१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा स्वयंसेवी अभियान भूतपूर्व गोर्खा सैनिक

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७६, बुधबार १३:४०

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारको बाक्लो बसोबास रहेको अल्डरशट, फार्नबरो क्षेत्रमा खासगरी वृद्धवृद्धालाई मद्दत गर्न स्वयंसेवा शुरु गरिएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न बेलायती सरकारले जनतालाई भीडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसँग सम्बद्ध पदाधिकारीले त्यस्तो पहल शुरु गरेका हुन् ।

कोरोनाबाट आफू बच्न र अरुलाई बचाउन खासगरी वृद्धवृद्धालाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयंसेवी अभियान शुरु गरिएको समाजसेवी विक्रम भट्टराईले बताउनुभयो । उक्त समूहले यदि कोही क्वारन्टाइनमा भए र घरमा सामान सकिएको छ भने किनमेल गरेर ढोकामा राखिदिने, तिनलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिइरहने र आवश्यक साधारण औषधि किनेर ढोकामा राखिदिनेलगायत सहयोग गर्ने गरेको छ । समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयंसेवीको सङ्ख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्लीलगायत क्षेत्रमा पनि सेवा विस्तार गरिने जनाइएको छ ।

स्वयंसेवी भीम बानियाँले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको बताउनुभयो । “ १११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ ”, उहाँको तर्क छ । समूहमा महिला स्वयंसेवीको पनि सक्रिय सहभागिता छ ।