१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आफू पनि घरबाहिर ननिस्कनु, अरुलाई पनि घरमा आउन नदिनु’

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७६, मंगलवार १८:४३

कोरोना भाइरसका कारण अहिले विश्व त्रस्त छ । बेलायतमा मात्र यो पंक्ति तयार पारिरहँदा सो भाइरसका कारण ३३५ जनाको ज्यान गइसकेको छ भने ६ हजार ६५० मा सो भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म यो भाइरसको उपचार पत्ता लागेको छैन तर यो रोग लाग्न नदिन विभिन्न उपायहरु चिकित्सक, वैज्ञानिक र सरकारले जारी गरेका छन् । ती उपायहरु र नेपालीहरुले कसरी सजगता अपनाउने सम्बन्धमा बेलायतको लिभरपूलमा कार्यरत जनरल प्राक्टिसनर (जीपी) तथा नेप्लिज डक्टर्स एसोसियशन युकेका सदस्य डा. मनोहर बुढाथोकीसंग नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगीले गरेको कुराकानी:

कोरोनाबाट बच्न आइसोलेसन नै किन ?

बेलायत सरकारले हालसम्ममा दुई खालको रणनीति अघि सारेको देखिन्छ । एउटा ‘सिल्डिङ’ र अर्को चाहिँ ‘आइसोलेसन’ । सिल्डिङअन्तर्गत सरकारले करिब १३÷१४ लाख अति जोखिममा रहेका नागरिकहरुलाई टेक्स्ट र पत्रमार्फत घरबाट बाहिर ननिस्कन अनुरोध गर्दैछ । शरीरका विभिन्न अंग प्रत्यारोपण गरेका, दमका बिरामी, क्यान्सरका बिरामी आदि यसमा पर्दछन् । रोगसँग लड्ने क्षमता कम भएकाहरुलाई बचाउनु गाह्रो पर्ने भएकाले सरकारले उनीहरुलाई बाहिरका र आफ्नै घरमा अन्य सदस्यहरुसँग समेत सचेत रहन दुई दिनअघि यो रणनीति ल्याएको हो ।
अर्कोतर्फ, आइसोलेसनको नीति छ । लगातार खोकी लागेमा, आधा दिनसम्म खोकी लागेमा, नयाँ खोकी लागेमा, ३७.८ डिग्री सेल्सियसभन्दा माथि ज्वरो आएमा त्यस्ता व्यक्तिले एक्लै भए सात दिन र परिवारसहित भए १४ दिन आइसोलेसनमा बस्नुपर्दछ । खासगरी कोरोना भाइरसको व्यापक रुपमा परीक्षण गर्न सरकारसित सामथ्र्य नभएकाले तथा रुघाखोकी र कोरोनाको संकेत उस्तै उस्तै हुने भएकाले अरुलाई नसार्न आइसोलेसनमा राखिएको हो ।

कतिपय नेपालीहरुमा आइसोलेसनमा बस्दा हीनताबोध भएको पनि देखिन्छ । त्यस्तो मान्नु पर्छ र ?
आइसोलेसनमा बस्दा हीनताबोध, लघुताभाष मान्नु जरुरी छैन । आइसोलेसनमा भनेको आफू पनि बच्नु र परिवारलाई पनि बचाउनु हो । अहिले ज्यान बचाउने बेला हो । यदि एक÷दुई हप्ता आइसोलेसनमा बस्दा ज्यान बच्न सक्छ भने किन संकोच मान्ने ? यो भाइरसबाट के वृद्ध के जवान सबैलाई असर परिरहेको छ । बयोवृद्धहरुलाई धेरै नै प्रभाव परेको छ तर भर्खरका युवाहरु पनि अहिले गम्भीर अवस्थामा आइसियुमा उपचाररत छन् । सबैलाई थाहा भएकै कुरा हो यो रोगको उपचार अहिलेसम्म पत्ता लागिसकेको छैन । त्यसैले समाजमा यो भाइरस फैलन नदिन त रोग लाग्नै नदिनु पर्यो नि । अस्पतालले थेग्न सके बाँच्न सकिएला तर सबैलाई एकैपटक च्याप्यो भने अस्पतालमा पनि भर्ना नपाइन सक्छ । त्यसैले समयमै सचेत बनौँ र असजिलो नमानी आइसोसेलनमा बसौँ । अर्कोतर्फ कतिपय नेपालीमा सरकार र स्वास्थ्यकर्मीले दिएको सुझाव अटेर गरी ‘मदर्स डे’मा वृद्धावस्थाका आमासित भेटेको पनि पाइयो ।
त्यो गलत हो । आफू र आफन्त दुवैको लागि यस्ता कार्य ठीक होइनन् ।

