१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बागलुङमा एक बर्षभित्रै तामाखानी सञ्चालनमा आउने

sarusaru
३ चैत्र २०७६, सोमबार ०९:५६

बागलुङ – देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरी ठुल्ठुला ढुंगाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङहरु । आगोले पोलेको जस्तो धुँवाले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भैरहेको छ । पूर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक प्रबिधिको प्रयोग गरी बागलुङको तित्याङमा तामा उत्खनन्का लागि अध्ययनको काम तीव्र गतिमा चलिरहेको छ ।
स्थानीय बुढापाकाका अनुसार, तित्याङको खानीगाउँमा झण्डै दुईसय बर्ष पहिले तामाखानी सञ्चालनमा थियो । मल्लकालिन समयमा स्थानीय प्रबिधि प्रयोग गरेर हालको बागलुङ नगरपालिका–९ तित्याङ खानीगाउँका पाखोमा तामा निकालिएको थियो भन्छन् स्थानीय सन्तबहादुर जिसी । ‘उबेला हाम्रा जिजुबाजेले खानीबाट तामा निकाल्ने क्रममा मान्छे पुरिएपछि बन्द भएको भन्ने सुनिन्छ’ जिसीले भने ‘पछि तामा निकाल्दा बनेका सुरुङमा हैजा लागेका मान्छे राख्थे भन्नुहुथ्यो बा’ले ।’
चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले ४ महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको छ । चार महिना पहिले यहाँ आएका खानी बिज्ञहरुको समूहले सम्भावना औंल्याएपछि मेसिननै प्रयोग गरेर परीक्षणको काम धमाधम चलिरहेको छ । ‘यहाँ तामा ९० प्रतिशत छ भन्नेमा हामी पुग्यौ, के कति छ भन्ने निक्र्यौल गर्न मात्रै बाँकी हो’ शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले भने ‘तामासँगै हुने धातुहरुको अध्ययन पनि भैरहेको छ ।’
तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा २२ मिटर लामो र बाह्रमुरेमा ३२ मिटर लामो सुरुङ तयार भैसकेको छ । सुरुङमार्फत जमिनको भित्री भागको ढुंगामाटो संकलन गरी ल्याबमा परीक्षण गर्ने काम भैरहेको अधिकारीले बताए । ‘हामी अध्ययनमै छौं, अझै केही (सुरुङ) टनेल अघि बढाउनुपर्ने भूगर्भ शास्त्रीहरुले बताउनुभएको छ’ उनले भने ‘जमिनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, हामीले पहिलो चरणको ९० प्रतिशत काम सकेका छौं ।’ खानी बिभागले खटाएका भूगर्भ शास्त्री, इन्जीनियर, चीनबाट आएका अध्ययनकर्ता लगायतले यहाँको अवस्था बारेमा अध्ययन गरिरहेका छन् ।
तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ । ‘यहाँ प्लान्ट बस्छ, मात्रै कत्रो बनाउने भन्ने हो’ अधिकारी भन्छन् ‘वातावरणीय परीक्षण र बिस्तृत परियोजना प्रस्ताव लगायतका काम सकेर चार महिनाभित्रै हामी उत्खन्नको अनुमति लिनतर्फ लाग्छौं ।’ उनले कुनै अबरोधको सामना गर्नु नपरे आगामी एक बर्षभित्रै तित्याङमा खानी सञ्चालनमा आउने दाबी गरे । पहिलो चरणको परीक्षणमा मात्रै झण्डै चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जनाएको छ ।
‘यहाँ मात्रै होईन बागलुङका काठेखोला, गल्कोट, जैमिनी, म्याग्दीको ओखरबोट र गुल्मीका केही ठाउँमा समेत खानीको सम्भावना रहेकाले यहाँ सञ्चालनमा आउने प्लान्टबाटै तामा, चाँदी, सुन लगायतका धातु निकाल्न सकिन्छ’ अधिकारीले भने ‘यो नै नेपालमा पहिलो टनेल प्रबिधिको खानी हुने छ ।’ स्थानीय सरोकारवाला, स्थानीय, प्रदेश र केन्द्र सरकारले समेत खानी सञ्चालनमा चासो देखाएकाले सबै सँगको सहकार्यमा खानी सञ्चालनमा आउने उनले बताए ।
पुराना खानी र त्यहाँ देखिने धाउको संकेतका आधारमा बागलुङ नगरपालिकाले यहाँ खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी बिभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई बर्षपछि यहाँ अध्ययनको काम थालनी भएको छ । खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी बिभागलाई बुझाउने छ । खानी बिभाग, उद्योग मन्त्रालयलेप्रतिवेदनका आधारमा स्थलगत अध्ययन गरेपछि मात्रै उत्खनन्को अनुमति पाउने छ ।
यहाँ खानी सञ्चालनमा आए रोजगारीको सिर्जना र कर तथा रोयल्टीबापत आउने रकमले बिकास निर्माणमा समेत सहयोग पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने कुनैपनि काममा बाधा अबरोध नआउने बानपा–९ तित्याङका वडा अध्यक्ष गणेश थापाले बताए । खानीको परीक्षणमा देखिएको प्रगतिले स्थानीय उत्साहित भएका छन् ।
परीक्षण भैरहेका दुई खानीमा अहिले १६ जना स्थानीय कामदार, ४ जना कम्पनीका प्रतिनिधि, ५ जना चिनियाँ प्राबिधिक र ५ जना इन्जीनियर लगायतले काम गरिरहेका छन् । नेपाली सेना र नेपाल प्रहरीले अध्ययन स्थलमा सुरक्षाको लागि पहरा दिईरहेका छन्भने अध्ययन क्षेत्रका स्थानीयले सरोकार समिति बनाएर समन्वय गर्दै आएका छन् ।