१२ बैशाख २०८१, बुधबार
Follow Us

पत्रकार महासंघ युकेको ‘कोरोनाबाट आफु बचौं, अरुलाई पनि बचाऔं’ अभियान

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७६, सोमबार १९:२९

लण्डन । नेपाल पत्रकार महासंघ युकेले कोरोना भाइरसबाट टाढा रहन अपिल गरेको छ । संघले आइतवार कोरोना भाइरसबारे जानकारी मुलक सूचना जारी गर्दै
‘कोरोना भाइरसबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं’ अभियान शुरु गरेको हो ।

नेपाल पत्रकार महासंघ युके शाखाले एनएचएसद्वारा जारी सूचनालाई बेलायतमा कार्यरत नेपाली जनस्वास्थ्यविदहरुसंग समन्वय गरी सो जानकारी मुलक सूचना जारी गरेको हो ।

कोरोना भाइरसबारे जरूरी जानकारी: ‘कोरोना भाइरसबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं’

यदि कोरोना भाइरसको निम्न लक्षण देखिएमा घरमै ७ दिनसम्म बस्नुहोस्:

क) शरीरको तापक्रम बढी छाती वा ढाडमा तातो भएमा

ख) लगातार खोकी लागेमा

कृपया जीपी, औषधि पसल, अस्पतालमा नजानुहोस् ।

– तपाईले १११ मा फोन गरी आफू घरमै बसिरहेको जानकारी दिन जरुरी छैन ।

– यदि घरैमा बसिरहनुभएको छ भने कोरोना भाइरसको जाँच गरिरहनु आवश्यक छैन ।

तलको अवस्थामा मात्र १११ मा सम्पर्क गर्नुहोल:

क) घरमा बस्दा सहनै नसक्ने भएमा

ख) तपाईको अवस्था खराब हुँदै गएमा

ग) ७ दिनमै तपाईको अवस्थामा सुधार हुँदैन

१११ मा अनलाइनबाट सम्पर्क गर्न सकिने छ । यदि अनलाइनबाट सम्पर्क गर्न नसकिएको अवस्थामा मात्र फोन गर्नुहोला ।

कोरोना भाइरस कसरी फैलन्छ ?

यो नौलो स्वास्थ्य समस्या भएकोले एक व्यक्तिबाट अर्कोमा कसरी सर्छ भनेर ठ्याक्कै भन्न गाह्रो छ।

यस्तै अन्य भाइरसहरू खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने थोपा वा छिटाहरूबाट सर्दछन्।

यो अधिकांश मानिसहरूमा हातको सम्पर्कबाट सर्ने विश्वास गरिएको छ।

खानाबाट वा कुनै वस्तुको पोकाबाट सर्ने सम्भावनाचाहिं निकै कम छ।

कोरोना भाइरसबाट कसरी बच्ने र सर्न कसरी रोक्ने ?

-हातको सफाइ धेरै महत्वपूर्ण छ । साबुन पानीले २० सेकेन्डसम्म हात धुनुहोस्।

-घरमै हरेक काम गरिसके पछि वा बाहिर कामबाट घर फर्केपछि साबुन पानीले हात धुनुहोस्।

-यदि साबुन पानी पाइएन भने ह्यान्ड स्यानिटाइजर हातमा लगाउनुहोस्।

-खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाक टिस्यु पेपरले वा हात खुम्च्याएर ढाक्नुहोस् ।

