८ बैशाख २०८१, शनिबार
Follow Us

नेताहरूले राजनीतिलाई पेसा बनाएको देख्दा दुःख लाग्छ

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७६, आईतवार १२:२८

सिन्धुपाल्चोक बाह्रबिसेकी राज्यलक्ष्मी श्रेष्ठ पूर्वसभासद् हुन् । उनी अहिले नेपाल महिला संघ काठमाडौं जिल्लाकी उपसभापति छिन् । उनले नेपाली कांग्रेसको राजनीतिसँगै थाङ्का व्यवसाय पनि गरेकी छन् । उनै श्रेष्ठसँग कालिका महतले गरेको कुराकानी–

० राजनीतितिर कसरी आकर्षित हुनुभयो ?
– मेरो जन्मघर सिन्धुपाल्चोकको बाह्रबिसे र कर्मघर काठमाडौं हो । मेरो परिवार राजनीतिक पृष्ठभूमिको थियो । बुबा प्रजा परिषद्मा हुनुहुन्थ्यो । म पनि सानैदेखि समाजसेवी भावनाको थिएँ । पारिवारिक वातावरण र आफ्नो इच्छाशक्तिले राजनीतितिर लागेकी हुँ ।

० नेताहरूले त राजनीतिलाई पेसा बनाएका छन्् भनिन्छ नि ?
– राजनीति भनेको विशुद्ध समाजसेवा हो । यस्तो पवित्र विषय अहिलेका राजनीतिज्ञहरूले नाफामूलक पेसा जस्तो बनाएका छन् । केही नेताहरूले पेसा के हो ? भन्दा राजनीति भनेर लेखेको देख्दा दुःख लाग्छ ।

० देशकै मूल कानुन संविधान बनाउने अवसर पाउँदा कस्तो लागेको थियो ?
– त्यो मेरो लागि जिन्दगीकै महत्वपूर्ण र ऐतिहासिक अवसर थियो । एउटा कालखण्डको इतिहास नै हो । त्यस्तो जिम्मेवारी अब पाइँदैन । यसका लागि मलाई नेपाली कांग्रेसले अवसर दिएको थियो ।

० पदभन्दा अवसरलाई ठूलो ठान्नुहुन्छ ?
– सांसद पद फेरि पनि प्राप्त हुन सक्छ । तर मुलुकमा जनताको अभिमतबाट निर्वाचित भएर शोषित, पीडित तह, तप्का, वर्ग, समुदायको अधिकार सम्पन्न संविधान बनेको छ । त्यसमा सहभागी भएर भूमिका निर्वाह गर्न पाएकोमा आपूmलाई भाग्यमानी ठानेकी छु ।

० पहिलो संविधानसभाले किन संविधान बनाउन सकेन ?
– त्यसबेला विद्रोही मानसिकता बोकेको कम्युनिस्ट पार्टी पहिलो हुन गयो । लोकतन्त्रको मियोको भूमिका खेल्ने नेपाली कांग्रेस प्रतिपक्ष भयो । पालैपालो कम्युनिस्टहरू सत्तामा पुगे । उनीहरू संविधान बनाउन असफल भए । दोस्रो संविधानसभाबाट नेपाली कांग्रेसको अगुवाइमा संविधान बन्यो । त्यसबेला नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा नेपालमा लोकतान्त्रिक संविधान बनेको हो ।

० कम्युनिस्टहरूले राष्ट्रियताका कुरा त गरिरहन्छन् नि ?
– कम्युनिस्टहरू जनतासामु सस्तो लोकप्रियतामा रमाउँछन् । उनीहरूको भाषण एउटा हुन्छ, काम अर्कै हुन्छ । जनतालाई मीठा सपना देखाएर झुटको खेती गरिन्छ । जनहित र जनआकांक्षाअनुरूप परिणाममुखी र दीर्घकालीन काम कम्युनिस्टहरूबाट हुँदैन । नेपालमा सबै बर्ग, समुदाय, जातजाति, धर्म, भाषालाई समेटेर संविधान बनाउनुपर्ने थियो । त्यसका लागि कम्युनिस्टहरू सफल हुन सकेनन् । दोस्रो संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा संविधान बन्यो ।