आइसोलेसनमा बसेकाहरुमा पोजिटिभ देखिने दर कस्तो छ ?
राज्यको कमजोरी भन्नुपर्ला अहिले खटिएका चिकित्सक, नर्सहरुलाई खोकी लाग्दा समेत परीक्षण गर्न सकिएको छैन । गम्भीर अवस्थाका र अस्पतालमा भर्ना भएका बिरामी बाहेकलाई अहिले पनि कोरोना भाइरसको परीक्षण गरिएको छैन । यदि तपाई दुर्घटना तथा आकस्मिक (एएण्डई) कक्षमा जानुभयो तर श्वास फेर्न गाह्रो भएको छैन भने तपाईलाई परीक्षण नगरी घर पठाइदिन्छ । अहिले कोरोनाको परीक्षण किट र ल्याव दुवै विधिबाट गरिँदै छ । कतिपयमा कोरोना भएर पनि नदेखिने पनि हुनसक्छ । परीक्षणले शतप्रतिशत सबै ठीक देखाउँछ भन्ने पनि हुँदैन तर बुझ्नपर्ने कुरा के हो भने हामी सबैले आफूमा कोरोना छ भन्ने सम्झिनुपर्यो र आफूलाई मात्र बचाउने होइन अरुलाई पनि नसार्ने विधि अपाउनुपर्यो ।

परीक्षणमा पोजिटिभ देखिँदैमा आत्तिनुपर्ने अवस्था छ कि छैन ?

आत्तिनु पर्दैन किनभने यस भाइरसबाट हुने मृत्युदर १ देखि २ प्रतिशत मात्र होला भन्ने आँकलन छ । बाँकी ९८ प्रतिशत मानिस ठीक भएर घर फर्कने गरेका छन् । कोरोना भएका धेरै मानिसहरु त बाहिरै हिँडिरहेका छन् । उनीहरुलाई त परीक्षण गरिएकै छैन । परीक्षण भएकामध्ये पनि १०÷१५ प्रतिशत अस्पताल भर्ना भएका छन् । त्यसमा पनि ५÷७ प्रतिशत आइसियुमा उपचाररत छन् ।

अन्त्यमा युकेमा बसोबासरत नेपालीहरुलाई केही भन्नु चाहनुहुन्छ कि ?
सरकार र स्वास्थ्यकर्मीहरुले दिएको सुझाव मानिदिनुपर्यो । घरबाहिरका मानिसहरुसितको सम्पर्क घटाउनु पर्यो । बरु झ्यालबाटै कुराकानी गर्नुहोस् तर आफ्नो घर बाहिरका मानिसहरु आफन्त नै भए पनि घर आउन नदिनुहोस् । यो भाइरस मानिसबाट सर्ने भएकाले अरु मानिसहरुसित सम्पर्क नै नभए पनि धेरै हदसम्म सुरक्षित रहन सकिन्छ । हाम्रो समुदायमा धेरै वृद्धवृद्धा हुनुहुन्छ । कृपया घरबाट बाहिर कसैगरी ननिस्कनुहोला । खाना ल्याइदिने वा किनमेल गरेर ल्याइदिनेले पनि ढोकामै छोडिदिनुहोला । समाजबाट अलग रहने विधि (सोसल आइसोलेसन) कोरोना भाइरसबाट बच्न प्रभावकारी छ । कृपया अटेर नगरी पालना गर्नुभयो भने यो भाइरसबाट आफू पनि र अरुलाई पनि बचाउन सकिन्छ ।
(यो सामग्री कोरोना भाइरसबाट युकेमा रहेका नेपाली समुदायलाई सूचित र सचेत बनाउन नेपाल पत्रकार महासंघले चलाएको अभियान अन्तर्गत तयार पारिएको हो ।)