१९ बैशाख २०८१, बुधबार
Follow Us

कामदार भर्ना प्रक्रियालाई मर्यादित बनाउन मरिससको आग्रह

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७६, शनिबार १५:२६

काठमाडौं । मरिससको औपचारिक भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले त्यहाँका प्रधानमन्त्री प्रविन्द्रकुमार जुगनाउथसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको भेटमा उहाँहरुबीच नेपाल र मरिससबीच गत जेठमा सम्पन्न श्रम समझदारीको कार्यान्वयनलगायत दुई देशबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको दक्षिण अफ्रिकाका लागि नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा मन्त्री यादवले आगमी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवादमा मरिससबाट उच्चस्तरको सहभागिताका लागि आग्रह गर्नुभएको थियो । नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा मरिससबाट लगानीका लागि समेत उहाँले आह्वान गर्नुभयो । भेटमा मरिससका प्रधानमन्त्री जुगनाउथले नेपालले अन्तर्राष्ट्रियस्तरको संवाद आयोजना गर्न लागेकामा खुसी व्यक्त गर्दै उच्चस्तरको सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको मन्त्री यादवले त्यहाँ रहँदा कृषि, उद्योग तथा खाद्य सुरक्षामन्त्री महेन्कुमार सिरुत्न, श्रम मानव स्रोत विकास तथा तालिममन्त्री सुदेश सत्कम कालिचरनसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

सो अवसरमा मरिससको कृषि क्षेत्रमा नेपाली कामदारका लागि रोजगारीको सम्भावनाका बारेमा छलफल भएको दूतावासले जनाएको छ । यस्तै दुई देशका श्रम समझदारीको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबाट निरन्तर सहकार्य गर्दै जाने बारेमा छलफल भएको थियो । सो अवसरमा सम्झौताअनुरुपको मर्यादित कामदार भर्नासँग सम्बन्धित सबै प्रक्रियाका साथै लागतका विषयमा छलफल भएको थियो ।

भ्रमणका अवसरमा नेपाली प्रतिनिधिमण्डलले रोजगारदाताको सङ्गठनका प्रमुख तथा प्रतिनिधिसँग विदेशी कामदारको माग रहेका होटल, उत्पादन, पूर्वाधार, सुरक्षा, सेवालगायत क्षेत्रका बारेमा छलफल भएको दूतावासले जनाएको छ । सो अवसरमा मरिसस पक्षले नेपाली कामदार पठाउँदा कामदारको मर्यादित भर्ना प्रक्रियालाई अपनाउन जोड दिएको थियो ।

नेपाली प्रतिनिधिमण्डलले मरिससको व्यवस्थापिका ‘नेशनल एसेम्बली’को सभा सञ्चालनको अवलोकन गरेको थियो । मरिससका श्रममन्त्री कालिचरनको निमन्त्रणमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री यादव मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।