१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७६, शुक्रबार १०:२९

वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो ।

उक्त तथ्याँकले भाइरसको महामारीले अमेरिकी अर्थव्यवस्थामा पारेको क्षतिलाई आश्चर्यजनक रुपमा प्रतिबिम्ब गरेको छ । बेरोजगारी भत्ताका लागि आवेदन दिनेहरुको संख्याले प्रायः रोजगार गुमेको अवस्थालाई नै प्रतिबिम्बित गर्दछ ।

बेरोजगारी बढ्दै गएमा अमेरिकी अर्थव्यवस्था मन्दीतर्फ जाने खतरा रहेको विश्लेषकहरुको भनाई छ । अहिले रेस्टुरेन्ट, होटल, चलचित्र थिएटर, जिम र एयरलाइन्सको आम्दानी नाटकीय रुपमा संकुचित भएको छ । गाडीको बिक्री घट्ने क्रममा छ, र कार निर्माताहरूले कारखाना बन्द गरेका छन् । प्रायः त्यस्ता रोजगारदातामाथि ऋण भुक्तान र अन्य खर्च व्यहोर्नु पर्ने चुनौती छ । त्यसैले उनीहरू पैसा बचत गर्न रोजगारी कटौती गरिरहेका छन् ।

रोजगारी गुम्नेक्रम यथावत् रहेको भन्दै केही अर्थशास्त्रीहरु आगामी मे महिनासम्ममा अमेरिकी बेरोजगारी दर १३ प्रतिशतसम्म पुग्न सक्ने बताउँछन् । तुलना गरेर हेर्दा सन् २००९ मा समाप्त भएको ठूलो आर्थिक मन्दीमा पनि बेरोजगारी दर उच्चतम १० प्रतिशत मात्र थियो ।

“दुई हप्ताअघि असम्भव जस्तो देखिए पनि अहिले त्यो वास्तविकतामा परिणत भएको छ,” अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री न्यान्सी भान्डेन हौटेनले बताउनुभयो । “अमेरिकी अर्थतन्त्रले बेरोजगारीको तीव्र बृद्धिसँगै सबैभन्दा ठूलो आर्थिक सङ्कुचन अनुभव गर्नेछ ।”

आर्थिक मन्दी द्रुत गतिमा भएको छ । गत फेब्रुअरीमा मात्र बेरोजगारी दर ५० वर्षकै न्यून अर्थात् ३.५ प्रतिशतमा झरेको थियो । अर्थव्यवस्था पनि स्थिरता अघि बढेको थियो । केही अर्थशास्त्रीहरू विचारमा यस वर्षको अप्रिल–जुनको अवधिमा अमेरिकी अर्थतन्त्र अहिलेसम्मको सबैभन्दा तीव्र वार्षिक गतिमा संकुचित हुनेछ । र यो संकुचन ३० प्रतिशतसम्म पुग्न सक्नेछ ।

श्रम विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गत साता ३२ लाख ८३ हजारले बेरोजगारी भत्ताका लागि आवेदन गरेको उल्लेख छ । अघिल्लो साता यो संख्या २ लाख ८२ हजार मात्र थियो । राज्यका वेबसाइट र फोन प्रणालीले राम्रोसँग काम नगरेकाले पनि अझै ठूलो संख्याका नयाँ बेरोजगारहरुले आवेदन गर्न सकेका छैनन् ।

कम्पनीबाट जागिर गुमाएका तलबी कामदार, स्वतन्त्र कामकाजी पेशाकर्मी र स्वरोजगार व्यक्तिले वर्तमान अवस्थामा बेरोजगारी भत्ताका लागि आवेदन गर्न योग्य हुने छैनन् ।

बेरोजगार भत्ताका लागि ठूलो संख्यामा आवेदन दिएको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विषम परिस्थितिमा यस्तो हुनु स्वाभाविक रहेको बताउनुभएको छ । “हाम्रो क्षमता छ, हामी चाँडै शसक्त भएर अघि आउने छौं ।”