१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए स्कटल्याण्ड राज्य परिषदले बृहत संस्कृतिक कार्यक्रमको आयोजना गर्ने

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार २०:०३

लण्डन । एनआरएनए यूकेको स्कटल्याण्ड राज्य परिषद अहिले एक बृहत कार्यक्रम आयोजनाको तयारीमा जुटेको छ । आउँदो मार्च महिनाको ९ तारिखका दिन स्कटल्याण्डस्थित सम्पुर्ण नेपाली संघसंस्था र सिंगो समुदायको सहभागितामा कार्यक्रम गर्न लागिएको हो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाहादुर सुवेदी प्रमुख अतिथि रहने कार्यक्रममा एनआरएनए आइसिसीका अध्यक्ष एवम पदाधिकारीका साथै एनआरएनए यूके र यसअन्तर्गतका अन्य सबै राज्य समन्वय परिषदका अध्यक्ष एवम् पदाधिकारीहरुलाई निमन्त्रणा गरिएको एनआरएनए स्कटल्याण्ड परिषदका सचिव दिवाकर पाण्डेले बताए ।

बेलायतकै सुन्दर पार्कहरुमध्येको एक मानिने स्कटल्याण्डको डम्फरल्याण्डस्थित ग्लिन प्याभिलियन पिटेनक्रिएफ पार्कको बीचमा अवस्थित काउन्सिल भवनमा कार्यक्रम गरिनेछ । दिउँसो साढे ४ देखि राती साढे १० बजेसम्म कार्यक्रम निर्धारित छ ।

स्कटल्याण्डका सबै क्षेत्रमा बस्ने नेपालीहरुलाई पायक पर्ने गरी कार्यक्रमको भेन्यू तोकिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा चर्चित कलाकार सन्ध्या बुढा ( काउली बुढी ) को विशेष प्रस्तुति रहनेछ । स्कटल्याण्डस्थित विभिन्न नेपाली संघसंस्था र समुहको तर्फबाट विविध सांस्कृतिक कार्यक्रम पनि पस्किने तयारी छ । स्कटल्याण्डमा सक्रिय नौमती बाजा समुहले पनि प्रस्तुति गर्नेछ । त्यस्तै, कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने समेत योजना छ ।

कार्यक्रममा स्थानीय स्कटिस समुदाय समेत गरी कुल ५ सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा छ । एनआरएनए स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष छविलाल अर्यालले कार्यक्रमले स्कटल्याण्डको सिंगोनेपाली समुदायलाई एक ठाउँमा ल्याउने र उनीहरुबीचको एकता तथा सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

साथै, देश विदेशबाट आउने अतिथिहरुसंग समुदायलाई घुलमिल गराउने र सहकार्यका सम्भावनाहरु पहिल्याउने उपयुक्त माध्यम समेत कार्यक्रम बन्ने उनको आशा छ । कार्यक्रममा सहभागिताका लागि एनआरएनए स्कटल्याण्ड परिषदले स्कटल्याण्डसहित बेलायतका विभिन्न क्षेत्रमा बस्ने सबै नेपाली र समुदायका अगुवाहरुलाई आव्हान गरेको छ ।