२६ बैशाख २०८१, बुधबार
Follow Us

कोरोनाविरुद्ध लड्न विश्व बैंकले १६ खर्ब ६६ अर्ब रुपैयाँ खर्च गर्ने

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७६, बुधबार ०४:२८

जेनेभा । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ । बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो ।

अब बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर अर्थात १६ खर्ब ६६ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले दु्रत गतिमा प्रवाह हुनेगरी नयाँ सहायताको राशी घोषणा गरिएको विश्व बैंकले जनाएको छ ।

यो सहायता परिचानमार्फत कोरोना रोकथाम, पहिचान र नियन्त्रणका लागि आवश्यक कदम चालिनेछ । प्रभावित मुलुकहरुको सार्वजनिक स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गरिने विश्व बैंकले जानकारी दिएको छ ।

यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर अर्थात ९ खर्ब ५२ अर्ब रुपैयाँ सहायता रकम घोषणा गरेको थियो । यसअघिको सहायता रकममा ६ अर्ब अर्थात ७ खर्ब १४ अर्ब रुपैयाँ सहायता प्याकेज ल्याएको थियो ।

महामारी फैलँदै गएपछि बैंकअन्तर्गतको आइएफसीले सहायता रकम बृद्धि गरेको हो । आइएफसी फाइनान्सिङको पछिल्लो एकमुष्ठ रकम वित्तीय संस्थाहरुलाई व्यापार लगानी, पूँजीगत सहायता र मध्यकालिन वित्तीय पक्षपोषण खर्च गरिनेछ ।