६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युकेले बोलायो आकस्मिक बैठक

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७६, शुक्रबार १९:४४


पूर्व गोर्खासहितका ज्येष्ठ नागरिक, विधार्थीलाई सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कोरोना भाइरसको कारण उत्पन्न भएको अफ्टेरो परिस्थितिमा समस्यामा पर्ने बेलायतका नेपालीलाई सहयोग गर्ने विषयमा छलफल गर्न कार्यसमितिको आकस्मिक बैठक गर्ने तयारी गरेको छ ।

शनिबार बस्ने उक्त बैठकपछि समस्यामा पर्ने नेपालीको सहयोगका लागि विभिन्न जानकारी सार्वजनिक गरिने संघले जनाएको छ । एनआरएनए यूकेले अहिलेको अवस्थामा यहाँस्थित पूर्व गोर्खासहितका ज्येष्ठ नागरिक, विधार्थी लगायतलाई पर्न सक्ने समस्यामा सहयोग गर्ने बताइएको छ ।

यसअघि एनआरएनए यूकेले यस अवस्थामा बेलायतका नेपालीलाई आउन सक्ने समस्यामा आआफ्नो तहबाट यथासक्य सहयोग गर्न बेलायतका विभिन्न संघसंस्था र सिंगो समुदायलाई पनि आव्हान गरेको छ ।

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले शुक्रबार एक वक्तव्य जारी गर्दै एनआरएनए यूकेको तर्फबाट आवश्यक सहयोग कार्यको संयोजन गर्ने जिम्मा कार्यसमिती सदस्य डा सुनिल शाहलाई दिइएको जानकारी गराएका छन् ।

बेलायतमा समस्यामा परेका सबै नेपालीहरुलाई एनआरएनए यूकेलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

हेरौ पूरा वक्तव्य

मिती: २० मार्च २०२०

हार्दिक अपिल

आदरणीय बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ,
अहिले संसारभर महामारीको रुपमा त्रास फैलाइरहेको कोरोना भाइरसको संक्रमण विगत कही दिन देखी बेलायतमा पनि द्रुत गतिमा बढ्दै गईरहेको छ । यसबाट हाम्रो दैनिक जन जीवन त प्रभावित भएको छ नै , प्रमुख रुपमा कसरी यो संक्रमण बाट आफु स्वयं सुरक्षित रहने र अरुलाई पनि सुरक्षित हुन् सहयोग गर्ने भन्ने जिम्मेवारी हामीमा छ ।

बिभिन्न तथ्य हरुलाई विश्लेषण गरेर हेर्दा बेलायतमा बस्ने नेपाली समुदाय कोरोना संक्रमणको उच्च जोखिममा रहेको बुझ्न सकिन्छ । विशेषत पेन्सनर वृद्द वृद्दा हरुमा एकातिर यस सम्बन्धि चेतनाको अभाव रहेको छ भने अर्कोतिर आइसोलेसनमा रहदा दैनिक उपभोग्य सामाग्रीको अभाव तथा स्वास्थ्य सेवाको पहुचमा समेत समस्या हुने देखिएको छ । त्यसैगरी बेलायतमा अध्ययनरत विद्यार्थीहरु समेत आर्थिक लगायतका अप्ठ्यारोमा परेका रिपोर्टहरु प्राप्त भएका छन ।

गैर आवासीय नेपाली संघ बेलायतले वर्तमान अवस्थाको नजिकबाट अवलोकन गर्दै कोभिड १९ को लागी कार्यसमिती सदस्य तथा एन आर एन यूके हेल्थ विभाग संयोजक डाक्टर सुनिल शाह लाई सम्पर्क व्यक्ति तथा संयोजनको जिम्मेवारी दिईएको जानकारी गराउन चाहन्छौ । छिटै एरियागत तथा समुहगत जिम्मेवारीमा समेत कार्यसमितीका पदाधिकारी तथा सदस्य लगायतलाई खटाउने गरी तयारी भईरहेको जानकारी गराउन चाहन्छौ । साथै बेलायतमा क्रियाशील सबै नेपाली संघ संस्था तथा नागरिक स्तरमा समेत आवश्यक समन्वय र संयोजन गर्ने हाम्रो तत्परता र प्रतिवद्दता समेत व्यक्त गर्दछौ ।

यो कठिन समयमा आफ्नो स्वास्थ्यको ख्याल राख्दै अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नु हाम्रो कर्तब्य हो ।

चिन्ता र छटपटी भन्दा पनि धैर्यता पूर्वक समस्याहरुको एकल तथा सामुहिक समाधान खोज्नु वर्तमानको अवाश्यकता हो । यसर्थ सबैले आ आफ्नो व्यक्तिगत तथा सामुदायिक तहबाट यथाशक्य सहयोगको हात फैलाउन हामी हार्दिक अनुरोध गर्दछौ ।

बेलायतमा क्रियाशील सम्पूर्ण संघ संस्थाहरुको काधमा अहिले ठुलो जिम्मेवारी आइपरेको छ । समाजमा रहेका वृद्द वृद्दा , असहाय र अशक्तहरुको सहयोगमा स्थानीय स्तरको टोल छिमेकबाटै स्वयंसेवीहरु परिचालन गर्दै सेवामा उत्रिन हामी हार्दिक अपिल गर्दछौ । अहिलेको परिप्रेक्षमा यो नै सबैभन्दा प्रभावकारी उपाए देखिएको छ । कतिपय अवस्थामा सामुदायिक संस्थाहरुले आफ्नो स्थानीय तहबाट यो पहल सराहनीय रुपमा शुरु पनि गरिसक्नु भएको छ । हामी बेलायतका हरेक शहरमा रहेका सामजिक संस्थाहरुलाई यो कार्यको अनुशरण गर्न हार्दिक अनुरोध गर्दछौ ।

अत्यावश्यक काम बाहेक सकेसम्म बाहिर नजान तथा राष्ट्रिय स्वास्थ्य निकाय एबं सरकारले जारी गरेका सबै निर्देशनहरु पूर्ण रुपमा पालना गर्न हुन हामी सादर अनुरोध गर्दछौ । त्यसैगरी आफ्नो व्यक्तिगत स्वच्छताका सबै उपायहरु अनिवार्य अवलम्बन गर्नु हुन समेत गैर आवासीय नेपाली संघ बेलायत सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।

कोरोना संक्रमण भएका अथवा आइसोलेसनमा बसेकाहरु संग फोनको माध्यमबाट सम्पर्कमा रहन र प्रत्यक्ष भेटघाट नगर्न तथा सरकारी नियम तथा गाईडलाई लाई पूर्णतया पालना गर्नु हुन समेत अनुरोध गर्दछौ । कोरना संक्रमणबाट आफु पनि बचौं अरुलाई पनि बचाउँ ।

पुनम गुरुङ, अध्यक्ष

फडिन्द्र भट्टराई, महासचिव