१५ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना भाइरस संक्रमित र मृतकको संख्या चीनभन्दा बाहिर धेरै

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७६, मंगलवार ०४:२९

लन्डन । कोरोना भाइरसको संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या चीनभित्रभन्दा बाहिर धेरै पुगेको छ । पछिल्लो समय चीनबाहिर संक्रमितको संख्या झण्डै एक लाख पुगेको छ । चीनभित्र भने यो संख्या करिब ८१ हजार रहेको छ ।

संक्रमणबाट हालसम्म संसारभर भने ७ हजार १ सय ५८ को मृत्यु भइसकेको छ । तिमध्ये ३ हजार २ सय १६ चीनमा रहेका छन् । महिनौँ लामो कडा क्वारेन्टाइनजस्ता प्रावधानका कारण केही समययता चीनभित्र नयाँ संक्रमण एवं मृत्युको संख्या घट्दो छ । तर अन्यत्र भने यो निरन्तर बढिरहेको छ ।

अमेरिकामा न्यूयोर्क र लस एन्जलसले रेस्टुरेन्ट, बार तथा क्याफे बन्द गर्न आह्वान गरिएको छ । न्यूयोर्कमा स्कुल बन्द गरिएका छन् । युरोपभरि सङ्क्रमण रोक्न झनझन् कडा नियम ल्याइएका छन् । ईयूले सबै सदस्य देशहरुमा नाका बन्द गर्ने घोषणा गरेको छ ।

बेलायतमा सबैलाई सामाजिक जीवनबाट टाढा बस्न भनिएको छ भने फ्रान्सले पनि सबैलाई घरमै बस्न र पारिवारिक जमघट समेत नगर्न भनेको छ । जर्मनीले पसल तथा सामाजिक ठाउँहरु बन्द गराएको छ । फ्रान्सको स्वास्थ्य सेवाका प्रमुखले स्थिति तीव्र गतिमा विग्रिरहेको बताएका छन् ।

जर्मनीले फ्रान्स, अस्ट्रिया, डेनमार्क, स्वीट्जरल्यान्ड र लक्जेम्बर्गसँगको उसको सिमाना आफ्नै देशका फर्किरहेका नागरिक तथा व्यापारीक सवारीसाधनका अतिरिक्त अन्य सबैका निम्ति बन्द गरिदिएको छ ।

इटलीको प्रधानमन्त्री जुजेपे कोन्टेले आफ्नो देश प्रकोपको सबभन्दा खतरनाक साताहरूमा प्रवेश गर्दै गरेको बताएका छन् । इटलीमा सङ्क्रमितको सङ्ख्या झन्डै २७ हजार हजार अनि मृतकको संख्या २ हजार १ सय ५८ पुगेको छ । प्रधानमन्त्री जुजेपेले विस्तृत पुनर्निर्माणको योजना आवश्यक भएको बताएका छन् । हालसम्म विश्वभरिको १४८ देशमा यो सङ्क्रमण फैलिसकेको छ ।