१५ चैत्र २०८०, बिहीबार
Follow Us

९२ वर्षीय वृद्ध साइकलमा हाट बजार गर्दा सबै चकित

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार ०५:५४

पथरी । ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ , लौरोको साहारामा भित्र बाहिर गर्छ । अथवा छोरा वा नातिको साहारामा बाँची रहेको हुन्छ । तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखाउनु भएको छ । आफ्नो जीवनको उत्तरार्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेर फत्ते गर्नु हुन्छ ।

उहाँ साइकल चढेर हाट बजार गर्नुहुन्छ । उहाँले २५ वर्षको उमेरमा साइकल चढ्नुभएको हो । घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उहाँलाई घर परिवारले आग्रह गर्छन् । तर उहाँ मान्नु हुन्न । गाउँ वरपर हुने सभा सम्मेलनमा पुगिहाल्नुहुन्छ उहाँ । यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आचश्र्यचकित हुने गरेका छन् । घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जीउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु, उहाँले भन्नुभयो ।

सुनामका अनुसार “साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ । शरीर तन्दुरुस्त पनि हुन्छ ।” साइकल सरर कुदाएको हेर्दा जो कोही छक्क पर्ने गरेको सुनामको अनुभव छ । अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ “सडक विस्तार भएको छैन । तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ ।”

भोजपुर खावा–३ मा जन्मिनुभएका सुनाम २०३५ सालमा उर्लाबारी झर्नुभएको थियो । सकुञ्जेल साइकल कुदाइरहने उहाँको भनाइ छ । “साइकल मेरो साथी हो, नकुदाइ बस्न सक्दिन । आँट भएसम्मको ठाउँ पु¥याउन मदत गर्छ, उहाँले भन्नुभयो । हालसम्म उहाँले एक दर्जन साइकल फेरिसक्नु भएको छ ।