४ बैशाख २०८१, मंगलवार
Follow Us

के रामदेवले नै बन्द गराएका हुन् सिंहदरबार बैद्यखाना ?

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार १०:००

भनिन्छ, नेपालमा जड़ीबुटीको अपार खानी र प्रचुर सम्भावना छ । तर कसैले त्यसको प्रशोधन र व्यापार गर्नलाग्यो भने लौ रित्याउन लाग्यो भन्ने रुवावासी पनि सँगै जन्मिन्छ । हामी जेमा पनि राष्ट्रवाद घुसाइहाल्छौं ।

सस्तोमा जडीबुटी बेचेर महँगो औषधि किन्नुभन्दा यहीँ औषधि उत्पादन भयो भने त्यसको विश्वबजारमा राम्रो मूल्य आउँछ । जति धेरै कम्पनी खुले त्यति फाइदा हुने हो । स्थानीयले जड़ीबुटी खेती गर्न पाउँछन्, रोजगारी पाउँछन् । प्याकेजिङ्गदेखि वितरणसम्म अन्य घरेलु उद्योग फस्टाउँछन् । स्थानीयले आयातकर तिर्नु नपर्ने हुनाले सस्तोमा औषधि पाउँछन् । अहिले अरबभन्दा बढ़ीको आयुर्वेदिक औषधि आयात भइरहेछ । भोलि आयातलाई निरुत्साहित गरेर निर्यातक बन्ने सम्भावना भएको क्षेत्र हो यो ।

रामदेवको कम्पनी जङ्गल जङ्गल घ्यूकुमारी वा अमला खोज्दै जाने होइन, स्थानीय स्रोतबाट किन्ने हो । स्थानीयलाई खेती गर्न प्रोत्साहन गर्ने हो । डाबर नेपालले पनि त्यही गरिरहेछ । उसले गर्ने औद्योगिक गतिविधिलाई प्रचलित नियमकानुन अनुसार नियमन गर्ने काम सरकारको हो । प्राकृतिक स्रोतहरूको अतिदोहन नहोस् भन्ने सचेतता फरक कुरो हो, सरकारले नियमकानुन बनाएर त्यसको व्यवस्थापन गर्नुपर्छ ।

रामदेवको पतञ्जलि र डाबर ग्लोबल ब्राण्ड बनिसकेका छन् । तिनले विश्वभर हाम्रो उत्पादन बेच्न सक्छन् । देशको निर्यात वृद्धि गर्न सक्छन् । देशको व्यापार घाटा कम गर्न सक्छन् । हामी आफै पनि ब्राण्ड निर्माण गर्न सक्छौं, निर्यात गर्न सक्छौं तर उत्पादनदेखि गुणस्तरसम्म र विज्ञापनदेखि वितरण च्यानलसम्म हामीले अहिल्यै प्रतिष्पर्धा गर्न सक्दैनौं । पूर्वाधार निर्माणमैं हामीलाई लामो समय लाग्छ । अर्को कम्पनी खुलेर हाम्रो ब्रान्डिंग रोकिने होइन । हामी आफ्नो कम्पनीलाई बलियो बनाउँदै लैजान सक्छौं । देशभित्र सयौँ आयुर्वेदिक स्वास्थ्यचौकी र अस्पताल छन् । तिनमा आफ्नै उत्पादन पुऱ्याउन सके पनि ठूलो कुरो हो । भारतमैं पनि डाबर, बैद्यनाथ, झण्डू, हिमालयलगायतका दर्जनौं आयुर्वेदिक कम्पनी छन् र तिनका उत्पादन नेपालसहित युरोप र अमेरिकामा पुगेका छन् ।

सिंहदरबार बैद्यखाना रामदेवले बन्द गराएको होइन । हाम्रै राष्ट्रवादीहरूले धाराशायी बनाएको हो । राजनैतिक नियुक्ति, अनावश्यक कर्मचारी भर्ना, कर्मचारी आन्दोलन, सरकारी उपेक्षा आदिले बैद्यखाना ध्वस्त भएको हो । यसका उत्पादनमा गुणस्तरमाथि शङ्का भएर उपभोक्ता घटेका हुन् । ती सबै समस्या सुल्झाउने हो भने त्यसलाई बिउँताउन सकिन्छ । वाईवाई चाउचाउ मात्रै बिक्ने भन्ने हुँदैन । बजारमा थुप्रै चाउचाउ बिक्छन् । एउटा उद्योग बन्द हुन लाग्यो भनेर अब अरू उद्योगलाई निषेध गर्ने कि थप दशौ उद्योग खोल्ने ? रामदेवको कम्पनी आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा आउन लागेको खबर छ । त्यो हाम्रा नियामक निकायको कमजोरी हो । यसलाई प्रक्रियामा ल्याउन ठूलो समस्या हुँदैन । प्रचलित कानूनबमोजिम करको दायरामा ल्याएर सरकारलाई पनि आम्दानी हुने दिशातिर लाग्नुपर्नेमा लगानीकै विरोध हुनु दुर्भाग्य हो । एनआरएनकै स्वामित्व रहेको हुनाले पनि यो कम्पनीबाट देशले बढ़ी लाभ लिन सक्छ ।

जड़ीबुटी ट्याङ्कीको पानी होइन, प्रयोग गरेर सिद्धिने होइन । यो त कुवाजस्तो हो । जति झिकियो त्यति स्वच्छ पानी आइरहन्छ । रामदेवमात्र होइन, कुनै पनि स्थापित आयुर्वेदिक कम्पनीलाई लगानी भित्र्याएर स्थानीय रूपमैं उत्पादन सुरु गर्न प्रेरित गर्नुपर्ने हो । आयुर्वेदिक कम्पनीले प्रयोग गर्ने अधिकांश जड़ीबुटी हामीले खेती गरेर उत्पादन गर्ने हो । जति बढ़ी कम्पनी खुल्छन्, हाम्रा किसान र उत्पादनले त्यति बढ़ी मूल्य पाउँछन् ।

कि हामीले वैदेशिक लगानीलाई निषेध गर्ने र राष्ट्रिय उद्योग खोल्ने नीति अवलम्बन गरौं, कि यसरी आउने सानातिना लगानीलाई प्रबर्द्धन गरौं । हामी आफै पनि खोल्न नसक्ने, अरूले खोल्दा लुटेर लैजान लाग्यो भन्ने दुर्भावना नपालौं । एनसेल आएर नेपाल टेलिकम डुबेन । बरु उपभोक्ताले प्रतिष्पर्धामा सस्तो सेवा उपभोग गर्न पाए । नाफा नहुने क्षेत्रमा कसैले लगानी गर्दैन । सरकारले हेर्ने भनेको त्यस्तो नाफा नैतिक र कानुनसम्मत छ छैन भन्ने हो ।