१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्भया बलात्कार काण्ड : चारै जना दोषीलाई फाँसी दिइयो

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०७६, शुक्रबार ०५:०६

नयाँ दिल्ली । निर्भया बलात्कारकाण्डका चार जना दोषीलाई आज बिहान भारतले फाँसी दिएको छ । भारतीय समय अनुसार आज बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन् ।

बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए । निर्भया बलात्कारका दोषीलाई फाँसी दिइएपछि निर्भयाकी आमा आशादेवीले न्याय मिलेको बताएकी छिन् ।

फाँसीको सजाय दिने वित्तिकै आशादेवीले सञ्चारमाध्यमसँग छोरीप्रति गर्व गर्ने बताइन् ।२०१२ डिसेम्बरमा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए । ती युवतीमाथि रडले आक्रमण गर्दै बलात्कार गरेका थिए ।

घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो । निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो ।

नयाँदिल्लीको सडकमा राज्य सरकार र केन्द्र सरकारको विरोधमा हजारौं मान्छे सडकमा उत्रिएका थिए । भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो ।