८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली दूतावास लण्डनमा नेपाली खाना महोत्सव हुने

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार १९:५७

लण्डन । लण्डनस्थित नेपाली दूतावासमा आउँदो अप्रिल महिनाको पहिलो साता नेपाली खाना महोत्सव आयोजना हुने भएको छ । दूतावास र नेप्लिज सेफ एशोसिएसन यूकेको सहकार्यमा अप्रिल ६ तारिख सोमबारका दिन उक्त महोत्सव हुन लागेको हो ।

महोत्सवमा बेलायतस्थित विभिन्न मुलुकका कुटनीतिज्ञहरु, स्थानीय मेयर, काउन्सिलरसहित करिब ५ सय जना गैरनेपाली समुदायका अतिथिहरुलाई निम्त्याउने तयारी छ ।

नेपाल भ्रमण वर्षको साथसाथै बेलायतमा नेपाली कुइजिनलाई प्रवर्द्धन गर्ने महोत्सवको लक्ष्य छ । बेलायतमा सिग्नेचर नेपाली परिकारहरु विकास गर्ने एशोसिएसनको योजनामा पनि महोत्सव सहयोगी बन्ने अपेक्षा छ ।

महोत्सवमा खानाको लागि सबै जिम्मेवारी लिएको सेफ एशोसिएसनले मौलिक नेपाली खानाका परिकारहरु पस्किने जनाएको छ ।

‘मम, सेलरोटी, छोइला, नेपाली शैलीको अचार, खीर, मासको दाल जस्ता टिपिकल नेपाली स्वादहरु हामीले महोत्सवका लागि तयार गर्नेछौं’, एशोसिएसनका प्रवक्ता राजु बोहोरा भन्छन्, ‘महोत्सवमा आउने अतिथिहरुले नेपाली खानाको स्वाद र यसका मौलिकता कस्तो हुन्छ भनेर अनुभव गर्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ।’

महोत्सवका दिन ४ वटा स्टलमा लाइभ कुकिंग किचन राखेर ताजा परिकारहरु पस्किने तयारी एशोसिएसनले गरेको छ । महोत्सवमा खानाको प्रबन्धदेखि यसका लागि आवश्यक खर्च जुटाउने जिम्मा समेत सेफ एशोसिएसनले नै लिएको छ ।

महोत्सवमा खानाका परिकारहरु बनाउने, सर्भ गर्ने र अतिथिहरुलाई खानाबारे बताउने लगायतका कार्यमा करिब ५० जना सेफहरु खटिनेछन् । यस वर्ष पहिलोपटक आयोजना हुन लागेको महोत्सवलाई भविष्यमा पनि हरेक वर्ष गर्दै जाने योजना दूतावास र एशोसिएसनले बनाएका छन् ।