१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गाँउसेवा परिवारद्वारा स्याङ्जामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७६, बुधबार ०५:३६

स्याङ्जा जिल्लाको कालीगण्डकी गाँउपालिका -१ चण्डीभन्ज्याङमा यहि चैत्र १ गतेका दिन एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाँउसेवा परिवार वीरघा स्याङ्जाको आयोजना तथा वीपी स्मृति अस्पताल बसुन्धरा काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । जसमा ४ सय २६ जना बिरामीले लिए लाभ लिएका छन् ।

शिविरमा बाल स्वास्थ्य, जनरल मेडिसिन, छातीरोग, मुटु, युरोलोजी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, मुख तथा दन्त स्वास्थ्य, आँखा, छाला, पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका सेवाहरु दिईएको थियो । त्यसैगरी, शिविरमा भिडियो एक्सरे सेवा, सुगर तथा पिसाव जाँचको व्यवस्था समेत गरिएको थियो ।शिविरका लागि १९ जना चिकित्सक र नर्स, प्यारामेडिक्स तथा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका २१ जना गरि जम्मा ४० जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

परिक्षण गर्न आएकाहरुलाई आवश्यकता अनुसार निशुल्क औषधि वितरण समेत गरिएको थियो । परीक्षणका क्रममा गाँउमा मधुमेह, उच्च रक्तचाप साथै पाठेघर खसेका विरामीहरुको संख्या धेरै नै देखिएको थियो । यस्तै मुख तथा दन्त स्वास्थ्य सम्वन्धी समस्या भएका, छालारोग सम्वन्धी समस्या भएका विरामीको सख्या समेत धेरै थियो ।

यो शिविरले गाँउमा सेवा त भयो नै, कतिपय व्यक्तिमा रोग र त्यसविरुद्ध सचेतना जागरुक समेत गराएको छ । सोहि कार्यक्रमको अवसर पारेर गाँउसेवा परिवार वीरघाले आफ्नो पहलमा भारतीय दुतावासबाट प्राप्त एम्बुलेन्स वीरघा स्वास्थ्य चौकीलाई हस्तान्तरण समेत गरेको छ । गाँउपालिका अध्यक्ष खिमबहादुर थापा, वीरघा स्वास्थ्य चौकीका अध्यक्ष चक्रपाणी पाण्डे र स्वास्थ्यचौकी प्रमुख एकबहादुर थापालाई गाउँसेवा परिवारले साँचो हस्तान्तरण गरेको थियो ।

आज भन्दा करिव ३८ वर्ष अघि स्याङ्गजा बीरघाबाट काठमाडौँ कर्मथलो बनाउन बाध्य बीरघाका दाजुभाइ एवम् दिदीबहिनीहरूले हप्ता, महिना दिनमा एकैठाउँ भेला भएर चिया पिउने, भलाकुसारी गर्ने र आफ्नो जन्मस्थानको यादमा रमाउने अनि जन्मस्थानको समाजसेवामा केहि भएपनि योगदान गर्ने भन्ने उद्धेश्यले १-१ रुपियाँ अर्थ संकलन गरेर स्थापित भएको यो संस्थाले आजको दिनसम्म धेरै सामाजिक सेवा प्रदान गर्न सफल भएको कुरा संस्थाकी उपाध्यक्ष डा. नम्रता पाण्डेले बताउनुभयो । स्याङ्गजाका विभिन्न विद्यालयमा गरिव तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृति प्रदान गर्ने देखि लिएर निशुल्क स्वास्थ्य शिविर, बाटोघाटो निर्माण, खानेपानी लगायतका विधामा वर्षेनी यथासक्य सहयोग गर्दै आइरहेको छ गाउँसेवा परिवारले ।

– डा. नम्रता पाण्डे (उपाध्यक्ष: गाँउसेवा परिवार स्याङ्जा)