१३ बैशाख २०८१, बिहीबार
Follow Us

नक्कली अमेरिकाको ग्रिन कार्ड देखाएर बलात्कार

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७६, बिहीबार ०५:३८

मन्त्रीको सल्लाहकार भएको भन्दै युवतीलाई प्रभावमा पारेर बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । टोखाका अमृतबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफू सहरी विकासमन्त्री रामवीर मानन्धरको आर्थिक मामिला सल्लाहकार भएको भन्दै एक युवतीलाई प्रभावमा पारेका थिए ।

१२ कक्षामा अध्ययनरत ती किशोरीलाई आफूले थप अध्ययन गराउने तथा अमेरिका पठाइदिने भनेर आफ्नै डेरामा बन्धक बनाएर बलात्कार गरेका हुन् । उनलाई दुई सातादेखि हिरासतमा राखेर कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए ।

गत २७ माघमा लिफ्ट दिएर घले युवतीसँग नजिकिएका थिए । बनेपामा बस कुरिरहेकी युवतीलाई उनले मोटरसाइकलमा लिफ्ट दिएर काठमाडौं ल्याएका थिए । आफू मन्त्रीको सल्लाहकार रहेको र अमेरिकाको ग्रिन कार्ड होल्डर भएको बताउँदै उनले युवतीलाई अमेरिका पठाइदिने आश्वासन दिएर डेरामा लगेका थिए ।

डेरामा बन्धक बनाएर बलात्कार गरेको उजुरी युवतीले १ फागुनमा दिएकी थिइन् । घलेको परिवार अमेरिकामा रहेको खुलेको छ । उनी जग्गा कारोबारमा संलग्न व्यक्ति हुन् । प्रहरीलाई प्रभावमा पार्नसमेत उनले आफू राज्यमन्त्रीको सल्लाहकार भएको बताएको हुन सक्ने डिएसपी बोगटी बताउँछन् । अनुसन्धानका क्रममा उनी मन्त्रीको सल्लाहकार नभएको खुलेको छ ।
– नयाँपत्रिका