले म सफल हुनेमा ढुक्क पनि छु।