१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खप्तड गोल्ड कप : आयोजक सुदूरपश्चिम ११ फाइनल प्रवेश

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०७६, शनिबार १५:४०

धनगढी । विभागीय टिम एपिएफलाई पराजित गर्दै सुदूरपश्चिम खप्तड गोल्ड कप प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्वब फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय रङ्गशालमा भइरहेको ‘नेपाल आईस सुदूरपश्चिम अन्तरराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिता‘ अन्तर्गत आज भएको खेलमा विभागीय टिम एपिएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो । सुदूरपश्चिम–११ को जीतमा विक्रमसिंह ठकुरीले दुई गोल गरे । एपिएफका आशिष लामाले एक गोल फर्काए ।

घरेलु समर्थकको साथ पाएको सुदूरपश्चिमले एपिएफ विरुद्ध खेलको आठौँ मिनेटमा अग्रता बनायो । विक्रमले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले एपिएफका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका हुन् । खेलको ११औँ मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको २४औँ मिनेटमा एपिएफका आशिषले गोल गर्दै खेल २–१ मा ल्याए । डिबक्सको अगाडि प्राप्त बललाई आशिषले दुई डिफेन्डर र आयोजकका गोलरक्षकलाई बिट गर्दै गोल गरे । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् । जीतसँगै सुदूरपश्चिम—११ले पहिलो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

खेलको ‘म्यान अफ दि म्याच‘ सुदूरपश्चिम—११ का विक्रम घोषित भई पुरस्कृत भए । उपाधिका लागि आयोजक सुदूरपश्चिम—११ले थ्री स्टार र हिमालयन शेर्पा क्लब बीचको विजेतासँग आउने मङ्गलबार खेल्ने छ । आइतबार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेतालाई रु २१ लाख एक तथा उपविजेतालाई रु १० लाख एकसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।