१२ बैशाख २०८१, बुधबार
Follow Us

अल्डर्सटमा बन्ने नेपाली मन्दिरका लागि रवि लामिछाने एक्लैको पन्ध्र लाख बढ़ीको सहयोग

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७३, सोमबार १९:२४

बेलायतको अल्डरसटमा झन्डै बीस हजार नेपालीको बसोबास छ । हजारौंको संख्यामा भारतीय हिन्दूहरू पनि बस्छन् तर प्रार्थना र सांस्कृतिक सहभागिताका निम्ति स्थायी मन्दिरको भने अभाव छ ।

मन्दिरको यो अभाव पूरा गर्न शिव कल्चरल कमिटीको नेतृत्वमा स्थानीय नेपाली र भारतीय मूलका नागरिकहरू अहिले युद्धस्तरमा कस्सिएका छन् ।

गत आइतबार अल्डरसटकै एम्पायर बनकेटिंगमा भव्य च्यारिटी समारोह आयोजन गरेर मन्दिरका निम्ति रकम संकलन गर्ने अभियान थालियो ।

उक्त च्यारिटी साँझमा स्थानीय हिन्दूहरूदेखि टाढाबाट गएका नेपालीहरूले समेत उल्लेख्य रकम कबुल गरे । तर मन्दिर भनिएको शहर अल्डरसटभन्दा धेरै टाढा उत्तरी लण्डनमा बस्ने नेपाली युवा उद्योगी रविजङ्ग लामिछानेले ठूलो छाती देखाएर सबैभन्दा बढ़ी रकम सहयोग गरे । बाह्र हजार पाउण्ड अर्थात झन्डै १६ लाख रुपियाँको उनको सहयोगको सबैले तारीफ़ गरे ।
पर्बत जिल्लामा जन्मेर झन्डै डेढ़ दशकअघि बेलायत छिरेका लामिछानेले फेसनको क्षेत्रमा राम्रो औद्योगिक उपलब्धि हासिल गरेका छन् । उनको व्यापार जसरी विश्वभर फैलिंदो छ उनको उदार र दानी मन अनि धार्मिक स्वभावको चर्चा पनि बेलायती नेपाली समाजमा उकालो लाग्दो छ ।

गत वर्षको महाभूकम्पपछि एक्लै करोड़ बढ़ीको सहयोग दिएपछि उनको चर्चा एकाएक बढेको थियो । खासै प्रचार नरुचाउने र पर्दा पछाडि बसेरै सहयोग गर्न रुचाउने लामिछानेको धर्मप्रति भने अगाध आस्था रहिआएको छ । उनले आफ्ना बुबाको स्मृतिमा नेपालमा आफै मन्दिर निर्माण गर्नुका साथै नवलपरासीको गैंडाकोटमा रहेको कालिका मन्दिरको विकासमा पनि उल्लेख्य सहयोग गर्दै आएका छन् ।

ठूलो मनका धनी लामिछानेले कुराकानीका क्रममा आफ्नो व्यापारव्यवसायमा यसै गरी प्रगति हुँदै गए बेलायतमा एउटा हिन्दू मन्दिर आफ्नै लागतमा बनाउने रहर रहेको बताएका थिए ।
च्यारिटी डिनरबाट झन्डै ६० हजार पाउण्ड उठेको आयोजक कमिटीले बताएको छ । सहयोग संकलन अझै जारी छ ।