-प्रयोग भएका टिस्यु पेपर फोहोर राख्ने भाँडामा हाल्नुहोस र तत्काल हात धुनुहोस् ।

• भेटघाटका लागि आएका साथीहरू वा आगन्तुकहरूलाई नमस्कार गरेर अभिवादन गर्नुहोस्।
• भेटघाटका लागि आएका साथीहरू वा आगन्तुकहरूलाई पनि घरमा आउना साथ हात धुन अनुरोध गर्नुहोस्।
• आफूलाई रूघाखोकी जस्ता लक्षण देखिएमा बढी सावधानी अपनाउनुहोस् ।
• यदि हात सफा छैन भने आँखा नाक र मुख नछुनुहोस्।
• तत्कालै हात धुने अवस्था छैन भने सार्वजनिक स्थानमा रहेका वस्तुलाई अनावश्यक छुने काम नगर्नुहोस्।
• भेटघाटका लागी आएका साथीहरू वा आगन्तुकहरूलाई हात मिलाएर वा शरीर जोडेर अभिवादन नगर्नुहोस्।
• अत्यावश्यक बाहेक अरू बेला धेरै मानिसहरू भेला हुने ठाउँमा नजानुहोस्।
• सन्चो नभएका अरु व्यक्तिसंग नजिक नहुनुहोस् ।


यात्रासम्बन्धि सुझाव

कतिपय मुलुकहरुमा जाँदा कोरोना भाइरस संक्रमण हुनसक्ने उच्च सम्भावना छ । यात्रा सम्बन्धि ताजा सूचना बेलायत सरकारले GOV.UK मा उपलब्ध गराउने गर्छ ।

कोरोना भाइरसको उपचार

कोरोना भाइरसको उपचार हालसम्म पत्ता लागिसकेको छैन ।

एन्टीबायोटिक्सले कोरोना भाइरसलाई निको पार्दैन ।

उपचारले तपाईको शरीरले भाइरससित लडुन्जेल बिसन्चोको लक्षणलाई कम गराउने कोसिस मात्र गर्छ ।

कोरोना भाइरसको लक्षण देखिएमा सन्चो नभएसम्म अरु व्यक्तिबाट अलग्गै बस्नुपर्छ ।

बालबालिका, वृद्धावस्था एवम् दम र दीर्घरोगीहरू जस्ता जोखिममा रहेका मानिसहरूका लागि सल्लाह

• उनीहरूका लागि चाहिने अत्यावश्यक सामग्रीहरू जोहो गरिराख्नुहोस्।

• दैनिक कृयाकलापमा अरूसँग यथेष्ठ दूरी कायम राख्नुहोस्।

• यदि सार्वजनिक ठाउँमा जानु पर्यो भने बिरामीहरुभन्दा परै रहनुहोस् वा उनीहरूसँगको सम्पर्क कम गर्नुहोस् र पटकपटक हात धुनुहोस्।

• यथासम्भव भीडभाडबाट टाढा रहनुहोस्।

• पानी जहाज र अत्यावश्यक नभई हवाइजहाजबाट गरिने यात्रा पनि नगर्नुहोस्।

• तपाईंको समुदायमा कोभिड नाइन्टीनको प्रकोप शुरूवात भएछ भने आफूलाई संक्रमणबाट जोगाउन भरसक घरमै बस्नुस्।

स्वास्थ्य सेवा सुविधाको प्रयोग

• उच्च जोखिममा भएका मानिसहरूलाई स्वास्थ्य सेवा सुविधा लिन कठिन हुनसक्छ।
• त्यस्ता आफै स्वास्थ्य स्याहार सेवा लिन नसक्ने मानिसहरूको लागि १११ मा सम्पर्क गर्न सहयोग पाएको पक्का गर्नुहोस्।
• समुदायमा धेरै मानिसहरू अर्काको सहयोगमा निर्भर हुन्छन् त्यसैले उनीहरूलाई सहयोग गर्नु धेरै महत्वपूर्ण हुन्छ ।
• उनीहरूलाई चाहिने औषधी जस्तै दमको लागी इन्हेलर, इन्सुलीन, औषधीका चक्कीहरू र अन्य सामान उनीहरूले सजिलै भेट्ने गरी राखिदियौं भने पनि ठूलो मद्दत हुन्छ ।
• खाद्यवस्तुहरू र अक्सिजन, दिसा पिसाबका लागी चाहिने वस्तुहरू, डायलाइसिस एवम् घाउको स्याहारका लागी चाहिने वस्तुहरूको आपूर्तिमा निगरानी गर्नुहोस्।
• धेरै पटक पसल जानु नपरोस भनेर नबिग्रने अनि धेरै प्रयोग हुने खालका सामानहरू बन्दोवस्त गरिराख्नुहोस् ।
• यदि तपाईं केयर होममा हुनुहुन्छ भने अन्य साथीहरूको स्वास्थ्य अवस्था के कस्तो छ भनेर सोध्ने गर्नुहोस् र स्वास्थ्यकर्मीहरूलाई चनाखो बनाई राख्नुहोस्।
• जी.पी. वा १११ मा सम्पर्क गर्न नसक्ने मानिसहरूलाई उनीहरूको लागी नेपाली र अङ्ग्रेजीमा प्रष्ट पार्ने गरी कुराकानी गर्न पनि मद्दत गर्नुहोस् ।
नेपाली समुदायले एकआपसमा कसरी मद्दत गर्न सक्छन् ?

