७ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा लकडाउन उल्लंघन बिरुद्ध कडा कानून, बाहिर निस्के १२० पाउण्ड सम्म जरिवाना

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७६, बिहीबार २१:४१

लन्डन । लकडाउनको उल्लंघन गर्ने व्यक्ति माथि बेलायतमा कडा कानूनको लागु भएको छ । वेलायती संसदद्धारा पारित नयाँ कानून अनुसार ६० पाउण्ड सम्म जरीवाना गर्न सक्ने अधिकार विहीवारबाट प्रहरीलाई प्रदान गरिएको हो । १४ दिनभित्र उक्त जरिवाना तिरेको खण्डमा ५० प्रतिशत छुट गरि ३० पाउण्ड मात्र तिरे हुनेछ भने पुनः यस्तो क्रियाकलापमा संलग्न भएको देखिएमा दुई गुणा अर्थात १ सय २० पाउण्ड जरिवाना तिर्नुपर्ने प्रावधान कानूनमा रहेको छ । जरिवाना तिर्न अटेर गरेमा अदालती कारवाही गरिने बताइएको छ ।
लकडाउनको उलंघन गर्नेलाई प्रहरीले घर जान निर्देशन दिने, उक्त क्षेत्रबाट हट्न बाध्य गर्ने र तितरवितर हुनको लागि अनुरोध गर्नेछन । आफ्ना केटाकेटीलाई सुरक्षित राखन अविभावकलाई निर्देशन दिइएको छ ।

झन्डै दुई सय वटा देशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) नियन्त्रण गर्ने क्रममा विभिन्न मुलुकमा लकडाउन शुरु गरिएको छ । कोरोना भाइरस बिरुद्ध लड्ने नयाँ नीति लिदैं प्रधानमन्त्री बोरिस जोन्सनले गत सोमबारबाट साँझ बेलायतमा तीन हप्ताको लागि लकडाउनको घोषणा गर्दै अत्यावश्यक काम बाहेक घरमै बस्न अनुरोध गरेका हुन् ।

सोमबार साँझ प्रस्तुत प्रधानमन्त्रीको सम्बोधन भाषणले सम्पूर्ण बेलायातवासीहरुलाई अनिवार्य रुपमा घरमै बस्न अनुरोध गरेका थिए । अनावश्यक सामाग्रीहरु विक्रिवितरण गरिने पसलहरु,पुस्तकालय,इलेक्ट्रोनिक्स दोकान, खेल मैदान, आउटडोर जीम, तथा पूजा गर्ने स्थानहरु पूर्ण रुपमा बन्द गर्न आदेश दिइएको छ । गत हप्ता शुक्रबारदेखि नै सरकारले स्कुलहरु, रेस्टुरेन्ट, पब, बार आदि बन्द गर्न आदेश दिइसकेको थियो ।

खाद्यसामग्री या औषधि खरिद गर्न, घरबाट सम्भव नहुने अत्यावश्यक काममा जान, शारीरिक व्यायाम साइक्लिंग, रनिंगको लागि दिनको एकपल्ट पार्कमा एक्लै वा एकाघरको परिवारका सदस्यका साथ् जान र मेडिकल प्रयोजन वा अशक्तहरुलाई मद्दत गर्नका लागि भने घर बाहिर निस्कन पाइनेछ ।