११ बैशाख २०८१, मंगलवार
Follow Us

संगीता स्वेच्छाको ‘गुलाफसंगको प्रेम’: एउटा पाठकको आँखाबाट

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७६, शुक्रबार १२:४४

खुशी लिम्बू ।

धेरै लामो समयपछि एउटा आख्यान पढ्ने समय मिलाएँ । नेपाली साहित्यको निलो आकाशमा कथासंग्रह ‘गुलाफसंगको प्रेम’ ले कावा हालेको झण्डै एक बर्ष भइसकेछ । जीवनका थुप्रै प्राथमिकताहरुबीच समय जुराएर यसभित्रका कथाहरु केही समयपहिल्यै पढिसकेको हुँ । तर समयाभावको माथापच्चिसीमा पिसिंदै भएपनि आज आएर एउटा समिक्षा लेख्ने जमर्को गरें । डायस्पोरा नेपाली साहित्यमा संगीता स्वेच्छाको ‘गुलाफसंगको प्रेम’ नयाँ रंग लिएर आएको एउटा सौगात हो । नेपाली साहित्य भण्डारमा कथा विधा आजकल तुलनात्मक रुपमा कम देखिरहेको कुरा साहित्यानुरागीहरुमाझ भइरहँदा लण्डन निवासी साहित्यकार डा. संगीता श्रेष्ठको ‘गुलाफसंगको प्रेम’ ले त्यो खाली ठाउँ भर्ने सार्थक प्रयास गरेको छ ।

१६४-पृष्ठ लामो कथासंग्रहमा डा. स्वेच्छाका २० वटा कथाहरु खाँदिएर बसेका छन् । प्रवासी नेपालीहरुको जीवन चरित्र, उनीहरूको मानसिकता, नोस्टाल्जिया, विदेशिनुको पीडा, पराधिनता, महत्वाकाँक्षा, विसंगति, नारीवादी चिन्तन, हिनतावोध, प्रेम, जलन, पश्चाताप, त्याग, खण्डित-अखण्डित सपनाहरु र उत्कण्ठाहरुको संगालो हो ‘गुलाफसंगको प्रेम’ । आफू वरपरका मानिसहरुको स्वभावलाई आफ्ना पात्रहरुमा ढालेर उनीहरुका क्रियाकलापहरुमा आफ्नो कल्पनाको जलप लगाउन सिपालू संगीता स्वेच्छाको कथा संग्रह यो दोस्रो हो ।

संग्रहपङ्तिमा पहिलो कथा ‘गुलाफसंगको प्रेम’ मा कथाकारले आफ्नो ‘म’ पात्र विराज मार्फत गुलाफ (अर्थात काँढासहितको फूल) लाई कोमलता र कठोरताको, मिलन र बिछोडको अनि प्रेम र धोकाको प्रतिक बनाएर आफ्नो भावनाको कलमलाई कल्पनाको पखेटा हालिदिएकी छिन् । त्यस्तै, पारपाचुकेपछिका एकल आमा–बाबुको सम्बन्ध र त्यसले सन्तानको जीवनमा पार्ने प्रभावको सार हो कथा ‘अपरिचित टेलिफोन नम्बर’ । ‘अव्यक्त इच्छा’ मा अपाङ्ता भएका स्त्रीहरुको दाम्पत्य जीवनको चाहाना र मातृवात्सल्यताको उत्कट अभिलाषाको नारी मनोदशा उल्लेख छ । आफ्नो श्रीमानको माया र उसको करिअरको निम्ति श्रीमतीले (परिवार र व्यक्तित्व विकासका) गरेको सपनाहरुको स्वार्थत्यागको मर्मस्पर्शी कथा हो ‘इमिली – मेरी छिमेकी’ । ‘हरिमायाकी बुहारी’ “आफ्नो ऐना हेरेर मात्र अरुलाई भन्नु” भन्ने एउटा अर्ती हो । त्यस्तैगरी विदेशमा रहँदा कसैलाई आफू नेपाली भएकोमा लाग्ने गर्व र कसैलाई आफू नेपाली भनिनुमा हिनतावोध गर्नुपर्ने अवस्थाको नापतौल हो कथा ‘नागरिकता’ । कथा ‘बढ्दो सभ्यता’ ले भन्छ, सभ्यताको अर्थ स्वतन्त्रले जे पनि गर्न पाउनु पर्छ भन्ने होइन, र कथाले आभाष दिन्छ, मानव सभ्यता अब विकासोन्मूख होइन विनाशोन्मूख छ ।

