१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकामा संकटकाल लम्बिने

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७६, मंगलवार ०४:३२

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण लागू भएको आपतकालीन अवस्था लम्बिने बताएका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले ग्रिष्म ऋतुको अन्त्यसम्म वा त्यो भन्दा पछि पनि आपतकालीन अवस्था रहनसक्ने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकासहित विश्वका अधिकांश देशले अहिले अति नै संक्रामक अदृश्य शत्रुको सामना गरिरहेको बताए । उनले अमेरिकीहरुलाई सार्वजनिक कार्यक्रम वा भेलाहरुमा सहभागी हुनबाट थप बन्देज गर्न आग्रह पनि गरेका छन् ।

१५ दिनसम्म १० जना भन्दा बढीको समूहमा उपस्थित नहुन तथा बार, रेस्टुरेन्ट, खाद्य स्टल, जिम तथा अरु भिडभाडका स्थानहरुमा नजान उनले अनुरोध गरेका हुन् । पाको उमेरका व्यक्तिले घरबाटै काम गर्नु पर्ने तथा स्कूलका गतिविधिहरु पनि घरबाटै हुनुपर्ने ट्रम्पको भनाइ छ ।

अमेरिकामा अहिलेसम्म चार हजार ७ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म अमेरिकामा ९१ जनाको मृत्यु भएको छ ।