० देशमा जति पनि परिवर्तन भए, त्यसमा निर्णायक भूमिका निर्वाह गर्ने कांग्रेस पार्टी कसरी पछि प¥यो त ?
– पहिलो कुरा त, नेपाली कांग्रेसका नेताहरूले पार्टीको महत्व बुझ्न नसके जस्तो लाग्छ । दोस्रो, नेपाली कांग्रेस आपूmले गरेका कामको पनि जस लिन सक्दैन । तेस्रो, पछिल्लो समय नेपाली जनतामा वास्तविकता बुझ्नुभन्दा हल्लाको पछि लाग्ने बानीको विकास भएको छ । कम्युनिस्टहरू त्यस्ता उधारो आश्वासन बाँड्न खप्पिस छन् । कांग्रेस आपूmले गरेका राम्रो काम पनि जनतासामु पु¥याउन सक्दैन । त्यसैको फाइदा उठाएर कम्युनिस्टहरूले मुन्टो उठाउने मौका पाएका हुन् ।

० चुनावी नाराअनुसार यो सरकारले कतिको काम गरेको छ ?
– त्यो नेपाली जनताले देखिसकेका छन् । चुनावी नाराअनुसार यो सरकारले केही गर्न सकेको छैन । सरकार बनेको तीन वर्ष लाग्न थालिसेको प्रदेशको नामाकरणसम्म गरिसकेको छैन । गरेका ठाउँमा पनि चुनावको बेला एक ठाउँ भनेको थियो काम गर्दा अर्कै गरेको छ । विकास निर्माणका काम पनि समयानुकूल हुन सकेको छैन । भ्रष्टाचार र अनियमितताले मुलुक आक्रान्त छ । जनतालाई सुशासन दिन सकेको छैन । महिला हिंसा र बलात्कारका घटना ज्यूँका त्यूँ छन् । दोषीलाई जोगाएर निर्दोषलाई फसाउने कामहरू भइरहेका छन् ।

० सरकार भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने भनेको छ, के भन्नुहुन्छ ?
– यो सबै हावादारी हल्ला हो । त्यसको कुनै तयारी छैन । भ्रमण वर्ष २०२० सफल बनाउन सरकारको म्यामेजमेन्ट खोइ ? त्यत्तिकै हल्ला गरेर हुन्छ । यो कार्यकर्ता पोस्ने बहाना मात्रै हो । यातायात, होटल, गन्तव्यस्थल, सुरक्षा कुनै कुराको ग्यारेन्टी छैन ।

० कस्ता पर्यटकको आकर्षण हुनुपर्छ ?
– वास्तवमा भ्रमण वर्ष २०२० लाई सफल बनाउन क्वालिटी टुरिस्टको आकर्षण बढाउनुपर्छ । क्वान्टिटी मात्रै भएर सफलता हासिल गर्न सकिँदैन । उनीहरू कति दिन बस्छन् ? हाम्रा टुरिजम गन्तव्य कहाँ–कहाँ हुन् ? त्यसमा उनीहरूको स्ट्यान्डर्डअनुसार बस्ने, खाने, हिँड्डुल गर्ने वातावरण छ कि छैन ती विषयमा ख्याल गर्नुपर्छ ।

० थाङ्का व्यवसायमा भ्रमण वर्षले आकर्षण थपिएको छ ?
– त्यस्तो नयाँ आकर्षण थपिएको छैन । अहिले त पहिलाको भन्दा पनि पर्यटक कम भएका छन् । आएका पनि ६०÷७० रुपैयाँमा बार्गेनिङ गर्ने खालका भेटिन्छन् । त्यसैले मैले क्यालिटी टुरिस्टको कुरा गरेकी हँु । धेरै समय बस्ने, यहाँ उत्पादित, कला, संस्कार, संस्कृति झल्किने खालका सामान खरिद गर्ने खालका हुनुपर्छ ।

० नेपालको मुख्य आयस्रोत के हो ?
– कृषि उत्पादन हो, त्यसपछि टुरिजम हो । नेपाल विश्वमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक हो । यहाँ कम दूरीमा धेरै विविधता पाइन्छ । हावापानी, भौगोलिक, नदीनाला, झरना, हरियाली सबै दृष्टिले । साथै जातिजाति, कला, संस्कार, संस्कृति भेषभुषा सबै क्षेत्रबाट हाम्रो मुलुक धनी छ । देशमा उत्पादित टिपिकल कुरामा राज्यले ध्यान दिन सकेको छैन ।