पुस्तकको मध्यतिर आएर “चम्किने सबै वस्तु धातु हुँदैनन्” भन्ने सन्देश पाइन्छ ‘आप्रवासी मुटु’ मा । कथाले आप्रवासीहरुद्धारा लोककल्याणकारी राज्यमा हुने सार्वजनिक खर्चको गैर–कानूनी दोहनको चित्र प्रस्तुत गर्दछ । अनि “खुट्टा भएपछि जुत्ता जति पनि पाइन्छ” भन्ने पुरुष मनोवृत्तिप्रति अट्टहास गर्दै कथा “कालचक्र” ले एक पात्र आफ्नो जीवनको उत्तरार्दमा आएर सबैबाट एक्लिएको, पश्चातापको रापले जलिरहेको तर इज्जतको डरले भागिरहेको एक पात्रको दारुण अवस्थाको चित्र कोर्दछ । अर्को कथा ‘राममाया’ मा पुरुषप्रधान समाजमा नारी विरुद्को शोषण, हिंसा र अत्याचारको एउटा पाटो देखाइएको छ ।

असीम इच्छाहरु पालेर विदेशीएका जवानहरुले आफ्नो ‘करिअर-लाइफ’ (पढाइ अनुसारको काम वा चित्तबुझ्दो जागिर) र आत्मसम्मानबीच सम्झौता गर्न नसक्दा उत्पन्न हुने मनोरोग र त्यसले पारिवारिक जीवनमा पुर्याउने क्षतिको कथा हो ‘असम्झौताभित्रको सम्झौता’ । कथा ‘असाधारण मृत्यु’ मा भने क्यान्सर रोगलाई अझै पनि कलंकको रुपमा लिने अवशेष नेपाली मानसिकताबीच एक क्यान्सर-रोगी महिलाको भोगाईलाई एक पत्रको माध्यमद्वारा व्यक्त गरिएको छ । कथा ‘एकाङ्कीपनले जन्माएको मानसिकता’ भित्र के छ शीर्षक आफैं बोल्दछ भने ‘लरेनका ड्याडीहरु’ मा पश्चिमा समाजमा सामाजिक तथा कानूनी दायित्वबाट बाँधिएका बुबाहरु पारपाचुकेपछि पनि सन्तानहरुप्रतिको आफ्नो कर्तब्यवोधलाई देखाइएको छ । अनि ‘आदर्शको सीमारेखा’ मा सार्वजनिक यातायातहरुमा एक्लै–दोक्लै यात्रा गर्ने महिलाहरुको इज्जत र सुरक्षाप्रतिको चिन्ता
प्रकट छ ।

“प्रत्येक लेखकले आफ्नो कृतिमा आफैंलाई केही अंशमा चित्रित गरेको हुन्छ” – गेटेको यो भनाईलाई ‘कथाकारको कथा’ र ‘विक्षिप्त मनको डायरी’ जस्ता कथाहरुले सम्झाइदिएको प्रतित हुन्छ । अतः पुस्तकको उत्तरार्द्दमा कथा ‘कथाकारको कथा’ ले एकातिर प्रकाशनगृहहरुले लेखकहरुप्रति गर्ने शोषणको कुरुप तस्वीर देखाएको छ भने र अर्कोतिर लेखकहरुबीचको अन्तर–मनोवैज्ञानिक द्धन्दको एउटा रुपको पनि पटाक्षेप गरेको छ । कथा ‘विखण्डित सपना’ मा सामाजिक सञ्जालहरुले विकास गरेको काल्पनिक सौन्दर्य (आइडियल ब्युटी) र आधुनिक जीवनमा पर्ने त्यसका नकरात्मक परिणामहरु देखाइएको छ । र, कथा ‘विचारहरुको द्धन्द’ मा विवाह नगरी बसेका एकल युवतीहरुको मनको तर्कना र उनीहरुप्रतिको नेपाली सामाजिक धारणा प्रस्तुत छ ।