• चर्पी वा दिसापिसाब गर्ने ठाउँ नजिकै साबुनसहित हात धुने र सुकाउने व्यवस्था गरेर।
• घरमा, विद्यालयमा र भीडभाड हुने स्थानहरू जस्तैः पूजा आराधना गर्ने स्थानहरू, रेल र बस स्टेशनहरूमा साबुन, ह्याण्ड स्यानिटाइजर र हात पुछ्ने कागत टावेलहरूको सहजै पाउने व्यवस्था गरेर।
• विभिन्न वर्ग र समूहका मानिसहरूका लागि प्रष्ट बुझिने र काम लाग्ने सूचना प्रवाहको व्यवस्था गरेर।
सामाजिक संजालको परिचालन

• छोटो र मिठो किसिमले तयार पारिएका सूचना एवम् जानकारीहरू तथा चरणबद्ध देखिनेगरी सचित्र वर्णन गरिएका सूचनाहरू प्रवाह गरेर ।
• उपयुक्त खालका चित्र एवम् प्रष्ट नेपाली भाषामा तयार पारेर
• प्रवासी नेपालीहरूमाझ फेसबुक धेरै प्रयोग गरिने सामाजिक संजाल भएकोले यसमा उपयुक्त हुने गरी जानकारी प्रवाह गरेर ।
‘छुट्टै’ (आइसोलेसनमा) कसरी बस्ने ?

कोरोना भाइरसलाई फैलन नदिन ‘छुट्टै’ (आइसोलेसनमा) बस्नु अति नै महत्वपूर्ण छ ।

अलग्गै बस्दा अरुभन्दा कम्तीमा २ मिटर टाढा बस्नुहोस् । खासगरी वृद्धावस्थाका जो पहिल्यैदेखि रोगी हुनुहुन्छ उहाँहरुबाट टाढै रहनुहोस् ।

साथीभाइ र परिवारका सदस्यहरुलाई खाना, किनमेल, औषधि लगायतका सामान ल्याइदिन भन्नुहोस्, तर उनीहरुसित सम्पर्क नगर्नुहोस् ।

सकेसम्म एक्लै सुत्नुहोस् ।

नियमितरुपमा साबुन र तातोपानीले कम्तीमा २० सेकेण्डसम्म हात धुनुहोस् ।

पहिल्यैदेखि अस्वस्थ अवस्थाका पाकाहरुसित सकेसम्म टाढा रहनुहोस् ।

प्रशस्त पानी पिउनुहोस्, दुखाइ कम गर्ने पारासिटामोल, आइब्युप्रफिन जस्ता औषधि दिनहुँ लिनुहोस् ।

कसैलाई नभेट्नोस् । सामान ल्याइदिनेलाई ढोकाबाहिरै सामान छोड्न भन्नुहोस् ।

घरबाट बाहिर ननिस्कनुहोस् । हिँडन वा स्कुल वा सार्वजनिक स्थानमा नजानुहोस् ।