१३ बैशाख २०८१, बिहीबार
Follow Us

सहयोगका नाममा सस्तो लोकप्रियता नखोजौं : राजदूत डा सुवेदी

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७६, बुधबार २२:४३

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कोरोना भाइरसका कारण उत्पन्न विपतका बेला सहयोगको नाममा सस्तो लोकप्रियताको खेती नगर्न आव्हान गरेका छन् । बेलायतमा रहेका नेपाली विद्यार्थीहरु समस्यामा परेको भन्ने प्रसंगमा उनले समस्याको सम्बोधन गम्भीर र संवेदनशिल ढंगबाट हुनुपर्ने बताए ।

कोरोना संकटबाट समस्यामा पर्न सक्ने नेपाली समुदायलाई सहयोग गर्ने विषयमा एनआरएनए यूकेका पदाधिकारीहरुसंगको छलफलमा राजदूत सुवेदीले भने, ‘मैले खाना दिन्छु, मेरोमा एउटा कोठा छ भन्ने जस्तो सस्तो र हलुका ढंगले लोकप्रियता कमाउने चेष्टा नगरौं ।’

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरु समस्यामा पर्न सक्ने विषयलाई दूतावासले पनि गम्भीर ढंगबाट लिने राजदूत सुवेदीको भनाइ छ । ‘बेलायतमा नेपाल सरकारको प्रतिनिधिका रुपमा हाम्रो दूतावास छ । सरकारबाट मान्यताप्राप्त एनआरएनए छ । समुदायमा अरु धेरै संघसंस्थाहरु पनि छन् । त्यसैले हाम्रा नेपाली दाजुभाई, दिदीबहिनीलाई आइपर्ने समस्या सामना गर्न हामी सक्षम छौं’, राजदूतले भने ।

अहिलेसम्म कुनै पनि नेपाली विद्यार्थी समस्यामा पर्यौं भनेर दूतावासको सम्पर्कमा नआएको जानकारी दिंदै उनले समस्यामा पर्नेहरुलाई दूतावासको नम्बरमा सिधै सम्पर्क राख्न आग्रह गरे ।

भर्खर सुरु हुंदै गरेको यो संकट बढ्दै गएर झन विकराल बन्ने निश्चित रहेको बताउँदै राजदूत डा सुवेदीले भविष्यमा आउने जोखिमको सामना कसरी गर्ने भनेर अहिले नै तयारी थाल्नुपर्ने धारणा राखे ।

बेलायतमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने कुनै पनि सेवा र सहयोगका लागि दूतावास नियमित खुला रहेको उनले बताए । हामी सधैजस्तै खुला छौं । शनिबार , आइतबार पनि टेलिफोन सम्पर्कमै रहन्छौं । हरेक दिन राती ११ बजेसम्म हामी टेलिफोन उठाउँछौं । विपतको बेला हरेक नेपालीलाई आवश्यक सहयोग प्रदान गर्न दूतावास पूरै समर्पित छ, उनले भने ।

छुट्टीमा नेपाल गएका भूपू गोर्खाहरुको पेन्सन क्रेडिटका विषयमा आउन सक्ने समस्याबारे दूतावासले बेलायतको सरकारसंग कुटनीतिक तवरले छलफल गरिरहेको राजदूतको भनाइ छ, ‘यहाँको रक्षा मन्त्रालयबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ । विहिबार मेरो राज्यमन्त्रीसंग सिधा कुरा हुँदैछ । समस्याको समाधान निस्किन्छ । सबै जनालाई ढुक्क रहनुहुन म आग्रह गर्दछु ।’

विपतको घडीमा एकअर्कालाई सहयोग गर्नु सबैको कर्तव्य रहने भन्दै उनले यहाँस्थित सम्पुर्ण नेपाली संघसंस्था र सिंगो समुदायलाई एकबद्ध भएर सहयोगमा जुट्न आव्हान गरेका छन् । उनले कोराना संकटका कारण प्रभावित नेपालीहरुको सहयोगका लागि एनआरएन यूकेले हेल्पलाइन नै स्थापना गरेर सहयोग अभियान सुरु गरेकोमा प्रशंसा समेत गरेका थिए ।

सोहि छलफलमा प्राध्यापक डा पदम सिम्खडाले पनि विद्यार्थीहरुको अहिलेको समस्या सामाजिक सञ्जालमा अतिरञ्जित गरिएजस्तै ठूलो भइनसकेको बताएका थिए । ‘हरेक युनिभर्सिटीले अहिले आफ्ना विद्यार्थीहरुको लागि हेल्प डेस्क स्थापना गरेका छन् । आवश्यकता हेरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ५ सय देखि १ हजार पाउण्डसम्मको आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था समेत गरेका छन् । त्यसैले समस्यामा पर्ने विद्यार्थीहरुलाई सुरुमा आफ्नो विश्वविद्यालयको हेल्प डेस्कमा सम्पर्क राख्न आव्हान गरौं’, सिम्खडाको सुझाव थियो ।

त्यस्तै, सोलिसिटर राजु थापाले नेपाल गएका भूपू गोर्खाहरुको पेन्सन क्रेडिट, भिजिट भिसामा आएका नेपालीहरुको भिसा लगायतका कानुनी समस्याहरुमा अहिलेको अपवादजनक परिस्थितिलाई ध्यानमा राखेर सरकारले विशेष व्यवस्था गर्ने जानकारी दिए ।

मर्जिंग नेपसक्सका अध्यक्ष पवन कँडेल र उपाध्यक्ष विष्णु गैरेले आफुहरुको संस्थाबाट बेलायतमा समस्यामा पर्न सक्ने नेपाली विद्यार्थीहरुको तथ्यांक संकलन भइरहेको जानकारी गराएका थिए