कथानुरागीहरुका लागि ‘गुलाफसंगको प्रेम’ कथासंग्रह एउटा नौलो उपहार त हुँदै नै हो, अझ फास्टफूडको जमानामा फेसबुकको स्ट्याटस् समेत लामो लाग्ने ‘अपाठकहरू’ का निम्ति पनि गुलाफसंगको प्रेमका कथाहरु एउटा ‘वन-स्टप-शपिङ’ जस्तै बनेको छ । धेरैजसो कथाहरु वीस मिनेटमै पढेर सिध्याउन सकिन्छ । अपेक्षाकृत संक्षिप्तता र अपट्यारिलोपनको अभावमा कथाहरु लघुकथा जस्ता लाग्दछन् । तर पनि आह्लादपूर्ण, कलायुक्त, मर्मस्पर्शी र कौतुहलपूर्ण प्रस्तुतिका कारण कथामा पाइने सामान्य विशेषताहरु त छँदै नै छन् ।

The Launching Ceremony of GULAPHSANGAKO PREM: by Dr. Sangita Shrestha
youtu.be

“साहित्य यथार्थवादी हुनुपर्छ । साहित्यले यथार्थ जीवनको चौतर्फी र गहन चित्रण गर्नु पर्छ“ भन्ने मार्क्सको भनाइलाई स्मरण गर्नेे हो भने गुलाबसंगको प्रेम डायस्पोराको यथार्थ जीवनको एउटा समिक्षा हो । कथाहरु मार्क्सवादी चिन्तनले ओतप्रोत छन् भन्न खोजिएको होइन तर बिषयवस्तुहरुले डायस्पोराको यथार्थ जीवनको चौतर्फी चित्रण गरेका छन् l कथाकारले वरिपरिका जीवन र जगतलाई आफ्ना पात्र र घटनाहरु मार्फत कलात्मक ढंगले नारीभावनाका रंगहरु भरेकी छन् । तरपनि, प्रायः नारी लेखकहरु नारीवादी नै हुनपर्ने आजको बढ्दो फेशनबीच ‘गुलाफसंगको प्रेम’ का कथाहरुमा नारीवादी चिन्तन कम र नारी मनोदशाहरु बढी पाइन्छन् ।

डा. संगीता स्वेच्छा साहित्यकार मात्रै नभएर समाजशास्त्रमा दखलप्राप्त एक प्राज्ञिक व्यक्तित्व पनि हुन् । त्यसैले, कम्तिमा वौद्दिक विलासिताका लागि भएपनि सही, उनलाई नजिकबाट चिन्नेहरुका ‘लोभी आँखाहरुले’ ‘गुलाफसंगको प्रेम’ मा सामाजिक–दार्शनिक धागोका रंगीन बुट्टाहरु पनि सायद देख्न चाहँदा हुन् । तर जीवनका भोगाईहरुलाई यथार्थताको कसीले बाँध्दैगर्दा कति ति पक्षहरु भने अलि ओझेलमा परेजस्तो भन्ने लाग्छ।

अन्तमा, “प्रतिभा मात्रै भएर पनि लेखक बन्न सकिन्न, कृतिको पछाडि एक व्यक्तित्व पनि चाहिन्छ” भन्ने राल्फ इमर्सनको यो भनाईलाई सम्झँदा ‘महेन्द्र विद्याभूषण–२०००’ देखि ‘नेपाल विद्याभुषण २०१४’ समेतले आभूषित स्रष्टाको व्यक्तित्व, प्रतिभा र सम्भाव्यताका प्रचुरतामा त कुनै शंका छैन नै । तर पनि “समय र परिस्थितिसंग जुध्न नसक्दा साहित्यिक संसारमा टिक्न गाह्रो हुन्छ” कुरा कथाकारले आफ्नो एक पात्र मार्फत स्वीकारेकी छिन् । अतः गुणात्मकभन्दा संख्यात्मक रुपमा कृतिहरुको बाढी आइरहेको साहित्यको यो कालखण्डमा, र साहित्यकारहरुबीचको नजानिंदो आन्तरिक ‘राजनीति’ हरुबीच डा. संगीता श्रेष्ठका यस्तै यस्तै जीवन्त कथाहरु थुप्रै पाठकहरुमाझ पुग्न सफल हुन् ।

उनका प्रकाशोन्मूख कृतिहरु पनि चाँडै हाम्रो हात पर्ने अभिलाषासहित अहिलेलाई ‘गुलाफसंगको प्रेम’ को असीम लोकप्रियताको हार्दिक शुभकामना ।
मार्च २०२०, लण्डन

(लेखिकाको सम्पर्क: [email protected]; Amazon Book Search: Gulafsangako Prem)