० अहिले त भ्रमण वर्षको सिजन होइन र ?
– भ्रमण वर्ष नहुँदा पनि योे सिजनको समय हो । त्यसमा पनि भ्रमण वर्ष २०२० भनिएको छ, झन् टुरिजम क्षेत्र सुनसान छ । राज्यले हल्ला गरेअनुसार विश्वास दिलाउन नसकेकाले हो ।

० भ्रमण वर्ष २०२० को तयारी सरकारले गर्न नसकेको भन्न खोज्नुभएको हो ?
– अहिलेसम्म टुरिजमको आकर्षणको केन्द्र ऐतिहासिक सम्पदाहरूको पूर्वाधार तयारी गर्न सकेको छैन । बाटोघाटोको व्यवस्था राम्रो गर्नसकेको छैन । बस्नका लागि गन्तव्यस्थलमा होटल व्यवस्थापन गरेको छैन । हाम्रो देशका हिमाल, पहाड, तराईं सबैं क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्छन् । त्यसको उचित व्यवस्थापन राज्यले गर्न सकेको छैन । ती ठाउँमा पुग्नका लागि यातायात, खाना, बस्न राम्रो व्यवस्था हुनुपर्ने हो । कतिपय स्थापित संपदाहरूको लोकेसन र पहिचान नै गुम्ने गरी स्थानन्तरण र तोडमोड गरिएको छ ।

० चीनबाट फैलिएको कोरोना भाइरसले भ्रमण वर्ष प्रभावित हुँदैन ?
– प्रभावित भइसकेको छ । टुरिस्टहरू आउन धेरै पातलो भइसकेका छन् । फेरि नेपालको सीमाना चीनसँग जोडिएको आधारले पनि विदेशीलाई नेपालप्रति पनि शंका भइसक्यो । सरकारले आधिकारिक रूपमा यी कारणले चीनमा प्रकोप बढे पनि नेपालमा छैन भनेर आधारसहित अन्तर्राष्ट्रियस्तरको सचेतना, प्रचार प्रसार गर्नुपर्छ ।

० प्रसंग बदलौं, तपाईं महिला संघको कुन पदमा हुनुहुन्छ ?
– म महिला संघ काठमाडौं जिल्ला उपाध्यक्ष छु ।

० चुनाव लड्ने तयारी कत्तिको गर्नुभएको छ ?
– त्यसमा पार्टीले मूल्यांकन गरेर टिकट दिए सांसद लड्न पनि तयार छु ।

० सक्रिय राजनीति फेरि व्यवसाय कसरी सम्भव भयो ?
– जुनसुकै कुरामा सफलता हात पार्न इच्छाशक्ति चाहिन्छ । त्यो भएपछि समय आपैm तय हुन्छ । फेरि राजनीति विसुद्ध समाजसेवा हो । त्यसबाट आयआर्जन हुने कुरा भएन । जीविकोपार्जका लागि व्यवसाय गर्नैपर्छ । राजनीतिलाई कमाई खाने भाँडो बनाउनु हुँदैन ।

० महिला संघको कार्यक्रम लिएर गाउँ जाँदा कार्यकर्ताको भावना कस्तो पाउँनुहुन्छ ?
– जनता र कार्यकर्तामा पार्टी एकढिक्का भइदिए हुन्थ्यो भन्ने चाहना छ । सबै शीर्ष नेताहरू एक भएर आइदिए हुन्थ्यो भन्ने भावना छ । हामी गाउँ जाँदा नेपाली कांग्रेस आन्तरिक रूपमा एकढिक्का भएर जान सके कांग्रेसले राम्रोसँग चुनाव जित्न सक्छ ।

० श्रीमान्को सहयोग पाउनुभएको छ ?
– हरेक पाइलामा मैले श्रीमान्को सहयोग पाएकी छु । उहाँको साथ र सहयोग नपाएको भए म आज यो ठाउँमा आइपुग्ने थिइनँ । महिलालाई लैंगिक विभेदबाट जोगाउने सबैभन्दा पहिलो कुरा त शिक्षा नै हो । त्यसपछि अधिकारमा समान अवसर हुनुपर्छ । अवसर दिँदा जाति, समुदायभन्दा शिक्षा, स्वास्थ्य, अधिकारबाट बञ्चित वर्ग लक्षित हुनुपर्छ । बाहुन हुँदैमा धनी र सामन्ती हुने, दलित, जनजाति हुँदैमा गरिब र निमुखा भन्ने हुँदैन । ती जाति, समुदायभित्र पनि हेपिएका, ओझेलमा परेका, गरिब, निमुखा लक्षित अवसर हुनुपर्छ ।