७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकाद्वारा बेलायतमाथि पनि यात्रा प्रतिबन्धको घोषणा

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७६, शनिबार २१:५७

वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाले युरोपको शक्तिशाली मुलुक बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मार्च १४ तारिक शनिवार, मध्यान्ह ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरे ।

उनले बेलायतका साथै आयरल्याण्डमाथि पनि यस्तो प्रतिबन्ध लगाइएको बताए । कोरोना भाइरसलाई अमेरिकामा फैलन नदिनका लागि सावधानी स्वरुप यस्तो प्रतिबन्ध घोषणा गरिएको हो । मार्च १६ तारिक सोमबारको मध्यरातिदेखि बेलायत र आयरल्याण्डमाथि लगाइएको यात्रा प्रतिबन्ध कार्यान्वयन गरिने घोषणा पनि पत्रकार सम्मेलनमा गरिएको थियो ।

यसअघि अमेरिकाले इटली लगायत अन्य सबै युरोपेली मुलुकमाथि यात्रा प्रतिबन्धको घोषणा गरी लागू पनि गरिसकेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा आयोजित सो पत्रकार सम्मेलनमा राष्ट्रपति स्वयंले आफ्नो कोरोना भाइरस परीक्षण सम्पन्न भएको जानकारी गराएका थिए । उनको परीक्षण शुक्रबार सांझ गरिएको थियो । परीक्षणको रिपोर्ट आउन २४ घण्टा कुर्नुपर्नेछ ।
फ्लोरिडास्थित उनको आफ्नै रिसोर्ट मार ए लागोमा भएको एउटा बैठकमा सहभागी ब्राजिलका व्यक्तिहरुमध्ये दुईजनामा कोरोना संक्रमण प्रमाणित भएपछि राष्ट्रपति ट्रम्पमा पनि संक्रमण हुन सक्नेबारे प्रश्नहरु उठाइएका थिए ।

यसैबीच न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार, अमेरिकाका ४९ वटा राज्यहरुमा यो भाइरस देखापरिसकेको र २१ सय व्यक्तिहरु संक्रमित भइसकेका छन् । सो रिपोर्टका अनुसार, वासिंगटन राज्य, न्यूयोर्क र पोर्टोरिकोमा गरी ४८ जना संक्रमित व्यक्तिहरुको मृत्यु भइसकेको छ । अमेरिकाका अधिकांश राज्यहरुमा विद्यालय र विश्वविद्यालयहरु बन्द भइसकेका छन् भने देशभर आपतकाल घोषणा गरिसकिएको छ ।