१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बामदेवलाई राष्ट्रियसभामा लैजान ओलीलाई थप दबाव दिने नेकपाका शीर्ष नेताको निर्णय

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७६, शुक्रबार ०६:४०

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्न थप दवाव दिने भएका छन् । आज विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार ललितपुरमा भएको ओली बाहेकका नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।

अघिल्लो सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपनि त्यो कार्यान्वयन नगर्ने अडान ओलीले लिएपछि थप रणनीति तय गर्न नेताहरुविच आज दाहाल निवासमा छलफल भएको हो । प्रधानमन्त्री ओली राष्ट्रिय सभामा गौतमको सट्टा वर्तमान अर्थमन्त्री डाक्टर युवराज खतिबडालाई नै पठाउनुपर्ने पक्षमा रहेका छन् ।

राष्ट्रिय सभामा मनोनित गर्ने सांसद सरकारले सिफारिस गर्ने कानूनी ब्यवस्था भएपनि पार्टीको निर्णय नै आधिकारिक हुने निस्कर्ष बैठकले निकालेको बताइएको छ । पार्टी निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री ओलीलाई कारवाही गर्नुपर्ने विषय पनि बैठकमा उठेको बताइएको छ ।

सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने अडान यसअघि नै दाहाल र बरिष्ठ नेता नेपाल निकट नेताहरुले राख्दै आएका छन् । करिव दुईघन्टा चलेको बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतका नेता सहभागि थिए ।