१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा जाने कुन कुन उडान रोकियो ?

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७६, बुधबार २१:५९

लन्डन । सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै नेपालमा उडान गर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने भएको छ ।

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएपछि उडान रोकिन लागेको हो ।

आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै मध्यपूर्वका एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको हो ।

युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ ।

त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् ।

सरकारको निर्णयले भारत, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट नेपाल आउने तथा नेपालबाट यी मुलुक जाने एयरलाइन्सलाई रोकेको छैन । अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा रहेका नेपाली राहदानीवाहकले यी मुलुक हुँदै काठमाडौं आउन सक्नेछन् । हाल भारतबाट इन्डिगो, एयर इन्डिया र भिस्तारा एयरलाइन्सले काठमाडौंका लागि उडान गर्दै आएका छन् भने बंगलादेशबाट विमान बंगलादेश, थाइल्यान्डबाट थाई एयर र थाई लायन एयरले उडान गर्दै आएका छन् ।

हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल बिहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

समितिले पश्चिम एसियाअन्तर्गत खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।